अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

मन र ओम . . . .

विनोद रोका २०७६ मंसिर २९ गते १०:४४ मा प्रकाशित

यो मन पनि विचित्रको छ । मनले हमेसा सताई रहेकै हुन्छ । मनले यो माया र मोहको झुटो संसारमा स्थायी सुख केवल ओममा मात्र पाइन्छ। ओममा नै सुख, शान्ति र आनन्द समाहित छन् । अन्यत्र कहीँ पाइन्न भन्ने जानकारी आध्यात्मिक प्रवचन एवं शास्त्रहरूको अध्ययनबाट थाहा पाएको पनि छ। भनिन्छ ओम शब्द आफैमा चैतन्य ब्रह्म हो । अनि ब्रह्म भित्रै सारा ब्रह्माण्ड छ । हामी जीव पनि त्यही ब्रह्माण्डका एउटा अंश हौ। त्यो चैतन्य अंश नत जन्मन्छ नत मर्दछ । तर यो ध्रुबसत्यलाई मनले कहिले पनि बुझ्न सकेन ।

मनले चाहेको एउटा कुरा खोजेर भ्याएको हुन्न तुरुन्तै फेरी अर्को चाहिन्छ । यदि यो मनले ओंमरुपी अध्यात्मको कसीमा यो मायावी जगतलाई मनले जाँचेको भए स्वाद र मज्जाको खोजमा यसरी उडेर सताई रहने थिएन होला ।

यो मन कहिले पनि आफ्नो पागलपन छोडेर होसमा आउन मान्दैन । अध्ययन, प्रवचन र सत्सङ्गको कारणले गर्दा अध्यात्मको बारेमा तर्क गर्ने बुद्धि त बटुलेको छ । तर यो मनले होसमा आउने ज्ञान केवल ओममा छ । हरी नाममा छ । भन्ने बुझेर अभ्यास गर्ने चाहेन । मनले ओम वा रामको नाम लिने भाखा मात्रै सारी नै रह्यो । मनका सन्तति बुद्धि र चित्तमा बसेको अहङ्कारले कहिले पनि ब्रम्हज्ञानी गुरुको चरणमा जान मानेनन् । यो मन गुरुको चरणमा समर्पण गर्न गएको भए अवश्य पनि धर्मको ज्ञान पाएर ओम वा रामका शरणमा पुगी सच्चिदानन्दको सागरमा रम्ने थियो । पानीको थोपा महा सागरमा हराए झैँ ।

मनसहितको यो बुद्धिले ओमको शाब्दिक अर्थ धेरै सुन्यो । शास्त्रहरू धेरै पढ्यो । आजकाल सञ्चार माध्यमले ओम लगायतका अन्य विषयमा जानकारी दिने प्रशस्त सामाग्रीहरू राखिदिएका छन् । ती सामाग्रीहरू मानिसले सय सय वर्षका धेरै जुनी पाए पनि पढेर वा सुनेर नबुझिने अवस्था छ । अनि सबै पढेर वा सुनेर पनि कुनै एउटा निष्कर्ष निकाल्न सकिँदैन । किनकि प्रत्येकले दिने तर्कहरू कुनै धर्म वा सम्प्रदायसँग । अनि अरूले भनेकोका र आफूले सङ्कलन गरेका सूचनामा आधारित छन् ।

वैज्ञानिक तवरले प्रमाणित भएका तथ्यहरू पनि देखिएका र भेटिएका बस्तुहरूको परिश्रममा मात्र सीमित छन् । यो पृथ्वीमा देखिएका चिजहरूको मात्रा थोरै छ भनेर विज्ञान भन्छ । भनिन्छ युनिभर्समा करिब सत्तरी प्रतिशत भन्दा पनि बढी नदेखिने ब्याल्क म्याटर छ रे । अनि विज्ञानले देखिने भनिएका बाकी करिब २७ प्रतिशत मध्ये सायदै ५ प्रतिशत पनि थाहा पाएको होला परिश्रण गरेर । तर हाम्रो जीवनमा देखिने र नदेखिने दुवै तत्त्वको प्रभाव परि रहेको हुन्छ । भरखरै प्रकाशनमा आएको समाचार अनुसार इन्डोनेसियामा रहेका धेरै गुफाहरू मध्ये सुलेवेसी भन्ने गुफाको भित्तामा दुई वटा सुँगुर र चार वटा साना पानीमा पाइने भैँसी, अनि आठ वटा जति मानिसका आर्कतीहरु भएको चित्र अर्थात् मुराल भेटियो । जसलाई कम्तीमा पनि ४४ हजार वर्ष पुरानो अनुमान गरिन्छ । यो भन्दा अगाडी भेटिएको चित्रलाई यति पुरानो थिएन ।

