अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

परराष्ट्रमन्त्री साउद तथा अमेरिकी विदेशमन्त्री ब्लिन्केन बीच डिसीमा भेटवार्ता

विजय थापा २०८० कार्तिक १४ गते ९:५३ मा प्रकाशित

दुताबासमा परराष्ट्रमन्त्रीको सम्मानमा रात्रीभोज

वाशिंगटन, डी.सी., परराष्ट्रमन्त्री एन, पी. साउदले आज वाशिंगटन, डी.सी. स्थित डिपार्टमेन्ट अफ स्टेट(विदेश बिभाग)का अमेरिकी विदेश सचिव एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो । साथै द्विपक्षीय सम्बन्धमा साझा हितका विषय तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्नु भयो ।

भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा संलग्नतालाई विस्तार र प्रगाढ बनाउने प्रतिबद्धता नवीकरण गर्नु भएको थियो ।

नेपाल अतिकम विकसित मुलुकबाट क्रमस वृद्धि भएको सन्दर्भमा परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट व्यापार तथा लगानी, बजार पहुँच, कृषिको विकास, खाद्य सुरक्षा, विकास लगायत सूचना प्रविधि (आईटी) क्षेत्र र नयाँ प्रविधिका क्षेत्रमा थप सहयोग गर्न आह्वान गर्नु भयो ।

परराष्ट्रमन्त्रि साउदले नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम र जिएसपी सुविधाहरूको पुन: इजाजतर विस्तारका लागि संयुक्त राज्य अमेरिकालाई अनुरोध गर्नु भयो ।

मन्त्री साउदले युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसि )मार्फत हालै अमेरिकी सहयोग लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । दुवै पक्षले एमसिसि अन्तर्गतका परियोजनाहरूको पारस्परिक रुपमा कार्यान्वयनको महत्त्वमा जोड दिनु भएको थियो ।

प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै ब्लिन्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताउनु भयो । विदेश सचिव ब्लिन्केनले परराष्ट्रमन्त्रीलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो ।

मन्त्री साउदले सचिव ब्लिनकेनलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणा दिनु भयो । बैठकमा परराष्ट्रमन्त्रीले परराष्ट्र मन्त्रालयको अतिथि पुस्तकमा हस्ताक्षर गर्नु भयो ।

द्विपक्षीय भेटमा मन्त्री साउदका साथमा राजदूत श्रीधर खत्रीको साथमा दूतावासका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो भने सचिव ब्लिन्केनका साथ सहायक सचिव डोनाल्ड लु, राजदूत डीन थम्पसन र राज्य विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

लगत्तै साँझ राजदूत श्रीधर खत्रीलेले परराष्ट्रमन्त्रीको सम्मानमा उहाँको निवासमा ‘व्हाइट हाउस, विदेश बिभाग , युएसएआइडी र एमसीसीलगायतका अमेरिकी निकायका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा स्वागत समारोह आयोजना गरेको थियो । साथै कूटनीतिक बिशेष व्यक्तित्वहरुको साथै नेपाली समुदायहरुको पनि उपस्थिति रहेको थियो

परराष्ट्रमन्त्री द्विपक्षीय भ्रमणका लागि आज बिहान वासिङ्टन डिसी पुग्नुभएको थियो ।