अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

मेरा आखाहरुले रोई सकेछन्

विनोद रोका २०७६ असार १४ गते ११:०० मा प्रकाशित

मैले पनि होइन मेरा आखाहरुले तिम्रा लागि रोईसकेछन। धेरै पहिलेदेखि बच्चुकैलाशले गाएको यो सदाबहार गीत सुन्दै आएको छु। यसमा क्षेत्रप्रताप अधिकारी शब्द र नातिकाजीको सङ्गीत रहेको छ । यो गीतले एउटा पुरुष र महिलाका बिचमा हुने भावनात्मक सम्बन्धको गहिराइलाई छोएको महसुस हुन्थ्यो । अनि म पात्रले नरोईकन आँखाले मात्रै कसरी रोए होलान् ? भन्ने प्रश्न मनमा उठ्थे शब्दको अर्थ गर्न खोज्दा । 

तर ती गीतका हरफहरूले मलाई आज अर्कै अर्थ दिई रहेका थिए । जब राकेशजीले जुन ११, २०१९ का दिन बिहानै भने, दादा अब अखिलेशजी नहिरहे।

मैले आफ्नै आखाहरु आज अनायास रोएको देखे । म भने यी आखाहरुबाट बहँदै गरेका आशुहरू हेरिरहेको थिए । मेरो घाटीबाट रुवाइको चीत्कार निस्कन खोजी रहेको थियो । मैले केही बेर सम्म हेरिरहे साक्षीभावले आफ्नै वर्तमान अवस्थालाई । करिब १९ वर्षदेखि मेरा पाँच ईन्दीयहरुले उनीसँग बिताएका पलहरूलाई शरीरका विभिन्न कोसहरूमा रेकर्ड गरेर राखेका रसहरू आँखाबाट बहँदै थिए । यी वेदनाका रसहरूको अनुभूति दुखदायी भएर पनि पिडा भने मिठो दिई रहेका थिए । प्रसव वेदनाको बेलामा युवतीले सहवासको क्षणको पनि अनुभव गरे झै । ताकि फेरी पनि यस्तो प्रक्रिया दोहोरियोस। उत्ताबाट राकेशजी रुँदै भन्दै थिए, दादा अपनेको सम्हालो । म राकेशलाई भन्न खोजी रहेको थिए । मै तो ठिक हुँ आप अपनेको सम्हालो तर मेरो आवाज निस्की रहेको थिएन । आखाहरु भने अझै रोई रहेकै थिए ।

अखिलेश कृष्ण पेसाले वकिल हुन । ऊनी नयादिल्लीबाट न्युर्योक आएका थिए । डिसेम्बर १०, १९६३ मा जन्मिएका एक्ला छोरा थिए । ऊनी त्यहाँ पनि वकिल, चार्टर एकाउन्टेन्ट, अनि जिटिभिमा समाचार वाचकको रूपमा काम पनि गर्दथे । ऊनका पिताजी प्रो.डा.सुरेशकृष्ण दिल्ली युनिर्भसिटीका पूर्वीय दर्शन र हिन्दी साहित्यका प्राध्यापक, कवि, एवं विदेशी रेडियोका स्थानीय सम्वाददाता भएर काम गरी सकेका विद्धान हुन । र ऊनकी दिवङ्गत माताजी पनि त्यही प्राध्यापन गर्दथिन । पिताजीका साथमा रही ऊनले विदेशी रेडियोमा समाचार सम्प्रेसणको काम पनि गरेका थिए ।

