अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

डा. तिमीले यो युद्ध पक्कै जित्नेछौ

आचार्य प्रभा २०७५ जेठ २६ गते १२:१३ मा प्रकाशित

कविता

डा.तिमी पनि
कस्तो भ्रममा पर्‍यौ है?
अरूलाई बाँच्ने प्राण भरेर
आज आफै आफ्नो प्राणको
रक्षा गर्न भौंतारिन बाध्य बन्यौ
हो…डा उपेन्द्र…..,
मान्छे भगवान् होइन
जो अदृश्य बनेर सबैलाई
झुटो ढाडस बाँध्न सक्छ,
तिमी त मान्छे हौ
अरूलाई बाँच्न सक्ने
शाश्वत सास भरेर कतिलाई
मृत्युको पन्जाबाट फुत्कायौ
तर…..तिमी भने आफ्नै ईमान्दारी
पेसालाई पनि जित्ने
रोगको सिकार बन्यौ|
हो…डा…….,
तिमीले आत्मसात् गरी सक्यौ
मृत्यु कसैको बसमा हुन्न भनी
तिमीले स्वीकार गरी सक्यौ
मृत्युले मलाई प्रिय बनाउँछ भनी
तर…हामी गर्वित छौँ,
तिम्रो हिम्मत,हौसला र स्वाभिमानदेखि
खै!कहाँ छ?तिमीले गुनासा गर्ने ठाउँ?
अनि के छ तिम्रा त्यस्ता कम्जोरी?
जसले सारा नेपालीलाई
मन खुम्चाउने पारेको होस्!
डा……..उपेन्द्र,
त्यसैले तिमी महान् छौ यसै|
हुन्थ्यो भने बरु मेरो श्वास नै
तिमीलाई दीर्घ जीवनको निम्ति
सापटी दिन्थेँ
र…लिन्थेँ तिमीलाई हामीबाट
टाढा गराउने त्यो निष्ठुरी
रोगको हुर्मत!
तर…….विवश छु,
म तिमी जस्तो ईश्वरीय बर्दान
पाएको मान्छे कहाँ हुँ र ?
जसले भगवानको अवतार लिएर
सारा रोगीहरुको उद्धार गरे
र….सबैको आशीर्वाद र कामना
पाउने सौभाग्य पाए
हो….डा,
तिमी आफै चकित छौ यो बेला
तिमी आफै निशब्द छौ यतिखेर
तर पनि….तिमी अडिग छौ
त्यो पापी रोगको सामना गर्न
हामी नतमस्तक छौँ सधैँ
तिम्रो हिमत्तिलो अडानसँग
अनि…….हामी ढुक्क छौ अझै
तिमी त्यो युद्धसँग लडेर
वीर योद्धाको तक्मा भिर्दै
फेरि एक पटक हामीमाझ
बहादुरीको परेड खेल्दै
उही कर्तब्यपथमा लम्किने छु भनी |