अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

चेतन

युवराज मैनाली २०७९ भदौ १४ गते १०:३१ मा प्रकाशित

लघुकथा

‘अङ्गका अरू भागमा काउसो पसेमा त उपायलाग्गा जिब्रोमै काउसो पर्न गएमा केही लाग्दो रहेनछ बावै !’ नेताको भाषण सुनेर आएको सानुकान्छी ठुलीलाई बह पोख्दै थिई । ‘आम्मै ! गाली पनि कति निस्कन सकेको असती मोरोको । बाटो बनाउने चाँजोपाँजो मिलाएर अघि बढ्ने हर्के । त्यै हर्केलाई शोसक रे, सामन्ती रे । क्या अचम्मको कुरा । सबै गाउँल्या टाउको भकुण्डो पो ठान्दो रैछ । सहर पस्यो आफै आफूभन्दा ठुलाको पाउको भकुण्डो बनेर गुड्यो । …अहिले चुनाव आउन लाग्यो । गाउँ पसेर के के न गर्छु भन्ठान्या होला । अवत यिनलाई आधा भोट पनि हाल्नु हुँदैन, होइन त ठुली !’

‘ए मेरो जिब्रोमा पनि काउसै परेछ कि क्या हो ठुली म आफू मात्रै बर्वराइ रहेछु कसो ? बोल् न केही तँ पनि ।’ बल्ल ठुलीको बक फुट्यो हुन त हो, तर नेताले सिङ्गै एउटा हात्ती पटुकीमा घुसारिदिएका छन् ख्वै क्यागर्ने हो ? क्या गर्ने हो… जे होस् म पनि दिन्न यस्तालाई भोट ।