त्यसै गरी १८००० हजार वर्ष पुरानो ब्वाँसो वा कुकुर प्रजातिको अस्थिपञ्जर भेटिएको छ र स्विडेनमा परिश्रण गरिदैछरे । भनिन्छ यो अहिलेसम्म भेटिए मध्येको पुरानो हो । यसरी भेटिनुमा हिउँ पग्लिनु हो । हिउँमा दबिएर रहेका अन्य कतिपय अस्थिपञ्जरहरू हिउँका चुचुरा पग्लँदै जाँदा अझै कति र के के भेटिने हुन थाहा छैन ।

यसरी पुरिएर रहेका पुराना भौतिक अवशेषहरू प्राकृतिक प्रकोपका कारणले भेटिँदै जाने क्रममा भोलि महाभारतकालीन कृष्णको दरबार, युद्धमा मारिएकाहरूको अवशेषहरू । अनि रामकालीन समयका अवशेष पनि भेटिन सक्ने सम्भावना रहन्छ । तर मनसहितको बुद्धिले यो कुरा मान्दैन । किनकि यो बुद्धिको सफटवेरमा यस्ता डाटानै विज्ञानले परिश्रण गरेर अझै हाली दिएको छैन । अनि गुगल सर्च वा युटवुवमा यस्तो जानकारी पनि राखेको पाईदैन । त्यसैले मन कहिले पनि यो नबदलिने ओमको शरणमा जान मान्दैन किनकि विज्ञानले प्रमाणित गरेको प्रमाण छैन । अनि त मन प्रत्येक क्षण बदली रहने भौतिक जगतमा नै कहिले नबदलिने सत्य खोजी रहन्छ। कबिरले भनेरै पानीमा माछा प्यासै हुन्छ ।

यो मनरूपी पानीको अहङ्कारी थोपाले आफ्नो मुलस्वरुप भनेको गंगोत्री ओम अर्थात् परमात्मा हो भन्ने थाहा पाउन तत्वज्ञानी गुरुको चरणमा आफूलाई समर्पित गर्ने मान्दैन । त्यसैले मैले एक दिन एउटा यस्तै भावको गीत लेखे । यो गीतलाई जानी नजानी हार्मोनियममा गुनगुनाए अनि आफैले गाए पनि । यो आफ्नै लागि आफैलाई लेखेको गीत भएको हुँदा सङ्गीतकार र गायक पनि खोजिन । किनकि गीतको उद्देश्य आफूलाई नै सचेत गराउनु हो । गायक गम्बु शेर्पा भाइलाई एक दिन मेरो ल अफिसमा आएका बेला सुनाए । ऊन्ले भने भजन हो दाइ आफैले गाए हुन्छ । छोराले छोडने भनेको यस्तै श्रृजनाको कृति त हो । मरेपछि सन्तानले गरिदिने होइन क्यारे । त्यस्तै अर्का सङ्गीतकार गायक गणेश पराजुलीजीलाई पनि सुनाए । उन्ले पनि ठिक्कै छ भने । अनि मैले यो गीत अप्रिल २०१९ मा नेपाल गएका बेला प्रज्ञा साउन्डमा रेकर्ड गराए ।

ए मन. किन सताउछस भन..
ए मन. किन सताउछस भन

माया मोहको झुटो संसारमा स्थायी सुख कहीँ पाइन्न
यही नै सत्य बुझेमा तैँले संसारको सुख केही चाहिन्न

एउटा खोजेर भ्याएको हुन्न, तुरुन्तै तलाई अर्को चाहिन्छ
लोभ र लालचको स्वार्थी जगतमा चाहेको सबै कहाँ पाइन्छ ।
छोडी पागलपन होसमा त आइज
ह्रि नाम लिन कुर्नु पर्दैन साइत
अहङ्कार त्यागी जा सतगुरुका चरणमा
पाएर ज्ञान धर्मको पुग रामका शरणमा ।

न्युर्योक