अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

दाल भात तरकारीको शनिवार देशैभर आक्रामक व्यापार

प्रदिप कार्की २०७६ वैशाख २१ गते १०:०१ मा प्रकाशित

शुक्रवार देखि रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ले शनिवार देशैभर आक्रामक व्यापार गरेको छ । यसले काठमाण्डौको गोपीकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ । शनिवार बिहानैबाट सबैभन्दा ठुलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिति बाक्लो छ भने दिवा सोबाट अधिकांश हाउस फुल रहेका छन् । 

बिहानैबाट हरेक सोमा ९५ देखि १०० प्रतिशत दर्शकको उपस्थिति छ । फिल्मका निर्माता किरण केसीले यो व्यापारलाई आक्रामक भन्दै दर्शकलाई धन्यवाद दिए । ‘दर्शक नै हाम्रो भगवान् हुन्, जसले हामीलाई आशीर्वाद दिन हलमा आउनु भएको छ’ किरणले उत्साहित हुँदै भने ‘फिल्मले पाएको प्रतिक्रिया र दर्शकको उपस्थितिले हौसला थपेको छ ।’ फिल्मले शनिवार सिङ्गल र मल्टिप्लेक्स दुवै क्याटेगोरीको हलमा हाउसफुलका साथ व्यापार गरिरहेको छ । समीक्षागत रूपमा मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म हेरेर निस्किएका दर्शकले यसलाई राम्रो भनेका छन् । अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो फिल्मले हास्य शैलीमा प्रस्तुत गरेको छ ।

मुख्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसी आज बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकलसँग साक्षात्कार गरिरहेका छन् । काठमाण्डौका गोपीकृष्ण, अष्टनारायण, एफक्यूब लगायतका हलमा पुगेर उनीहरूले दर्शकसँग साक्षात्कार गरे । किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, आँचल शर्मा, पुष्प खड्का, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रविन तामाङ, किरण केसी, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । 

फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ । यसमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरूको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डी. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमीला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायत निर्मातामा छन् । प्रवीण सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।