अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

पोखरामा ‘धुनहरूमा तारादेवी र अरुणा लामा’

कृष्ण भट्टराई २०७६ असार १३ गते ६:५४ मा प्रकाशित

पोखरा– पोखरामा सक्रिय रहेका गायिकाहरूको संस्था ‘हार्मोनी: द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले असार २१ शनिवार पोखरामा एउटा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रका दुई अत्यन्त लोकप्रिय महिला स्वरहरूलाई ट्रिब्यूट गर्दै आयोजना गर्न लागिएको ‘टेस्ट अफ हार्मोनी स् धुनहरूमा तारादेवी र अरुणा लामा’ शीर्षकको कार्यक्रममा पोखरेली गायिकाहरूले उनीहरूका लोकप्रिय गीत–सङ्गीत प्रस्तुत गर्नेछन् ।

पोखरा सभा गृहमा शनिवार दिउ“सो १ बजेपछि प्रारम्भ हुने उक्त साङ्गीतिक कार्यक्रममा दिवङ्गत गायिकाहरू तारादेवी तथा अरुणा लामालाई विशेष सम्झना गरिने छ । साङ्गीतिक कार्यक्रममा अरुणा लामा तथा तारादेवीका लोकप्रिय कालजयी गीतहरू प्रस्तुत गरिने आयोजक संस्थाकी अध्यक्ष तथा गायिका ई तु जोजिजुले बताएकी छिन् ।

‘हामीले नेपाली साङ्गीतिक क्षेत्रका दुई नक्षत्रप्रति समर्पण गर्दै यो कार्यक्रमको डिजाइन गरेका छौँ, अध्यक्ष जोजिजू भन्छिन्—‘यो धेरै दर्शक अनि श्रोताहरूका लागि विशेष हुने हामीले विश्वास लिएका छौँ ।’

साङ्गीतिक कार्यक्रममा संस्थामा आबद्ध सम्पूर्ण गायिकाहरूले आ–आफ्नो प्रस्तुति दिनेछन् । त्यसक्रममा गायिकाहरू ई तु जोजिजु, कौशल्या गुरुङ, शीतल थापा, मित पाल सिंह, अजुदा थापा, बब सुनार, इ निशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेह गुरुङ, सबिता सुनाम, रामु तुप्रिहाङ थापा, मलिना गुरुङ आदिले आफ्नो विशेष प्रस्तुति दिने छन् ।

कार्यक्रममा यी गायिकाहरूलाई पोखराकै लोकप्रिय गायकहरू कर्ण दास, रामभक्त जोजिजु, विनोद बानियाँ तथा ज्ञान थापाले पनि साथ दिने छन् ।

साङ्गीतिक क्षेत्रमा क्रियाशील महिलाहरूको बलियो उपस्थिति जनाउनका लागि स्थापना भएको यो संस्थाले विगतमा पनि विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना गरिसकेको छ । संस्थाले विगतमा लिजेन्डरी हार्मोनियस इभिनिङ तथा टेस्ट अफ हार्मोनी शीर्षकका साङ्गीतिक कार्यक्रम आयोजना गरेर दर्शक तथा श्रोताको मन जितिसकेको छ ।

यसैबिच साङ्गीतिक कार्यक्रमकै क्रममा आयोजक संस्थाले ३ जना गायिकाहरूलाई सम्मान गर्ने भएको छ । समारोहमा दार्जिलिङकी गायिका दावा ग्याल्मो, गायक कर्ण दासकी आमा तथा कलाकार रत्न दासलाई योगदानको कदर गर्दै सम्मान गरिने छ भने उदीयमान गायिका जोनिशा पौडेललाई प्रोत्साहन सम्मान अर्पण गरिने आयोजक संस्थाले जनाएको छ ।