अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

विश्व सांस्कृतिक उत्सव २०२३ मा नेपालको बेजोड प्रस्तुति

विजय थापा २०८० असोज १४ गते २१:३४ मा प्रकाशित

वासिङ्टन डिसी, अमेरिकाको राजधानी वासिङ्टन डिसीमा विश्व सांस्कृतिक उत्सव २०२३ मा नेपालले अत्यन्तै सक्रिय र उत्साहजनक रूपमा सहभागिता जनाउँदै बेजोड विभिन्न जात जातिका नृत्यहरू प्रस्तुत गर्न सफल भएको छ ।

अमेरिकाको राजधानीमा सेप्टेम्बर २९ देखि अक्टोबर १ आइतबार सम्म आयोजना भएको विश्व सांस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरूबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरू प्रस्तुति गरेका थिए ।

सेप्टेम्बर २९ देखि सुरु भएता पनि नेपालको पालो आइतबार अक्टोबर १ का दिन बिहान १० बजे १६५ जनाले विभिन्न जात जातिकाहरुको भेषभुषामा सामूहिक नृत्य ८ मिनेट भित्र आफ्नो बेजोड प्रस्तुति गरेका थिए ।

विश्व भरका विभिन्न संस्कृतिहरू बोकेका राष्ट्रहरूलाई एकै थलोमा जम्मा गरी एकै सूत्रमा बाँध्ने पहल आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यात्मिक गुरु श्री श्री रविशंकरले गरेका हुन् ।

आज नेपालको प्रस्तुति गर्ने पालो १० बजे परेको थियो । नेपालका उद्योगपति तथा सांसद विनोद चौधरीले नेपालको तर्फबाट नृत्य प्रस्तुति पछि मन्तव्य राखेका थिए ।

त्यस पछि नेपालको नृत्य सामूहिक रूप मै नेपालको पहिचान सहित पोसाकमा उत्रिएका विभिन्न जातजातिका समूहले नृत्य प्रस्तुत गरेका थिए । नेपालको नृत्य प्रस्तुति पछि विदेशी दर्शकहरूले नेपालको जात जातिकाका नृत्य र पोशाकको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

नेपाली नृत्य समूहमा रहेका १६५ जनाले करिब ८ मिनेट भित्र कुमारी नृत्य ,लाखे ,अष्ट मातृका ,नेवारी ,गुरुङ ,शेर्पा ,थारु ,तामाङ ,झाँक्री लगायत नृत्यहरू प्रस्तुत गरिएका थिए । सबै नृत्यका लागि ५ महिना सम्म अहोरात्र खटिएर १६५ जनालाई नृत्य तालिम दिने नृत्य निर्देशक यज्ञमान शाक्यले ८ मिनेट भित्रमा नेपालका सबै जातजातिका नृत्यलाई अद्वितीय रूपमा प्रस्तुति गराउँदै विश्व सामु चिनाउन सफल भएका छन् ।

यसको सबै चाँजो र तारतम्य मिलाउने जिम्मेवार नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनइसिसि)मेरिल्यान्डका अध्यक्ष सरोज देवी प्रजापतिले लिएकी थिइन् ।

उनको नेतृत्वमा ५ महिना सम्म अथक मेहनत गर्दै समन्वय गरी ऐतिहासिक कार्यक्रम गर्न सफल भएकी छिन । प्रजापतिले आफ्नो सामाजिक सञ्जालमा मेरो जीवनको असाधारण दिन भन्दै अत्यन्तै खुसी व्यक्त गरेकी छिन । यसमा जोडिने र विशेष सहयोग गर्ने प्रति धन्यवाद दिएकी छिन ।

यो बृहत् कार्यक्रममा नेपालको सहभागिता अपरिहार्यको महसुस गर्दै नेपाललाई सहभागिता गराउन पहल गर्ने नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेश बहादुर प्रधान तथा निभा माथेमा प्रधानले गरेका थिए । दुवै जना आर्ट अफ लिभिङको सक्रिय आजीवन सदस्यको साथै दया फाउन्डेसनमा पनि आबद्ध रहेका छन् ।

३ दिन चलेको उक्त विश्व सांस्कृतिक उत्सवमा १८० राष्ट्रहरूबाट १७,००० कलाकारहरू सम्मिलित भई ६१ वटा नृत्यहरू प्रस्तुत गरेका थिए । अमेरिकाको मेरिल्यान्ड राज्यमा बस्दै आएका नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण दिएका थिए ।

निभा माथेमा प्रधानले दिएको जानकारी अनुसार डिसी क्षेत्रमा हुने ’विश्व सांस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो। सन् २००६ मा बैंगलोरमा,दोस्रो संस्करण बर्लिनमा सन २०११ ,तेस्रो संस्करण २०१६ मा दिल्लीमा आयोजना गरिएको थियो ।

तस्बिरहरू : राजीव श्रेष्ठ तथा समृद्ध आर श्रेष्ठ (फोटो बैंक स्टुडियो )

प्रतिक्रिया