अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

नाफा

गोपीराम भण्डारी 'बटुवा' २०७८ फागुन २८ गते २०:१२ मा प्रकाशित

लघुकथा

आफ्नो नाम मात्र होइन पहिचान समेत बदली, ऊ विक्रमबाट बिक्कि बन्यो । एक दसकमा आर्थिक, सामाजिक हैसियत पनि स्थापित गर्‍यो । नेपाललाई विश्व समुदायमाझ चिनाउने र पर्यटकलाई घुमाउने गर्थ्यो । ट्रेकिङ गाइडको प्रगति देखेर जल्नेको शङ्ख्यापनि निकै थियो । लाहुरेगाँउमा घर ठडाएको विक्किका तीन सन्तान र श्रीमती सुख र खुसीका दिनहरू व्यतीत गरिरहेका थिए । रिस गर्नेको सङ्ख्या बढेपछि घर बेचेर बसाइ सर्ने निधो गर्‍यो । झिटी गुन्टो कस्यो। माल सामान कन्टेनरमा लोड गरी बालबच्चा सहित अगाडि सिटमा बसेर लाहुरे गाउँलाई उसले बाई बाइ गर्‍यो । फेवातालको किनार हुँदै गाडी अगाडि बढ्दै गर्दा ढिस्को सहित गर्ल्याम्म बाटो भास्सियर फेवा तालमा मिसियो ।

राम, राम ,राम भन्दै गाउँलेहरू घटना स्थलतिर दौडे । कन्टेनर तालको पिँधमा पुग्यो। डुङ्गा सहित प्रहरीहरू उद्धारमा खटिए तर जीवित निकाल्न सकेनन् । सातदिनकाे अथक प्रयासबाट चालक सहित पाँच वटा शव निकाले तर विक्किको शव भेटिएन । महिनौ, दिनसम्म पत्ता नलागेपछि गाँउलेहरूलेपनि बिर्सिए । प्रहरीले फाइल बन्द गर्‍यो ।

बाह्र वर्षपछि खोला फर्कियो । अनुहारमा उमेरका रेखा बदलेर उस्तै,उस्तै हराएको विक्कि जस्तै दुई सन्तान र श्रीमती सहित लाहुरेगाँउमा प्रवेश गर्‍यो । भुसको आगो सरी हल्ला फैलियो। हेर्नेहरूको भिड लाग्यो । तपाई विक्कि होइन ?उसकै मिल्ने साथी विजेन्द्रले सोध्यो । “हो म विक्कि हो ,चिनिनस् र” ? उसको कुरा नसिद्धिँदै विजेन्द्रले थप्यो । अनि त्यो घटना ? विक्किले जवाफमा भन्यो “हो म तालमा डुबेँ । गाडीको सिसा फोडेर बच्चा र परिवारलाई निकाल्न खोज्दै थिए । एउटा ठुलो माछाले मलाई सर्लक्क निल्यो । ट्रेकिङ गर्दाको नाइफ खल्तीमा हुनाले माछालाई चिरेर निक्लन सफल भए । मर्नु भन्दा बहुलाउनु निको, जन्मेदेखि को तागत लगाएर पौडँदै, पौडँदै किनारमा पुगेँ तर निक्लन नपाउँदै बेहोस भएछु ।

टाउको र शरीरमा लागेका गहिरा चोटका कारण होस खुल्न एक महिना लाग्यो । फर्केर आउँदा लास समेत सदगद गरी सकेछन् । मैले आत्महत्या गर्न तम्सिएको थिए । मलाई ताल किनारबाट उठाएर अस्पताल पुर्‍याउने सुन्दरीले मेरो जीवन मागिन् । मैले प्राप्त गरेको नाफाको जीवन उनलाई समर्पण गरे । उनले मलाई यी ! दुई सन्तान उपहार दिइन” भन्दै बच्चाको टाउको मुसार्‍यो र लामो श्वास फेर्‍यो । “अतीतलाई भुल्न कहाँ सकिँदो रहेछ र ! मलाई छोडेका ती आत्मालाई फूल चढाउन आज यो गाउँ फर्केर आए” । गहभरि आँसु पारेर सुक्क सुक्क गर्दै घोप्टो पर्याे । उसलाई हेर्न आएकाहरूका पनि गहभरि आँसु थिए । ती आँसु हर्षका हुन वा दुःखका खै ! बुझ्नै सकिएन ।

प्रतिक्रिया