अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

नेपालबाट अङ्ग्रेजीमा अनुवाद गरेर ल्याएका लिखत अमेरिकामा बेरिते भए

विनोद रोका २०७९ जेठ १६ गते १७:३१ मा प्रकाशित

नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अङ्ग्रेजीमा अनुवाद गराएर अधिकार प्राप्त व्यक्ति वा निकायको छाप लगाएर ल्याएको कागज पनि अमेरिकाको अध्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको कारण खुलाई परिणाम आउने बेलामा पुन रितपूर्वकको अनुवाद गरिएको कागज पेस गर्नु भनी पत्र आएपछि कतिपय आप्रवासीहरूले मलाई सोध्ने गर्नुभएको छ अब के गर्ने ? रितपूर्वकको अनुवाद भनेको के हो ? आदि । त्यस्तै यसरी अनुवाद गरिएका अन्य कतिपय लिखतहरूमा आफ्नो दाबीलाई पुष्टि गर्ने ठाउँमा आफैलाई खण्डन गर्ने वा अप्ठ्यारोमा पार्ने शब्दहरू अध्यागमन अदालत समक्ष पाइएको दृष्टान्त पनि छन् ।

यसरी रित नपुराई अनुवाद गर्ने अनुवादकहरू अमेरिकामै पनि भेटिन्छन् । किनकि कतिपय अनुवादकर्ताहरूलाई यस विषयमा पर्याप्त जानकारी हुँदैन र अनुवाद गरिएको लिखत चाहिने व्यक्ति पनि सधैँ व्यवसायीक मान्छे समक्ष पृग्दैनन जब सम्म अपठयारो पर्दैन । अतः प्रस्तुत लेखमा नेपाली भाषाबाट अंग्रेजीभाषामा अनुवाद गरिदा के रित नपुगेकोले यस्तो समस्या आउने गर्दछ भन्ने विषयमा केही चर्चा गरिएको छ ।

पहिले नेपालबाट कानुन किताब व्यवस्था समितिले अङ्ग्रेजीमा अनुवाद गरेर अधिकृतको सही र समितिको छाप अनि परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाले पनि सहीछाप हानेर दिएको हुन्थ्यो भने अहिले नोटरी पब्लिकले अनुवाद गरेर सही गरी नोटरी पब्लिकको छाप हानिदिएको हुन्छ। यी दुवै नै नेपालको प्रचलित कानुन अनुसार नेपाली लिखतलाई अङ्ग्रेजीमा अनुवाद गर्न पाउने निकाय वा व्यक्तिहरू हुन । तर अनुवादकर्ताहरूलाई थाहा हुँदैन ती अनुवाद गरिएका अङ्ग्रेजी भाषाका लिखतहरूमा अमेरिकी अध्यागमन कानुनले तोकेको सर्तहरू पुरा नभएको कारणले मान्यता पाऊदैनन र व्यक्तिहरूले दुख पाऊछन।

अमेरिकी अध्यागमन कानुन अनुसार कुनै पनि विदेशी भाषाको लिखतलाई प्रमाणको लागि पेस गर्नु पर्दा त्यसको रितपूर्वकको अङ्ग्रेजीको अनुवाद पनि साथै पेस गर्नु पर्दछ । रितपूर्वकको अङ्ग्रेजी अनुवाद भनेको अनुवाद गर्ने व्यक्तिले म फलाना ठाउँ बस्ने वयस्क वा १८ वर्ष नाघेको फलानाले यो नेपाली भाषाको लिखत अङ्ग्रेजी भाषामा अनुवाद गरेको हु। म नेपाली र अङ्ग्रेजी दुवै भाषामा दक्ष छु र मैले अनुवाद गरेको लिखत साँचो र सत्य हो । झुटा ठहरे कानुन बमोजिम सहुँला बुझाउला ।

अमेरिकी अध्यागमन कानुनले यसरी अनुवाद गर्ने व्यक्ति कुनै निकायबाट परीक्षा उत्तीर्ण भएर अनुवाद गर्ने र छाप हान्ने अधिकार पाएकै हुनु पर्छ भन्ने व्यवस्था गरेको छैन। यसरी अनुवाद गर्ने व्यक्ति परिवारको सदस्य देखि लिएर अरू जो सुकै व्यक्ति पनि हुन सक्दछन् जो दुवै भाषामा पोख्त छन्। यसरी अनुवाद गर्ने व्यक्तिले आफूले अनुवाद गरेको हु भनी लेखेको लिखतलाई नोटरी पब्लिकसमक्ष उपस्थित भई प्रमाणित गर्नु पर्ने आवश्यकता पनि हुँदैन। यद्यपि आफ्नो परिवारका सदस्यहरूले गरेको अनुवादलाई भने कहिलेकाहीँ आन्यता दिन कन्सुलर अफिसर वा अध्यागमन अधिकारीहरूले हिचकिचाउन सक्ने सम्भावना रहन्छ । यसरी दुवै भाषामा दक्षता भएको व्यक्तिले अनुवाद गरेको लिखतको अगाडी तलको वा यस्तै कुनै अर्को ब्यहोरा जनिएको सर्टिफिकेट पेस गरेमा त्यस्तो लिखतलाई अमेरिकी अध्यागमन विभागले मान्यता प्रदान गर्दछ । किनकि अनुवाद गरिएको लिखतमा नेपालीमा रहेको हुबहु ब्यहोरा अनुवादकर्ताले उल्लेख गरेका छन् भनी विश्वास गर्ने आधार भेटदछन । अनुवादकर्ताले एउटै व्यक्तिसँग सम्बन्धित लिखतका धेरै पन्नाहरू अनुवाद गरेको भएमा तपसिलमा अनुवाद गरिएका लिखतहरूको नाम उल्लेख गरे पनि हुन्छ।

