अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

नभुल्नु है क्रान्ति

राकेश कार्की, लस एन्जेलस २०७३ पुष १६ गते २३:२४ मा प्रकाशित

एक हुल मानिसहरू आए
मलाई हतियारहरू दिए
माया गरे झैँ कानमा भने
“नभुल्नु है क्रान्ति”

अर्को हुल मानिसहरू आए
तोड्न फोड्न सिकाए
स्याबासीको धाप मार्दै भने
“नभुल्नु है क्रान्ति”

स्वास्नी मानिसको हुल आए
खोसेर थुतेर खान सिकाए
क्रान्तिकारी गीत गाउदै भने
“नभुल्नु है क्रान्ति”

केटाकेटीका हुल आए
स्कुल बन्द गरी छाती तन्काए
हाहुँ दादागिरी गर्दै भने
“नभुल्नु है क्रान्ति”

सत्ताको पत्ता पल्टियो
क्रान्तिकारीहरू शासक भए
अब कुर्लेर भन्नथाले
“नभुल्नु है शान्ति”

मैले अब केवल तर्साउने
क्रान्ति जानेको छु
भत्काउने बानी परेपछि
शान्ति कसरी बुझुँ