अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

करातेको उन्नयनमा सरिता

सूर्य चन्द, काठमाडौँ २०७५ असोज १६ गते ११:२३ मा प्रकाशित

नेपाली खेलक्षेत्रमा आफ्नो कला कौशल प्रस्तुत गरिरहेकी छन् सरिता सापकोटा । महिला भएर चुलो चौकामा मात्र सीमित नभएर स्वयम् आफ्नो लागि एवम् देशका लागि केही गरौँ भन्ने कमै भेटिन्छन् । ती मध्ये एक हुन सरिता सापकोटा ।

सिराहाको मिरच्यामा जन्मिएकी उनी काठमाडौँलाई कर्मथलो बनाएर आफ्ना कर्महरूलाई अगाडि बढाइरहेकी छन् । वि. स. २०४७ साल देखि करातेमा प्रवेश गरेकी उनी २०५४ सालमा ब्याक बेल्ट प्राप्त गरी औपचारिक रूपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले आफ्नो खेल जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नू परेको छैन । जहाँ उनले आफ्नो छुट्टै पहिचान बनाउन्न सफल भएकी छन् ।

निरन्तरको अथक प्रयास एवम् आफ्नो आत्मविश्वास एवम् परिवार साथीभाइहरूको हौसला र प्रेरणाले यहाँसम्म आउन सफल भएकी उनी आफ्नो सुरुको खेल जीवन सारै कष्टकर भएको तर अहिले आफूले यही खेल जीवनबाट प्रख्याती एवम् सफलतामा सन्तुष्ट देखिन्छिन् । सानै उमेरदेखि कराते खेल प्रतिको लगावले यहाँसम्म आई पुग्न सफल उनी पूर्वाञ्चलकै पहिलो अन्तर्राष्ट्रिय पहिलो महिला रेफ्री हुन् ।

कर्म गर्ने अनि फलको आशा त्यति नगर्ने उनी कर्म नै आफ्नो सम्पत्ति भएको बताउँछिन् । अहिले उनी विभिन्न विद्यालयमा एक सफल शिक्षिका बनेर स्कुले बालबालिकालाई आफ्नो लगाव एवम् आफ्नो सुरुका खेल खेल्दा परेका कठिनाइलाई मध्यनजर गर्दै आत्मविश्वास दिलाई सिकाउन व्यस्त छिन् ।

कराते खेल क्षेत्रको उत्थानमा लागि परेकी उनी यही खेल जीवनलाई विभिन्न प्रेरणा र हौसला दिँदै अगाडि बढाउन चाहन्छिन् । अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने एक दर्जन भन्दा बढी कराते खेलको सफल र कुशल अम्पायर गरिसकेकी छिन् उनले ।

कराते खेलबाटै विभिन्न पदक र ट्रफी प्राप्त गरिसकेकी उनी पदक या ट्रफी पाउँदा लाग्ने खुसीमा बेग्लै अनुभव र गर्वले छाती ढपक्क फुल्ने उनको अनुभव छ ।

आफ्नो खेल जीवनमा कोही कसैसँग गुनासो नगर्ने उनी नेपाल सरकारको खेल प्रति हेर्ने दृष्टिकोण अझ भनौ करातेप्रति सरकार खेलाडीलाई प्रोत्साहन, हौसला र प्रेरणा दिन नसकेको उनी असन्तुष्ट देखिन्छिन् ।

आत्मारक्षाको विश्व प्रसिद्ध कला कराते पुरुष भन्दा महिलालाई अत्यन्त आवश्यक रहेको भन्दै अनुशासित, जनशक्ति, स्वस्थ, तन्दुरुस्ती आत्मबल विकासको लागि सबैले यो खेल खेल्न जरुरी भएको उनको दाबी छ ।

सरिताले हालै दुबईमा भएको मोडल सङ्गस अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड पनि चुम्न सफल भएकी छन् । सरिताका कर्महरूले नेपाली खेल क्षेत्रले अझ उचाइ चुम्न सकोस् यही कामना ।