नेपालबाट तत्कालीन अवस्थामा कानुन किताब व्यवस्था समितिले अनुवाद गरी छाप हानि परराष्ट्र मन्त्रालयका कन्सुलर अफिसरले अनुवाद भएको लिखतलाई प्रमाणीकरण Authentication गरेको भएता पनि अनुवाद गर्ने व्यक्ति नेपाली र अङ्ग्रेजी दुवै भाषामा पोख्त वा दक्ष हो कि होइन भनी खुलेको देखिँदैन। त्यस्तै हाल नेपालको नोटरी पब्लिक ऐन अनुसार लिखतको अनुवाद गर्ने इजाजत प्राप्त गरेको नोटरी पब्लिकले पनि नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद गर्दा प्राय “The Translation Copy is True and Verified” मात्र लेखेको नोटरी पब्लिकको स्टाम्प राखेको देखिन्छ तर ती व्यक्ति दुवै भाषामा दक्ष हुन कि होईनन ? भनेर खुलार्ईएको हुँदैन । किनकि अनुवादकर्ताको दक्षता र लिखतको प्रमाणिक करण भन्ने विषयवस्तु एउटै होइनन्। यहाँ हेरिने प्रश्न लिखतको प्रमाणीकरण होइन कि अनुवादकर्ताको दक्षताको प्रमाणीकरण हो ।

नेपालमा नोटरी पब्लिक भन्ने व्यक्ति दुवै भाषामा दक्ष भएकै कारणले नोटरी पब्लिकको लाइसेन्स पाएका हुँदा त्यस्तो ब्यहोरा खुलाई रहनु नपर्ने भन्ने मानसिकता रहेपनि विदेशमा रहेका न्यायिक वा अर्धन्यायिक विषयमा निर्णय गर्ने अधिकारीलाई त्यसको जानकारी हुँदैन। र सयौँ व्यक्तिका विषयमा निर्णय गर्नुपर्ने अध्यागमन अदालतका न्यायाधीश वा अधिकारीले आफ्नो विभागले दिएको निर्देशकालाई आधार बनाउँछ कुनै पनि लिखत रितपूर्वक अनुवाद भएर आएको छ कि छैन भन्नका लागि। निजहरूलाई नेपालको कानुनमा यस सम्बन्धमा के व्यवस्था रहेछ भनी हेर्ने फुर्सद हुँदैन र आवश्यकता पनि पर्दैन किनकि कानुन बमोजिमको सुविधा पाउनका लागि निवेदन गर्ने व्यक्तिले नै आफ्ना प्रमाणहरू रितपुरयाएर पेस गर्नु पर्दछ। त्यसैले अदालतका न्यायाधिशहरुले यस्ता लिखतलाई रित नपुगेको हुँदा प्रमाणको रूपमा मान्यता नै दिदैनन। अनि कागज पेस गर्ने व्यक्तिको प्रमाण मिसिलमा वा फाइलमा रहेर पनि उस्का लागि त्यो बेरिते लिखत मद्दतगार हुन सक्दैनन्। अतः पक्षहरूको हितलाई ध्यानमा राखेर नोटरी पब्लिकका लाइसेन्स पाएका व्यक्तिहरूले पक्षले गरेको दाबीलाई ध्यानमा राखेर त्यसैको सारलाई समेट्ने अङ्ग्रेजी शब्दहरू चयन गरी अनुवाद गरेको लिखतमा तलको ब्यहोरा सर्टिफिकेट अनुवाद गरेको लिखतको अगाडी राखिदिएमा पैसा खर्च गरेर आफ्नो काम बनोस् भनी ल्याएका अनुवादित लिखत पेस गर्दा अमेरिकी अध्यागमन अदालत, अध्यागमन कार्यालय वा कन्सुलर अफिसबाट रितपूर्वकको ठहर्‍याई विवादको निरूपण भएमा कानुन बमोजिम पाउने सुविधा पाउन अनावश्यक दुख भोग्नु पर्ने थिएन ।

CERTIFICATE OF TRANSLATION

I, ABC, declare as follows:
1. I am a citizen of _____________, over 18 years of age, and am not a party to this action. I reside or I am employed by ______________located at______________.
2. I am fluent in English and Nepali.
3. The attached “Translation of ABC” is a true and correct translation of the attached original Nepali language document.
I declare, under penalty of perjury, that the foregoing is true and correct to the best of my knowledge.
Executed this ___day of May, 2013, in Kathmandu, Nepal

Signature:____________

______________
Notary Public

(विनोद रोका, न्यु योर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ । तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ ।

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए टेलिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ । )