अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 07:19

सर्को

युवराज मैनाली २०७९ असोज ९ गते १६:२२ मा प्रकाशित

लघुकथा

हामी भनेका त नेताका खुत्रुके पो रहेछौं । उनीहरुलाई चाहिए पछि टिप्यो खुत्रुक्क खसायो । उता छिमेकमा भाउ घटाउने होड, यता नाना निहुँ थापेर जोडाजोड । घनश्याम बाजे हत्तपत्त मुख चलाउँदैनन्, चलाएपछि तिखोरको भन्दा कम त हुँदै हुँदैन ।

घनश्याम बाजेको कुरामा आइतेले पनि थपि हाल्यो ‘हेर्नुस् न बाजे पैठारी घटाउने मितव्ययिताको कुरा एकातिर ठुलाबडा धमाधम शयरतिर । तौल घटेको चाउचाउको भाउ हेर्नुस्, बिस्कुटको दाउ हेर्नुस्, खाने तेलदेखि लिएर सवैथोक हर्लक्क नसकिने भो बाबै नसकिने भो !’ आइतेले पुर्पुरो ठटायो ।

श्यामलाल पनि हौसियो । ‘के गर्नु मंगले आफ्नै ढंगले न्याय महँगो, संस्थान हाम्रो लागि कब्रिस्तान, बाँकी के रह्यो ? जसले हामीलाई खुत्रुके बनाए तिनैलाई भोट दिएर आफूलाई लुत्रुके बन्नमा खप्पिस अनि तिनिहरु फुलौरा बनेर नफुले अरु के फुलुन् । लाखौं जनता ट्वाँ, दुईचार व्यापारी बोरा थाप्दै नेताहरुमा औंठा ठड्याउँदै याँ याँ रेटिरहेछन् ।’

खै के भनौं भन्दै घनश्याम बाजेले कस्सिएर चुरोटको सर्को ताने ।