अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

सञ्चार तथा सामाजिक कार्यमा सक्रिय व्यक्तित्व – रञ्जन चन्द्र अधिकारी

सूर्य चन्द, काठमाडौँ २०७५ जेठ १५ गते ११:०४ मा प्रकाशित

विगत दुई दशक भन्दा बढी समय देखि इमेज ग्रुप अफ कम्पनीमा मिडिया मार्केटिङमा कार्यरत रहँदै आएका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रञ्जन चन्द्र अधिकारी सञ्चारमाध्यमको लागि नौलो नाम होइन । नेपाली मिडिया मार्केटिङमा उनी एक हस्तीको रूपमा स्थापित भएर आफ्नो पेसमा मार्गदर्शनको रूपमा परिचित छन् । २०५३ साल देखि लगातार रूपमा आफ्नो पेसामा सफल हुँदै आएका इमेज ग्रुप अफ कम्पनीका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रञ्जन चन्द्र अधिकारी मिडिया मार्केटिङमा स्थापित व्यक्तित्वको रूपमा चिनिन्छन ।

उनले नेपाली मिडिया मार्केटिङ क्षेत्रलाई ब्यबसायिक्ता प्रदान गर्दै आएर यो क्षेत्रको विकासको लागि एक दरिलो खम्बा भएर उभिएका छन् । उनी यस क्षेत्रमा आबद्ध व्यक्तिहरूको आदर्श पुरुष हुनुको साथै हिजोको समय देखि आजको डिजिटल प्रविधि सम्म आइपुग्दा सबैको कोसेढुङ्गा भएर नेतृत्व प्रदान गर्न सफल व्यक्तिको रूपमा चिनिएका छन् ।

उनले २०५३ सालमा मिडिया मार्केटिङको करियर सुरु गर्दासम्म धेरै सञ्चारमाध्यमहरू खुलिसकेका थिए। तर त्यो बेलासम्म विज्ञापन बजार निकै साँघुरो र सीमित दायरामा थियो। सरकारी सञ्चारमाध्यमहरूले सरकारी विज्ञापन छाप्थे र बजाउँथे। निजी क्षेत्रका सञ्चारमाध्यमले विज्ञापन पाउनु, छाप्नु र बजाउन पाउनु कठिन थियो। त्यही क्रममा सरकारी सञ्चारमाध्यमहरूले पाउँदै आएका विज्ञापन निजी सञ्चारमाध्यमहरूले तान्न थाले। उनी सम्बद्ध ईमेज च्यानलले नेपाल टेलिभिजनबाट बिहानी डेढ घण्टा समय किनेर सूचना र मनोरञ्जन कार्यक्रम सञ्चालन गर्दथ्यो। नेपाल टेलिभिजनले ‘कमर्सियल्ली अनभाएवल’ भनेको समय सदुपयोग गरेर ईमेज च्यानलले मनोरञ्जनात्मक कार्यक्रमको साथमा विज्ञापन बजार विस्तारमा ध्यान दियो। तर त्यो बेला विज्ञापनसम्बन्धी काम निकै चुनौतीपूर्ण थियो। विज्ञापन माग्न जाँदा विज्ञापनदाताबाट सित्तैमा अथवा चन्दा दिनुपरेको जस्तो व्यवहार हुन्थ्यो। व्यवसायीहरूलाई विज्ञापनले कसरी व्यवसायको विकासमा सहयोग पुग्छ भनेर बुझाउनै कठिन हुन्थ्यो।

व्यवसाय विस्तारसँगैै विज्ञापनदाताहरूको व्यवहारमा परिवर्तन हुन थाल्यो। एकपछि अर्को गर्दै खुलेका निजी क्षेत्रका प्रतिष्ठानहरूले आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि देखिन आफैँ विज्ञापन बनाउन थाले। कम्पनी स्थापना गर्दा नै विज्ञापनका लागि बजेट छुट्याउने जस्ता सकारात्मक अभ्यासहरू हुन थाले। मिडियाहले आफ्नो स्थान जमाउन थाले। मिडिया र विज्ञापनको ठुलो क्रेज देखिन थाल्यो। रंगिन कलेवरका ठुला पत्रिकाहरूले विज्ञापनका नयाँ आयामहरू पस्कन थाले। ब्रोड सिटका दैनिकहरूले विज्ञापन बजारमा चमक ल्याउने ‘ज्याकेट एड’ छाप्ने शैली अपनाए। रेडियो, टेलिभिजनहरूमा एउटै विज्ञापनमा विभिन्न जाति–भाषीको पहिरन र भाषाहरू समेटेका विज्ञापनहरू प्रसारण हुन थाले।