ऊनी न्युर्योकको टुरो ल कलेजको एलएलएमको अन्तिम वर्षमा अध्ययनरत रहँदा म त्यहाँ विद्यार्थी हुन पुगेको थिए सन १९९९ मा । छोटो कद र हँसिलो मुहार भएका अखिलेशलाई अव्वासीले पण्डितजी आप कैसै हो ? भनेर सम्बोधन गर्दथ्यो । जवाफमा ऊनी मुस्काऊदै भन्थे मै ठिक हु सर । अखिलेश जैन परिवारबाट आएकोले लसुन र प्याज समेत नखाने साहकारी थिए । नियमित रूपबाट पूजापाठ गर्दथे । ऊनी आफ्नो वकालतको साथै न्युर्योकको एउटा कलेजमा पार्टटाईम पढाऊदथे पनि । यिनलाई साहित्य, सङ्गीत र कला लगायतका विविध विद्यामा उत्तिकै दखल थियो । परिवार र साथीभाइलाई समस्या पर्‍यो भने अखिलेशलाई सम्झन्थे । ऊनी कृष्ण झैँ थिए । आदर्श पति, पिता, भाइ, अनि गोपीनीहरुका लागि सखा । यशोदाहरूका लागि कान्हा । बाहिर खान जानु पर्‍यो भने साथीहरूले खादै गर्दा ऊनी क्रेडिट कार्ट बोकेर काउण्टरमा पुग्दथे । ऊनी रक्सी पिऊदैनथे । तर पिउनेहरूको पार्टीमा सामेल भई अरूलाई पिलाऊथे । अनि रमाइलो बढी उनी गर्थे । मात उनलाई लाग्थ्यो ।

आफ्नी एक्ली छोरी मिनाक्षीले नेपालका गरिब बाल बालिकाका, सोलुको विद्यालयमा छाना लगाउने प्रोजेक्ट, टेक्सस स्थित एचपिएनपी र कैन्सर रिसर्चको सहयोगार्थ प्रत्येक वर्ष फण्ड रेजिंगका लागि आयोजना गर्ने कार्यक्रममा ऊनी श्रीमती डा. कल्पनाका साथ सकृयतापुर्वक सहभागी हुन्थे । कार्यक्रममा हार्वभर, पेन, स्टानफर्ड, ऐल, लगायतका कलेजहरूमा पढ्ने भारतीयमुलका विद्यार्थीहरू सहभागी हुन्थे । मिनाक्षीले नेपालका लागि सङ्कलन गरेको सहयोग कवि दिनेश अधिकारी, तत्कालीन सचिव समाज कल्याण मन्त्रालय र म मार्फत नेपाल पठाइएकी छन् । मिनाक्षीले हार्डवरबाट स्नातक पुरा गरिन र हाल कोलम्बियामा पढदैछिन । अहिले पनि नेपाललाई सहयोग गर्ने भाव उनीमा छ ।

अखिलेशको बहुआयामिक व्यक्तित्वका बारेमा लेखेर सकिँदैन । त्यसैले केही अविस्मरणीय कुराहरू टिपोट गर्नु उचित हुन्छ । ऊनी मेरो अफिसमा अफ काउन्सिलको रूपमा आई रहन्थे । मन खोलेर हाँस्नु पर्‍यो भने । भाषा र अन्य जटिल समस्या अयो भने म ऊन्को सहयोग लिने गर्दथे । एनआरएन अमेरिकाको २०१४ को निर्वाचनको लागि मैले खटेको देखेर ऊनले भने, आपको पैसे मिल्ते है क्या ? मैले भने । नहि सर । फेरी उनले सोधे क्यु यीत्ने लोग उम्मेदवार बन रहे है ? मैले भने, सर पद पाने के लिए । फेरी सोधे, पद के सिवाय और क्या मिलता है ? मैले भने कुछ नहि ? उनले भने हमारे भी है एनआरआई मगर यीस तरह से चुनाव नहि होते है । अनि मैले उनलाई भन्थे ‘सर प्लिज हेल्प मि टृ ड्राफ्ट दिस नोटीस । अनि ऊनी मलाई सघाउन थाल्दथे ।

अखिलेशले मलाई अध्यागमन सम्बन्धी अप्ठ्यारो परेका मान्छेका काम पठाऊथे । र पैसा आफ्नै अफिसको चेकबाट दिन्थे । मलाई लाग्थ्यो ऊनले क्लाईन्टबाट पैसा लिएका होलान् । तर पछि थाहा पाऊथे उनले कतिपय क्लाईन्टबाट पैसा लिएका हुँदैनथे । किनकि तिनीहरू असमर्थ पक्ष थिए रे । मैले पनि कतिपय कामहरू उनलाई पठाऊथे । तर ऊनी हतपत पैसा लिन मान्दैनथे । र भन्थे रख लो दादा बादमे देखेेंगे । म करिब दुई महिना अगाडी उनलाई घरमा भेट्न गएको थिए, मेनुका, प्रभात र परिता पनि सँगै थिए । हिडने बेलामा मलाई ऊनले एउटा चेक दिए । त्यो चेक मैले ऊनलाई निकै अगाडी दिएको थिए एउटा काम गरे बापतमा । ऊनले भने दादा ऐ चेक रखलो । अखिलेश र मेरो बिचमा भएको कारोबारको बारेमा थाहा पाएका एक जना मित्रले ऊनको मृत्युको खबर सुनेर सोधे । व्यवहार त मिलेको थियो होला नि ?

