अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

जिनियस म्युजिक अवार्ड–२०७५ सम्पन्न

कृष्ण भट्टराई २०७६ जेठ १४ गते १९:३९ मा प्रकाशित

काठमाडौँ– नेपाली गीत, सङ्गीत र कला क्षेत्रमा योगदान पुर्‍याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक अवार्ड–२०७५’ मा विभिन्न ४८ विधामा सङ्गीतकर्मीहरूलाई पुरस्कृत गरेको छ । 

समारोहमा ‘जननी जन्मभूमि…’ गीतबाट गायक रमेश दाहालले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए ।

चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको ‘रहर छ सँगै…’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने यही गीतबाट गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् । सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारको अवार्ड चलचित्र ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा…’ गीतका लागि शम्भुजित बास्कोटा पाए भने सर्वोत्कृष्ट गीतकारको अवार्ड चलचित्र प्रसादको ‘वनकी चरी…’ गीतका लागि बि.पाण्डेले पाए । चलचित्र ‘चौका दाउ’ को ‘राधा पियारी…’ गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरे । उदयराज पौडेलले सर्वोत्कृष्ट सङ्गीत संयोजकको अवार्ड जिते । उनले चलचित्र ए मेरो हजुर–३ को ‘जिन्दगी नै भन्दिन..’ गीतबाट यो सफलता पाएका हुन् । 

चन्द्र सिंह घले (सहारा बनी) तथा करुणा सिम्खडा (दिलको राजा) ले सर्वोत्कृष्ट पप नव गायक–गायिकाको अवार्ड पाएको उक्त समारोहमा रोशन भट्टराईले ‘मायालु तिमी’ गीतबाट सर्वोत्कृष्ट गीतकार (पप) को अवार्ड जिते ।

पपतर्फ सर्वोत्कृष्ट सङ्गीतको अवार्ड कल्याण सिंहले शब्द…गीतबाट जिते भने मस्त जवानी…गीतबाट राजेन्द्र बजगाईँले यही विधाको जुरी अवार्ड पाए । गायिका निशा कँडेलले ‘सधैँलाई…’ गीतबाट सर्वोत्कृष्ट पप गायिकाको अवार्ड जितिन् भने कमल खत्रीले जाउँला रेलैमा…गीतबाट सर्वोत्कृष्ट पप गायकको अवार्ड हात पारे । लोक पप विधामा छाता बोकी गीतबाट भू पु पाण्डेले सर्वोत्कृष्ट गायकको अवार्ड जिते ।

राजकुमार श्रेष्ठले ‘निष्ठुरी भनुँ…’ गीतबाट पप तथा आधुनिक विधाको नव गीतकारको अवार्ड जिते भने डा.डिआर उपाध्यायले लट्ठै लट्ठै गीतबाट आधुनिक तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पारे । यही विधामा दुर्गा प्रधानले रात पनि गीतबाट महिला गीतकारको अवार्ड पाइन् । सर्वोत्कृष्ट सङ्गीत संयोजकको अवार्ड सङ्गीतकार मोहित मुनालले पाए । उनले ‘पिच रोड…’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा नरेन्द्र बियोगीले पिरिम नलाउने…बाट जुरी अवार्ड हात पारे ।आधुनिक सङ्गीतर्फ सर्वोत्कृष्ट सङ्गीतकारको अवार्ड हरि लम्सालले जिते । उनले ‘जितेर पनि…’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा विनोद पछाईं (तिम्रा हजार) ले जुरी अवार्ड पाए ।

गायक आशिष् सचिन तथा गायिका मेलिना राईले ‘पिरिम नलाउने…’ गीतबाट सर्वोत्कृष्ट युगल गीतको अवार्ड जित्न सफल भए । लोक तथा दोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘ढल्क्यो बर…’ बाट रामजी खाडले जिते भने ‘भाग्यमानी…’ गीतबाट देवी घर्तीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् । ‘हत्ते हालिन्छ…’ गीतबाट लोमस शर्माले नव मोडलको अवार्ड जिते भने कपिल लामाले ‘बलिदान…’ गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते ।

‘मकैसिंह डाँडा…’ गीतबाट सुजन परियारले सर्वोत्कृष्ट नव गायकको अवार्ड जिते भने ‘आउनु माया…’ गीतबाट मेनुका सोनीले सर्वोत्कृष्ट नव गायिकाको अवार्ड जितिन् । चन्द्र खत्रीले सुन कथाबाट सर्वोत्कृष्ट शब्द संकलकको अवार्ड पाए भने शिव हमालले लालु माई गीतबाट सर्वोत्कृष्ट लय संकलकको अवार्ड जिते । मलाई देखेर गीतबाट कृष्ण बिक भान्जाले सर्वोत्कृष्ट सङ्गीत संयोजकको अवार्ड जिते भने बितेका पल गीतबाट निशान बानियाँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जिते ।

