अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

मलाई मान्छे होइन ढुङ्गा नै मन पर्छ

राजु सिटौला २०७५ भदौ १५ गते १२:१२ मा प्रकाशित

साह्रो हुनु त ढुङ्गाको नियति हो
उ त जहिले पनि साह्रो नै हुने गर्छ
तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे
थाहै नदिई ढुङ्गा भन्दा पनि साह्रो हुने गर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मन पर्छ

कसरी बन्यो? कहाँबाट आयो?
अनि संसारमा कस्तो कस्तो चोट खायो?
खोज्नेहरूलाई आफ्नो कहानी
ढुङ्गा नलुकाई सबै सबै नै भन्ने गर्छ
मान्छेले पो सधैँ मुखमा मधुर मुस्कान छर्दै
भित्र भित्र छातीभित्र ज्वालामुखी पकाउने गर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मन पर्छ

कुनै बाहिरी शक्तिले नगुल्टाए र नबगाएसम्म
घाम पानी आँधी हुरी अनेक विषम सहेर
ढुङ्गा सधैँ यथास्थानमा नै रहने गर्छ
मान्छे पो मौका परस्त हो र उ सधैँ आफ्नो अनुकूलता हेरी
हुर्केको गाउँ र लाएको माया बिर्सेर अन्तै बसाइँ सर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मन पर्छ

पुज्नेले पुजिदिए ईश्वर पनि बनिदिन्छ ढुङ्गा
गर्दैन चमत्कार केही
तर आस्थाहरू थुपार्ने एउटा आधार बन्ने गर्छ
धेरै चोटि झुक्किइसके म मान्छेसित
देव रूपमा देखिएर क्षणभर मै
दानव भई तिखा दाह्रा पिठ्युँमाथि धस्ने गर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मन पर्छ