अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 05:04

चाड

युवराज मैनाली २०८० मंसिर १५ गते ११:५६ मा प्रकाशित

लघुकथा

हिँड्दाहिँड्दै टक्क रोकियो आशामान । यताउति पुलुक्क हेर्‍यो । जता हेरे पनि हेराइको केन्द्रबिन्दु त्यही थियो । तर त्यो हेर्ने कसैलाई फुर्सद थिएन । हुनसक्छ आशामानको हेराइझैँ हेर्ने आँखा अरूको थिएन । यसैले देखेनन् । देख्ने आशामान मात्रै थियो । कसैले नदेखेको आशामानले देख्यो । हावा चलेको थियो । धुलोझैँ त्यो पनि उड्ला भन्ने डर पलायो । अनि असह्य भएर पाइला बढायो । हातमा रहेको ठुटो सल्कायो । ठुटो सल्काइमा दुइृ चार नजर परे । जसको नजर परे उसको मुहार मुस्कुरायो ! आशामानले जानीजानी सुरुक्क लाइटर झार्‍यो । लाइटर त्यही खस्यो जहाँ उसको आँखा गडेको थियो । उसले निहुरेर लाइटर टिप्यो । लाइटरसँगै एउटा छापा कागज पनि टाँसिएर आयो । आशामानले हडबडमा त्यसलाई पनि लाइटरसँगै जेबमा हाल्यो । अनि ऊ अगाडि अरू नबोलीकन फरक्क फर्केर आयो । गन्तव्य बदल्यो । छिँडीको अँध्यारोमा पुगेर उसले लाइटर बाल्यो । त्यो कागजलाई लाइटरको टर्चले केलाउदैं अलिक मुस्कुरायो ! अनि फेरि बाहिरतिरै पाइला बढायो । एउटा पसलमा आधाकिलो चामल अलिकति दाल किन्यो । डेरामा गएर स्वास्नीको अगाडि राखिदियो । त्यस दिन उसको परिवारमा दशैं नै फिर्‍यो ।