दलित शीर्षकको गीतबाट दीपक विष्टले सर्वोत्कृष्ट सम्पादकको अवार्ड जिते भने बोल माया गीतबाट करण चैसिरले सर्वोत्कृष्ट छायाकारको अवार्ड हाल पारे । हिजोसम्म गीतबाट बलबहादुर राजवंशीले आधुनिकतर्फ सर्वोत्कृष्ट नव गायकको अवार्ड जित्न सफल भए । लोक तथा दोहोरी विधाकै सर्वोत्कृष्ट मौलिक गीतको अवार्ड बोली मोहनीबाट गडुल ध्वज गुरुङ (जिमी) ले जिते । महिला मोडलको अवार्ड बलिदान गीतबाट सारिका केसीले जितिन् भने सलल पानी गीतबाट दुर्गेश थापाले पुरुष मोडलको अवार्ड जिते ।

गायक शिव परियारले ‘तिमी नै मेरो सास…’ गीतबाट आधुनिकतर्फको सर्वोत्कृष्ट गायकका अवार्ड जिते भने यही विधामा अटालिका गीतबाट गायक भानुभक्त ढकालले जुरी अवार्ड पाए । ‘तिम्रा हजार…’ गीतबाट महेश्वरमान राजभण्डारीले सर्वोत्कृष्ट ध्वनि मुद्रणको अवार्ड जिते भने प्रकाश केसीले प्याप्या झ्यामबाट यही विधाको जुरी अवार्ड जिते । अभिनेत्री आँचल शर्मा तथा अभिनेता पल शाहले पप तथा आधुनिक विधातर्फ ‘जे पनि हुन’ गीतबाट सर्वोत्कृष्ट महिला तथा पुरुष मोडलको अवार्ड जित्न सफल भए ।

टीका बमजनले फनफनी घुमेको गीतबाट तामाङ सेलोतर्फको सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने मिङ्स लामाले डम्फुमा सेलो गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् । मौलिक तीज गीततर्फ मञ्जु थापा र प्राश्ना शाक्यले तीजको रहर गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भए । समारोहमा प्रिन्स सिलवाल र नन्दिताराज वैद्यले क्रमशः न मानामा नापिन्छ तथा यो धर्ती गीतबाट सर्वोत्कृष्ट बाल गायक/गायिकाको अवार्ड जिते । 

पप तथा आधुनिक विधातर्फ सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड शिव पौडेलले तिम्रो जोबन गीतबाट जित्न सफल भए भने यही विधातर्फ सर्वोत्कृष्ट छायाकारको अवार्ड ‘मन मगन…’ गीतका लागि अनिल के मानन्धरले जिते । निकेश खड्काले ‘गल्ती…’ गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए । पवन सुस्लिङले ‘हेरी रहुँ…’गीतबाट सर्वोत्कष्ट सम्पादनको अवार्ड जिते भने कमल सिंहले ‘किन लाग्छ…’ गीतबाट सर्वोत्कृष्ट नव मोडलको अवार्ड जित्न सफल भए ।

समारोहमा एसियन म्युजिकले सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड जित्यो भने ‘सालको पात टपरी…’ गीतले पब्लिक च्वाइस अवार्ड जित्न सफल भयो । काठमाडौँमा आयोजित एक समारोहमा नेपाली गीत–सङ्गीतको क्षेत्रमा अनवरत रूपमा योगदान पुर्‍याउने सङ्गीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशि सहित जिनियस दीर्घ साधन सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । 

समारोहमा सञ्चारकर्मी कृष्ण भट्टराईलाई रङ्ग पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदै नेपाली गीत, सङ्गीत तथा कला क्षेत्रको संरक्षणका लागि योगदान पुर्‍याए बापत नगद १० हजार रुपैयाँसहित जिनियस पत्रकारिता सम्मान प्रदान गरियो । त्यसक्रममा कोरियोग्राफर तथा नृत्य निर्देशक शिव बिकलाई विशेष सम्मान अर्पण गरियो भने तथा गायक अमन प्रदानलाई पनि प्रतिभा सम्मान अर्पण गरियो ।

समारोहमा शिव परियार, कमल खत्रीसहितका सङ्गीतकर्मीहरूले गीत सङ्गीत प्रस्तुत गरेका थिए भने बिनु शाक्यसहित जिनियस म्युजिक स्कुलका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।