अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

अमेरिकाको मेरिल्यान्डमा मन्दिर निर्माण गर्न भवन खरिद

विजय थापा २०७८ असोज २५ गते ८:०१ मा प्रकाशित

डिसी महानगर क्षेत्र । अमेरिकामा नेपाली समुदायको इतिहासमा सबै भन्दा पहिले सामुदायिक केन्द्रको जग्गा र सम्पत्ति जोड्ने इतिहास रचेको नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी )ले मेरिल्यान्डमा अर्को सम्पत्ति जोड्न सफल भएको छ ।

गत अक्टोबर ८ शुक्रवारका दिन मेरिल्यान्ड राज्यकै जर्मन टाउन (सहर)मा ठुलो भवन सहित करिब १७ एकड जमिन खरिद गरेको छ । नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी ) भवन तथा पशुपति बुद्ध मन्दिरमा अहिले पनि मेरिल्यान्डकै वेल्सभिलमा सञ्चालनमा छ । एनईसीसीले उक्त नयाँ सम्पत्तिलाई ८ लाख ७५ हजारमा खरिद गर्ने प्रस्ताव राखेको थियो । बेच्ने घर धनीले उक्त प्रस्ताव स्वीकार पनि गरेका थिए भने नगद दिने समयमा सम्झौता भन्दा २५ हजार घटाई दिएको कारण ८ लाख ५० हजार नगद बुझाइएको छ ।

गत अक्टोबर ८ कै दिन जग्गा नेपाल शिक्षा तथा संस्कृति केन्द्रको नाममा अमेरिकाको मालपोत कार्यालयले पारित(अर्थात् पास)गरी दिएको छ । एनइसीसीको नाममा नामसारी भई सकेको छ भने भोग चलन अब एनइसीसीले गर्ने छ । १६.८३ एकड जमिन अर्थात् १३३ रोपनी सम्पत्ति जोड्न एनइसीसी सफल भएको छ । उक्त जग्गा र सम्पत्तिसंग जोडिएका छेउछाउका घरहरूका बजार भाउ करिब १० लाख हाराहारीमा रहेको बुझिएको छ । यसमा एनइसीसी संस्थाका नेतृत्व वर्ग र यस परियोजनामा लागेका सम्पूर्णले केही सुलभ मूल्यमा घर र जग्गा प्राप्त गर्न सफल भएका छन् ।

वर्तमान सभापति सरोज देवी प्रजापतिका अनुसार यो सम्पत्ति खरिद गर्न गत मे १५ देखि संस्था लागेको बताइन । प्रजापतिले जुन ११ भन्दा अगाडी नै लगभग किन्ने तयारी स्वरूप धरौटी समेत बुझाइएको जानकारी गराइन । सभापति प्रजापतिका अनुसार गत अगस्त सम्म के के सुविधा पाउने, गर्न हुने र गर्न नहुने आदी इत्यादि बारेमा गहन अध्ययन र अनुसन्धान गरेको थियो । यी सबै कुराको शुभ सङ्केत प्राप्त गरे पछि मात्र एनइसीसीले हात हालेको हो ।

बेल्सभिल सम्पत्तिमा रहेका बुद्धको स्तूप ,डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका एक व्यक्तित्वले १० फिटको शिव मूर्ति प्रदान गर्ने प्रतिबद्धता जाहेर गरी सकेकोले उक्त मूर्ति सहित नयाँ सम्पत्तिमा ल्याइने छ ।

स्मरण रहोस्, नयाँ घर र जग्गा लिनु भन्दा अगाडी अरू जग्गा पनि हेरिएको तर एनइसीसीले आफ्नो मापदण्ड पुरा गरे पछि अनुसार मात्र जग्गा प्राप्त भएको हो ।

उक्त जग्गामा मन्दिर निर्माण गर्न काउन्टीको पुरातात्त्विक विभाग तथा काउन्टीसँग बुझेर मन्दिर बनाउन सकिने विषयमा छलफल गरिएको थियो । र ,मन्दिरको लागि उपयुक्त र निर्माण गर्न सकिने नियम अनुसार दिने सकिने भए पछि मात्र यो निर्णयमा पुगी जग्गा खरिद गरिएको हो ।

जग्गा आफ्नो नाममा पास (पारित)गर्न एनईसीसीका पूर्व सभापति कृष्ण निरौला ,निवर्तमान सभापति खिलेन्द्र न्यौपाने र संस्थाको जग्गा किन्न संस्थाको तर्फबाट बोर्ड अफ ट्रस्टीका सभापति खिलेन्द्र न्यौपाने र सभापति सरोज प्रजापतिले हस्ताक्षर गरेका थिए ।

धनीपूर्जा आफ्नो हातमा आइ सके पछि उक्त सम्पत्तिको हाताभित्र पूजा अर्चना र नरिवल फुटाइएको थियो । सानो कार्यक्रम समेत गरिएको थियो । अब जाडो महिनाको सुरुवात हुने हुनाले द्रुतगतिमा उक्त सम्पत्तिमा सर सफाइ अभियान सुरु गरी हाल्ने सभापति प्रजापतिले बताइन ।

यो परियोजनाका तथा मन्दिरका लागि नयाँ जमिन खरिद गर्ने कार्यमा प्रबन्ध निर्देशक अभियन्ता(ई)उमेश निरौला ,प्रज्वलन रेग्मी लगायतले अहोरात्र काम गरेका छन् । बेल्स्भिल स्थित सम्पत्ति अब बिस्तारै बिक्री गरी उतै लगानी गरिने र अन्ततोगत्वा जर्मन टाउन सहरमै नेपाल शिक्षा तथा संस्कृति केन्द्र(एनइसीसी)रहने छ ।

प्रतिक्रिया