मार्केटिङ क्षेत्रको विभिन्न आरोह अवरोहहरू पार गर्दै अहिलेको स्थिति सम्म आइपुग्न कम चुनौतीपूर्ण काम थिएन उनलाई l धैर्य लगनशीलता काम प्रतिको इमान्दारिता र निष्ठाले गर्दानै उनी अहिले मिडिया मार्केटिङमा एक हस्तीको रूपमा स्थापित भएका छन् l आधुनिक युगको परिवर्तन सँगै मिडिया क्षेत्रले पनि ठुलोनै फड्को पारेको अवस्थामा आफूलाई समेत समय सापेक्ष परिवर्तन गर्दै सुरुको दिन देखि अहिलेको अवस्थामा सम्म आइपुग्न कठिनाइपूर्ण यात्रा गरेको अधिकारी बताउछन l विज्ञापन दाताहरू सँग सहकार्य गर्दै उनीहरूको व्यापार व्यवसायलाई समेत थप नयाँ उचाइमा पुर्‍याउन सफल व्यक्तित्व रञ्जन चन्द्र अधिकारी मिडिया मार्केटिङ क्षेत्रका सर्वाधिक पारिश्रमिक लिने व्यक्तिको रूपमा समेत परिचित छन् ।

अधिकारीको भनाई छ – मिडिया र विज्ञापनलाई नयाँ सोचका साथ अगाडि बढाउनेहरु नै अब टिक्छन् । दिनदिनै आधुनिक प्रविधिले पुरानो प्रविधिलाई बिस्थापित गर्दैछ । मिडियाको नयाँ व्यवस्थापन गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ । खास गरी टेलिभिजन, रेडियो, अनलाइन पोर्टल र सामाजिक सञ्जाललाई हेर्ने सरकारी दृष्टिकोण र सुस्पष्ट नीति नियम बनाएर मात्रै यस क्षेत्रका चुनौतीहरूको सामना गर्न सकिन्छ । त्यसमा व्यवसायीहरू त झन् सक्रिय हुनैपर्छ ।

विभिन्न सङ्घ सस्थाहरुको गरिमामय प्रमुख पदहरूमा आफ्नो कुशल प्रभावकारी भूमिका निर्वाह गरिसकेका रञ्जन चन्द्र अधिकारी मिडिया मार्केटिङ एसोसियन नेपालका अध्यक्ष, मुकुल सब मणि ट्रान्सफरका अध्यक्ष, टिम्बर डोर एण्ड टेक्स्टाइल प्रालिका अध्यक्ष, भूमि एड्भर्टाइजिङ प्रालिका सी ई ओ, लाइन्स क्लब अफ काठमाडौँ युनाईटेड वर्ल्डका चाटेड भाईस प्रेसिडेण्ट, म्यानेजमेन्ट एसोसिएसन नेपालका सदस्यमा आबद्ध रहेका छन् भने कृति अवार्ड २०१४- मिडिया मार्केटिङ म्यानेजर अफ द एयर, मार्केटिङ एक्सलेन्स अवार्ड २०१६- एक्सलेण्ट मार्केटिङ म्यानेजर अफ द एयरबाट समेत सम्मानित भइसकेका छन् ।

आफ्नो पेसासँगै विभिन्न सङ्घ संस्थामा समेत आबद्ध रहेर देशको मूल आर्थिक विकासमा सहयोग पुर्याउदै सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएका अधिकारीले विभिन्न सङ्घ संस्थामा आश्रित अनाथ बालबालिका तथा बृद बृदालाइ सहयोग पुर्याउदै आएका छन् । नेपालमा हुने विभिन्न सौन्दर्य प्रतियोगिता रियालिटी सोहरूमा कुशल निर्णायकको भूमिका निर्वाह गरिसकेका रञ्जन चन्द्र अधिकारी बहुप्रतिभाको धनी तथा बौद्धिक क्षेत्रमा अब्बल व्यक्तित्वको रूपमा चिर परिचित छन् ।

सम्बन्धित सामग्रीहरू