अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

मिस नेवाः ११४० को अडिसन सम्पन्न, २५ प्रतिस्पर्धी छनोट

कृष्ण भट्टराई २०७६ फागुन १६ गते १४:१० मा प्रकाशित

काठमाडौँ– नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्ना गर्ने उद्देश्यले नेप्लीज फेसन होम (एनएफएच इभेन्ट्स) ले विगत १५ वर्षदेखि आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११४०’ को अडिसन काठमाडौँमा सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न भएको अडिसनबाट १५ औँ संस्करणको मिस नेवाः का लागि २५ जना प्रतिस्पर्धी छनोट गरिएको आयोजक संस्थाले जनाएको छ । अडिसनमा छनोट भएका प्रतिस्पर्धी काठमाडौँ, भक्तपुर, ललितपुर लगायत अन्य जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी भएका छन् ।

अडिसनमा कोरियोग्रँफर रोजिन शाक्य, नेपाल क्योकूसिन सेइसीन काइकान करा“ते सङ्घका अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठ, मिस नेवाः ११३९ नीतु डङ्गोल, पूर्व मिस नेवाः रीजु मानन्धर तथा सञ्चारकर्मीद्वय त्रिलोचन प्रधान तथा कृष्ण भट्टराई निर्णायकको रूपमा रहेका थिए ।

यस पटकदेखि मिस नेवाः प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार पाउने भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार यो वर्ष ‘मिस नेवाः ११४०’ को उपाधि जित्ने प्रतिस्पर्धीले नगद एक लाख रुपैयाँ“ पुरस्कार स्वरूप प्राप्त गर्नेछिन् । फस्ट रनर्स अप तथा सेकेन्ड रनर्स अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई करिब डेढ महिना लामो प्रशिक्षण दिइने छ । त्यस क्रममा उनीहरूलाई नेपाल भाषा, कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ ।

यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप, सेल्फ डिफेन्स जस्ता महत्त्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइने छ । प्रतिस्पर्धिहरुलाई कोरियोग्राफर रोजिन शाक्य, पूर्व मिस नेवाः सुनिता डङ्गोल, सेल्फ डिफेन्स प्रशिक्षक अशोककुमार श्रेष्ठ आदिले प्रशिक्षण दिने छन् ।

मिस नेवाः को ग्राण्ड फिनाले वैशाख दोस्रो साता कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।