अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

कोलोराडोमा एएनए सम्मेलनको उद्घाटन सहित मिसेस् एएनए २०२३ कार्यक्रमहरू सम्पन्न

विजय थापा २०८० असार १७ गते ११:०५ मा प्रकाशित

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यको डेनभरमा भई रहेको ४० औ एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए ) सम्मेलनको उद्घाटन सहित पहिलो दिन महिला कार्यक्रम, एएनएन नेपाल फोरम (मञ्च), अमेरिकी फोरम (मञ्च) एएनए २०२३ मिसेस् घोषणा लगायत कार्यक्रमहरू सम्पन्न भएको छ ।

आज जुलाई २ आइतबार अन्तिम दिन अन्य धेरै कार्यक्रमहरू हुनेछन् । गजल समारोह, फिरोज स्याङ्गदेन सङ्गीत टोलीको प्रस्तुती सहित साहित्य कार्यक्रमहरू समेत हुनेछन् । साथै आजै नयाँ कार्यकारी समितिको समेत नेतृत्वको घोषणा हुनेछ ।

समुद्घाटन कार्यक्रममा विशेष अतिथिहरूको रूपमा स्थानीय नगर प्रमुखहरू, विभिन्न पदमा निर्वाचित विदेशी पाहुनाहरू, विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरू, एएनएका पूर्व अध्यक्षहरू सहित थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सुरु हुनु अगाडी लाखे नाच, धिमे बाजा सहित झाकी प्रदर्शन सहित कार्यक्रममा स्थलमा पुगी विसर्जन गरेका थिए । केही समय मञ्चमा झाकी प्रदर्शन समेत गरिएको थियो ।

समुद्घाटन कार्यक्रममा एएनएका अध्यक्ष विजय राज भट्टराई, सम्मेलन संयोजक विनोद त्रिपाठी, अतिथिहरू पूर्व अध्यक्ष तथा भावी अध्यक्ष खगेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा दुवै राष्ट्रका राष्ट्रिय गान सहित पानसमा पूर्व अध्यक्षहरू हरि शर्मा लगायत वर्तमान अध्यक्ष विजय राज भट्टराईले उद्घाटन गरेका थिए । दिनभरि विभिन्न विषयमा फरक विषयमा कार्यक्रम सञ्चालन भएको थियो ।

नेपाल मञ्च, अमेरिकी मञ्च, महिला कार्यक्रम, नेपाली घरको प्रस्तुति लगायत कार्यक्रमहरू आयोजना गरिएका थिए ।

यस पटकको मूल नारा “नेपालीलाई सधैँ नेपाली नै हुन देऊ” भन्ने राखिएको छ । यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरू रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, नेपाली घर, अनेसास कोलोराडो शाखा, एनआरएनए कोलोराडो शाखा, कोलोराडो नेवा: खल: लगायतका संस्थाहरुसंगको सहकार्यमा यो सम्मेलन भई रहेको छ ।

कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नवीन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरी सह संयोजकको रूपमा टिका पौडेल, राजु सिटौला, जगदीश ढकाल, सरिता गुरुङ, आर सी पन्त, अर्जुन बगाले तथा भुसनलाल श्रेष्ठ रहेका छन् ।

live Video Link