अखिलेश, ऊन्का पिताजी र छोरी मिनाक्षीको कविता वाचन हामीले श्रृजनाका यात्राहरूमा गराएका थियौ न्युर्योकको ज्याक्सन हाईटमा । पिताजीबाट साहित्य र दर्शनका बारेमा शहदेवभाई र मैले धेरै प्रश्नहरू पनि राखेका थियौ । प्रदीप थापाजी र मैले पिताजीसँग साहित्य र दर्शनका बारेमा मेरै अफिसमा सम्वाद गरेका थियौ । यसको जोहो मिलाउने अखिलेशनै थिए । अखिलेशले लंगआइलेण्डमा फेरी अर्को नयाँ घर किने । मलाई त्यो घरमा आउन उनले कर गरी रहेका थिए । ऊनी भन्थे दादा, मेनुकाजी ओर आप आ जाओ विकेण्डम । स्वीमिंग करो, ध्यान करो, बागमे सैर करो । बहुत अच्छी जगह है । ऊनलाई थाहा थियो म ड्राइभ गर्दिन भनेर । त्यसैले ऊनी भन्थे, गाडीवाले और एक कपलको भी साथमे लेके आओ । बहुत कमरे है । तर म जान सकी रहेको थिइन ।

अखिलेशजीले एक दिन भने पिताजी आए है क्यालिफोर्निया से । कुछ समय यही रहेंगे । ८५ वर्ष नाघी सकेका अस्वस्थ पिताजी न्युर्योकको मौसमको कारणले गर्दा छोरी रिजुसंंग क्यालिफोर्निया नै बस्नु हुन्छ । मलाई पिताजीसँग साहित्य र दर्शनका बारेमा केही सत्सङ्ग गर्न पाए हुन्थ्यो भन्ने जिज्ञासा आयो र मैले आफ्नो भाव अखिलेशजीलाई व्यक्त गरे । उनले मलाई कहिले र कति जना आउने जानकारी गराऊ भने । मैले अनेसास, न्युर्योकका अध्यक्ष राजेन्द्र श्रेष्ठसँग केही नामहरू मागे । मेनुका, म, राजेन्द्र, डा.तारा निरौला, डा. गोविन्द कोइराला, राम र गीता खत्री, शकुन, परिता, प्रभात, हजुरी र अन्य केही साथीहरू अखिलेशजीको घरमा शनिवारका दिन गयौ ।

हामीलाई पिताजी, अखिलेश, भाउजू, मिनाक्षी र अन्य परिवारका सदस्यले स्वागत गर्नु भो । उनको यो नयाँ घर फिल्म स्टुडियो खालको छ । जङ्गल भित्र एकान्तमा । घर । घर वरिपरिको रमणीय वातावरण हेरेर हामी मोहित भयौ । सबै जना फोटो खिच्न र खिचाउन थाले । त्यसपछि हामी कार्यक्रम हुने र खाने कुराहरू सजाएको ठाऊमा गयौ । मिठाई र खानाका परिकारहरू देखेर हामी छक्क पर्‍यौ । एकपछि अर्को परिकारहरू अखिलेश, भाउजू, मिनाक्षीहरु ल्याई रहेका थिए । मानौँ हामी कुनै शाही भोजमा छौ । मलाई सहभागीहरू सोध्दै थिए, हैन दाइ यो तपाईँको साथी त ठुलो दिलवाला रहेछ । मैले आफूलाई कृष्णको घरमा पुगेको सुदामा जस्तो अनुभव गरे ।

