अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

नेपाली काँग्रेस, शेर ब देउवा र सङ्गठन

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ कार्तिक २१ गते २१:२८ मा प्रकाशित

निःसन्देह, महामानव बी. पी कोइरालाद्वारा प्रतिपादित सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आधारशिलामा स्थापित “नेपाली काँग्रेस” पार्टी एउटा प्रजातान्त्रिक पार्टी हो ।

नेपालका हरेक प्रजातान्त्रिक र जन- आन्दोलन हरूमा नेपाली काँग्रेसले निर्णायक भूमिका खेल्दै आई रहेको कुरा पनि सर्वविदितै छ । तर दोस्रो जन-आन्दोलन पछिका वर्षहरूमा यो पार्टीले जनता र राष्ट्रियताका पक्षमा खासै काम गर्न सकी रहेको छैन । केवल इतिहासका कुरा भट्याएर आत्मरति लिनु बाहेक र प्रतिपक्षीलाई दोष लाउनु बाहेक आफ्ना कार्यक्रमहरू दिन सकी रहेको छैन । साङ्गठनिक गतिविधि र प्रशिक्षण कार्यक्रमहरू शुन्यप्राय: छ । फलतः: पार्टी प्रति जनता र कार्यकर्ताको आकर्षण दिनानुदिन घटितै गई रहेको छ । तर यति हुँदाहुँदै पनि नेपाली काँग्रेसको विकल्प अहिलेको परिप्रेक्ष्यमा नरहेको स्थिति विद्यमान छ नेपालमा ।

किन भयो त नेपाली काँग्रेसको यो दुरावस्था ?
फितलो र निकम्मा नेतृत्व
साँगठन र कार्यकुशलताको कमी
प्रशिक्षणशुन्य अवस्था
एकल नेतृत्व
काठमाण्डू केन्द्रित पार्टी प्रणाली
जनता र कार्यकर्ता हरूप्रति अनुत्तरदायी
बी. पी विचार र सिद्धान्तको अवहेलना
गुटबन्दी र अनुशासनहीनता
कतिपय नेताहरूको दम्भ र हठवादिता आदि-इत्यादि ।

शेर बहादुरजी को थिए र के भए ?
वर्तमान ने. का सभापति शेर ब. देउवाको सुन्दर छवि थियो उतिखेर । नेपाली काँग्रेसको गौरवमय इतिहासमा पश्चिमको शेर भनेर चिनिने देउवाले प्रथम पटक गृहमन्त्री भए पश्चात् पनि उल्लेखनीय काम गरेर देखाएकै हुन तर क्रमशः: यिन्को प्रभाव र छवि धुमिलिंदै गएको हो र विवाहोत्तर कालखण्डमा त झनै कमजोर हुँदै गए । यद्यपि देउवा पत्नी लाई दोषारोपण गर्छन् मानिसहरू यो पतनको पार्श्वपटमा तर सामुन्ने भन्ने हिम्मत राख्तैनन टिप्पणीकारहरू । यो पङ्क्तिकारलाई यस बारेमा केही भन्नु छैन ।

कारण जे सुकै भएता पनि, अब शेर ब. बुढा भए । अब पुरानो सोच, शैली र चिन्तनबाट पार्टी अथवा मुलुक चल्दैन । उहाँले पर्याप्त समय, अवसर, सहयोग र समर्थन पनि पाएकै हो । सके सम्म, जानेसम्म र बुझेसम्म गर्नु भएकै हो । उहाँलाई दोष दिनु हुन्न बरु सम्मानजनक ढङ्गले सधन्यवाद बिदा दिनु पर्छ । नेपाली काँग्रेसमा नेतृत्व गर्न सक्ने अन्य कुनै नेतानै नभए जस्तो उहाँले पद ओगटी राख्नु पर्ने कुरामा कुनै तुक छैन । उहाँका हनुमान हरूले पनि आफ्नो व्यक्तिगत सीमित स्वार्थका लागि उहाँलाई उक्साएर कुर्सीमा रही रहन उत्तेजित बनाई राख्नु सर्वथा अनुचित हो । शेर ब. देउवा स्वयंले पनि आफ्नो तन, मन, कर्म, बोली र वचनको मूल्याङ्कन गरी सबल, सक्षम र योग्य व्यक्ति र पंक्तिलाई सामूहिक नेतृत्वको अभिभारा दिई अभिभावक र उपदेष्टाको थान्कोमा बसेको पार्टी र समग्र राष्ट्रको निम्ति हितकारक हुनेछ ।

अब के गर्नु पर्छ त ?
नेपाली कम्युनिस्ट पार्टीले बहुमतको सरकार हुँदाहुँदै पनि अद्यपरिमित आफ्नो घोषणापत्र बमोजिम काम गर्न सकिरहेको छैन । जनताको आशा, भरोसा र सपनामा तुषारापात भएको छ । जनताको विश्वास क्रमशः: गुमाउँदै गएको छ । यस परिस्थितिमा जनता अत्यन्त दुखित र चिन्तित छन् । एकातिर नेपाली जनता ने. क पा सँग पनि असन्तुष्ट र उदासीन देखिन्छन् भने अर्कातिर नेपाली काँग्रेससँगको गतिविधि र कार्य प्रणाली सँग पनि खुसी छैनन् ।

अतः नेपाली काँग्रेसले निम्नलिखित कुराहरूमा ध्यान दिनु पर्छ ।

पार्टी सभापति शेर ब. देउवा लगायत सबै असक्षम, अदक्ष र अयोग्य नेताहरूले आत्म आलोचना गरी सामूहिक राजीनामा दिनु पर्छ ।
जनता, मतदाता र आफ्नै कार्यकर्ताले अविश्वास र असहयोग गरेको स्थितिमा नैतिकताको आधारमा राजीनामा दिई बचे कुचेको सम्मान र आदरलाई नेताहरूले जोगाई राख्नु पर्छ ।
नयाँ पुस्तालाई पनि नयाँ सोच,शैली र दृष्टिकोणबाट अन्तर्राष्ट्रिय जगतमा पनि नेतृत्व गर्न सक्ने क्षमता भएका लाई प्राथमिकतामा राख्नु पर्छ ।

बी. पी को सिद्धान्तलाई पुनर्जीवित गर्नु पर्छ ।
सङ्गठन र प्रशिक्षणलाई युद्धस्तरमा लानु पर्छ ।
भ्रष्टाचारी , दुराचारी र बलात्कारी हरूलाई जेलमा कोच्नु पर्छ ।
योग्य, सक्षम र इमानदार नेताहरूलाई उत्प्रेरित, पुरस्कृत र मनोनीत गर्नु पर्छ ।
छद्मवेशी र अवसरवादी हरूलाई पहिचान गरी ठेगानमा राख्नु पर्छ ।
सबैभन्दा माथि र प्राथमिकतामा राष्ट्र र जनतालाई राखी सदैव निष्ठा र सिद्धान्तको राजनीति गर्नु पर्छ

(प्रा. डा. दुर्गा दाहाल नेपाली नेपालीज डेमोक्रेटिक फोरम अमेरिकाका संस्थापक अध्यक्ष, नेपाली काँग्रेसका भूतपूर्व केन्द्रीय प्रशिक्षक र नेपाली जन सम्पर्क समिति, अमेरिकाका भूतपूर्व केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ)