अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

डेढ दशकपछि पुनरागमन गर्दै सिजन्स ब्याण्ड

कृष्ण भट्टराई २०७५ फागुन १७ गते २३:३० मा प्रकाशित

काठमाडौँ– कुनै बेला साङ्गीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका सङ्गीतकर्मीहरूको साङ्गीतिक समूह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा श्रोतामाझ फर्किएको छ । 

२०६१ सालमा आफ्नो तेस्रो एलबम ‘सात तिया“ एक्काइस’ मार्फत श्रोतामाझ आएको यो समूह १४ वर्षपछि चौथो एकल एलबममार्फत पुनः साङ्गीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दैछ । समूहले चौथो एकल एलबम ‘सिजन्स द न्यु बिगिनिङ’ मार्फत श्रोतामाझ आउने तयारी गरेको हो ।

सिजन्स ब्याण्डमा छ जना सङ्गीतकर्मीहरू सक्रिय छन् । चलचित्रको पाश्र्व गायन तथा पृष्ठभूमि सङ्गीत निर्माण व्यस्त भइरहेका सङ्गीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो । सुजिल यो समूहमा गायन तथा लिड गिटारिष्टको रूपमा आबद्ध छन् । समूहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान । उनी पनि गायन र रिदममा आबद्ध छन् । अर्का सदस्य चन्द्र लामा समूहका गायक तथा ड्रमर हुन् । चलचित्रका गीतहरूमा सङ्गीत संयोजन तथा पृष्ठभूमि सङ्गीत उत्पादनमा सक्रिय सङ्गीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन् । सङ्गीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिष्टको जिम्मेवारी सम्हालेका छन् । उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन् । 

विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरू मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीतहरू श्रोता तथा दर्शकहरूलाई दिइसकेको छ ।

समूहले २०५६ सालमा पहिलो एलबम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एलबम ‘सिजन्स’ सार्वजनिक गरेको थियो । सिजन अर्थात् ऋतु । समूहले आफ्ना सिर्जनालाई ऋतु झैँ परिवर्तनशील बनाउने अवधारणा बनाएको छ । जस अनुसार सङ्गीत सिर्जनामा समेत परिवर्तनशील रहने योजना अनुरूप स्थापना भएको सिजन्स ब्याण्डले करिब डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसँगै सङ्गीतका अधिकांश शैलीलाई अनुसरण गर्ने लक्ष्य लिएको छ । ब्याण्डको नयाँ“ एलबमका गीतहरूमा आध्यात्मिक भाव पाउन सकिन्छ ।

यसैबिच, ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिवार मात्र चौथो एलबमको पहिलो गीत ‘भन्छन् नारायण…’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

चौथो एलबम तयार पार्ने क्रममा सिजन्सलाई स्टुडियो रेकडले व्यवस्थापकीय साथ दिएको छ । ब्याण्डको नयाँ एलबम तथा म्युजिक भिडियोहरूलाई स्टुडियो रेकर्ड्सले व्यवस्थापन गर्ने रेकर्ड्सका मेनेजर नीरज श्रेष्ठ बताऊ“छन् । नीरजका अनुसार निकट भविष्यमै सिजन्स ब्याण्ड लाइभ कन्सर्टमार्फत समेत दर्शकमाझ आउने तयारी गरिरहेको छ ।