पिताजीसँग गरिएका सत्सङ्ग फोटो र भिडियो परिता र प्रभातले लिए । पिताजीले साहित्य, दर्शन र धर्मको बारेमा दिएका जानकारी पछि हामीहरूले ऊहासंग धेरै प्रश्नहरू राख्यौ । तीनका उत्तरहरू पनि पायौ । पिताजीसँग भएका सत्संघको भिडियोलाई सम्पादन गरेर निकाल्नका लागि अखिलेशजी र म काम गर्दै थियौ। जुन पुरा भएन। आशा छ निकट भविष्यमा म निकाल्ने छु।

अखिलेशजी नियमित रूपले डाक्टरकहाँ गै रहने । पथ परहेजमा रहने मान्छे हुन । करिब १६ महिना अगाडी अफिसमा काम गरी रहेका बेला ऊनलाई घरमा बोलाइएछ । ऊनी पुग्दा डाक्टर र परिवारका सदस्यहरूले रुँदै भनेछन् । उनलाई पेनक्रियाजको क्यान्सर भएछ । अनि उनको उपचार सुरु भयो । मलाई उनले सुरुमै भनेका थिए यी कुराहरू । तर मलाई ऊनले भने दादा मेनुकाजीको ए बात मत बताना । अखिलेशलाई थाहा थियो मेनुकाले अनावश्यक पिर लिन्छीन भन्ने ।

म अप्रिलको ३, २०१९ का दिन हिँडे नेपाल बालगुरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन । जानु भन्दा केही दिन अगाडी उनीसँग कुरा भयो । एउटा प्रसङ्गमा उनले भने दादा बहुत लोगोको ए भी पता नही है कि उनके मृत्यु कब होगी । मगर डाक्टर ने कह दिया है मै कब तक जिन्दा रहुंगा । मै तो निश्चित हु उसके आगे नहि मरुंगा । वहिनी रिजुलाई ऊन्ले भन्थे रे, भगवानने मेरे लिए अधुरे काम पुरा करने के लिए समय दिया है । अखिलेशले भनेका यी भनाइले मलाई आजभन्दा करिब ३५ वर्ष अगाडी मृत्यु भएका मेरा सहकर्मी मित्रलाई सम्झिए । ऊनी करिब २५ वर्षको उमेरमा बितेका थिए । ऊनको मृत्युले ममा एउटा भय पस्यो । मृत्युदेखि डर लाग्न थाल्यो । अनि म चिन्तामा डुब्न थाले । डाक्टर र वैद्यको दवाईले काम गरेन । सबैले मलाई डिप्रेसनमा छ भने । तर म पत्याऊ दिन थिए । अनि म आजित भएर विपश्ना ध्यानमा गए १९९४ मा ।

त्यसपछिको निरन्तरको सत्सङले ममा एउटा पराभौतीक ज्ञान पस्यो । म मन, बुद्धि, र शरीर होइन । म चैतन्यस्वरुप आत्मा हु । म न त जन्मन्छु नत मर्दछु । मर्ने त केवल मेरो शरीर हो । म जागृत, स्वप्न र सुसुप्ती अवस्था भन्दा माथि रहेको । यी तीनै अवस्थालाई जान्ने साक्षी हु । अखिलेशले मृत्युलाई यसरी सहज रूपबाट स्वीकारेको सुनेर म फेरी मृत्युबाट निर्भय भए। ममा वैदीक साहित्य प्रतिको श्रद्धा र विश्वास अझ बढ्यो । अनि मैले भरखरै आफ्नै रचना र सङ्गीतमा रेकर्ड गरेको तलको गीत सम्झिए ।

जन्मने र मर्ने, म हु कि? मेरो शरीर?
गुरुजी हटाई पाऊ, यो मनको पिर।

भन्नुभो् गुरुले सुन् ज्ञानका कुरा
पन्छाइ एक छिन बुद्धिका कुरा
तिमी चेतना हौ कुनै बस्नु होइनौ
तिमी सर्वत्र छौ, शरीर होइनौ।
शाश्वत छ चेतना शरीर नासिन्छ
अज्ञानी तिम्रो मन, शरीरमा टाँसिन्छ।
न मर्दर्छाै तिमी, न मर्छन् अरू
तिम्रो अज्ञान डढाऊ, बनाई चरु ।