अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

अमेरिका नेपाल शिक्षा सदनको दोस्रो वार्षिक उत्सव सम्पन्न

विजय थापा २०७४ माघ २९ गते १७:५३ मा प्रकाशित

वासिङ्टन डिसी, अमेरिका नेपाल शिक्षा सदनको दोस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ । नेपालका हजुरबुबा हजुरआमा अमेरिका घुम्न आएका समयमा भाषाको कारण मौन बस्नु पर्ने अप्ठ्यारो अब टरेर गएको छ । कैयौँ नेपाली समुदायले घरमा सन्तान सँग नेपाली भाषामा नबोली दिँदा केही समयका लागि अमेरिका आएका पहिलो पुस्ताका मातापिता आफ्ना नातिनातिनीसंग अङ्ग्रेजी बोल्न असमर्थ भएका कारण समय अवधि भन्दा छिट्टै नेपाल फर्कने गरेका कैयौँ उदाहरण छन् l अब यो समस्याको समाधान बिस्तारै हट्दै गएको छ ।

यसको ज्वलन्त उदाहरण अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस सहरमा विगत दुई वर्ष देखि सञ्चालनमा आएको अमेरिका नेपाल शिक्षा सदन बनेको छ । अमेरिका नेपाल शिक्षा सदनले दोस्रो वार्षिक उत्सव विविध कार्यक्रम साथ भव्यताको साथ मनाउँदै यस पाठशालामा अध्ययनरत विद्यार्थीहरूको सहभागिता, क्रियाशीलता तथा नेपाली भाषाको प्रयोगले प्रमाणित गरी दिएको छ । दुई वर्ष सम्म अघि नेपालबाट आएका हजुरबुबा हजुरआमासंग नेपाली भाषामा बोल्न नसक्ने बालबालिका धाराप्रवाहसंग दोहोरो कुरा गर्न थालेका छन् । 

केही समयका लागि अमेरिका आएका ७० र ८० वर्षका उमेर कटेका हजुरबुबा तथा हजुरआमालाई ठुलो राहत भएको छ l अमेरिकामा जन्मेका नेपाली बालबालिकाहरूका हरेक हप्ता भाषा, संस्कृति तथा नेपाल परिचय सम्बन्धी मुख्य लक्ष्य लिएर स्थापना भएको उक्त नेपाली पाठशालाको औपचारिक रूपमा फेब्रुअरी ६, २०१६ देखि सञ्चालनमा आएको हो l

डिसी महानगर क्षेत्रको मनासस क्षेत्रमा स्थापित सक्रिय मुनाफारहित सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको शिक्षा सङ्कायको अमेरिका नेपाल शिक्षा सदनले पढाउने जिम्मेवार लिएको हो l कार्यक्रममा त्यही पाठशाला विद्यार्थीहरूले नेपाली भाषा सिकेर आफैले आफ्नो परिचय तथा मातापिताको परिचय सङ्क्षेपमा दिएका थिए l यसको साथै समारोहमा स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन समेत उनीहरूलाई जिम्मेवार लगाइएको थियो ।

दोस्रो वार्षिक उत्सवको सभापतित्व कमला खरेलले गरेकी थिइन् । ९६ वर्षीय उदय राज वस्ताकोटी लाई प्रमुख अतिथि बनाइएको थियो भने वहलाई खादा ओढाई सम्मान गरिएको थियो ।

समारोहमा नेपाली राष्ट्रिय गान सयौँ थुँगा फुलका हामी तथा अमेरिकन राष्ट्रिय गान सोही पाठशालामा अध्ययनरत विद्यार्थीहरूले गाएका थिए l कार्यक्रममा दोस्रो वार्षिक उत्सवका संयोजक तथा पाठशालाका शिक्षक रोम ज्ञवालीले पाठशाला बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए l समारोहमा विद्यार्थीहरूले नाचगान, तथा केही आफ्ना प्रतिभा देखाएका थिए ।

उक्त नेपाली पाठशालामा नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षकले अध्यापन गराई रहेका छन् भने नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षकहरू पनि रहेका छन् l

विद्यालयको लागि नेपालको सरकारी तथा निजी बिध्यालयका पाठ्यक्रमका पुस्तक तथा नेपालका युकेजी देखि ३ सम्म का पाठ्यक्रम अनुसार पढाई जारी रहेको छ ।

प्रतिक्रिया