अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 13:41

लोभ !

युवराज मैनाली २०७९ असोज २३ गते २०:२६ मा प्रकाशित

लघुकथा
“म सयकडा तीनका दरले ब्याज दिन्छु। मलाई पैसा चाहिएको छ,दिनोस् है?” सन्तले अनुरोध गर्यो। “होइन,त्यत्रो ब्याज तिर्नु भयो भने तपाईं थला पर्नु हुन्छ, म सयकडा दुईका दररेटमा नै दिन्छु, हुन्न र?”रमेशको जवाफमा अलिकति भए पनि मानवीय पक्ष मिसियो।

“होइन, म ब्यापारमा लगाउने हो, यसबाट मलाई फाइदा नै हुन्छ। सबैलाई तीनमै दिएको छु, हजुरलाई पनि यति नै टक्य्राउँछु हुन्न र?” सन्तका आवाजमा जसरी भए पनि उसका मनमा बसेर धन पगाल्ने अर्थ ओर्लियो। “त्यसो भए त ठिकै छ” रमेशको खुशी नदेखिने गरी चुलिनु स्वभाविकै हो।

क्रम यही र मिजास उस्तै। सन्तले अफिसका धेरै सदस्यसित यसरी यही ब्याजदरमा पैसा चलायो। तीन महिनासम्म उसले कोशेली-फलफुलसमेत बोकेर सबैका घरमा पुर्यायो।

चार महिनापछि उसले सबैलाई उस्तै बेहोराका-“आफ्नो ब्यापार चौपट भएकाले अमेरिका गएको छु, श्रीमतीसँग कसैले पैसा अर्थात मैले लिएको ऋण मागेमा राम्रो हुने छैन। उसलाई थाहा पनि छैन” भन्ने कुरा खोलेर पठायो।

रमेश काम विशेषले पाटन-मङ्गल बजार घुम्दै थियो। अचानक सोच्दै नसोचेका सन्तसँग ठोक्किन पुग्यो। आश्चर्यचकित मुद्रामा “होइन सन्तजी! कता बेपत्ता?” मात्र के भनेको थियो। आवाज गर्ज्यो-“कहाँ कसलाई के भन्दै हुनु हुन्छ हो? को हो तपाईं? को हो सन्त भनेको ? जथाभावी पुरेत बन्ने?” सरासर आफ्नो बाटो लाग्यो।

मनमन रमेश आक्रोशित भयो तर उपाय के छ र? न कागज,न कुनै साछी दायाँबायाँका ।” हुन त यो साहुमारा,झुठको सुखा बारी सन्ते यही हो। लोभको लाभ, लाभको विलाप, यी यत्रो खा। ” उसका सारा छलका झट्का बुझेर चुपचाप रमेश आफ्नै घर पुगी आफैँलाई लोप्पा खुवाउँदै ओच्छ्यानमा पल्टियो…..पर्लक्क……।