अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

वारिस

गोपीराम भण्डारी 'बटुवा' २०८० कार्तिक ३० गते १६:०८ मा प्रकाशित

सडक किनारमा मान्छेको ठुलै भिड थियो ।मजदुरीको लागि सडकमा निक्लिएको जयन्ते पनि भिडमा मिसियो ।भिडकाे बिचमा एउटा मृत मानिस लडिरहेको देख्यो । मृतकको छेउमै बसेका दुई जना मध्येको एक पुलिसले मुचुल्का लेखिरहेको थियो । उभिएको पुलिसले वाक्की ट्वाकीमा भन्यो–“सर बेवारिसे,अन्दाजी दस,एघार वर्षको पुरुष ।”

जयन्तेले उभिएकाहरूसँग जिज्ञासा राख्यो “के भएछ ?” उभिएका मध्येको एउटा मान्छेले भन्यो–“के हुनु नि ओभर डोज भयो अनि गयो । अलिअलि पैसा भयो कि डोज दिइहाल्छन् ।” जयन्तेले नियालेर हेर्याे । मृतक दश एघार बर्से केटो थियो । मुकुन्देले भन्यो “ऐ त्यो बच्चो हिजो बेलुका मलाई होटेलसम्म जाने हो दाइ भनेर सोध्ने फुच्चे पाे रहेछ !” पुलिसले पुलुक्क जयन्तेको मुख तिर हेर्‍यो । पुलिसको बयानमा हनेटलवालाले भन्दै थियो–“मैले चिन्दिन तर एक वर्षदेखि मेरो हाेटलमा ग्राहक ल्याउँथ्यो । मैले प्रत्येक ग्राहकको पचास रूपैँया दिन्थेँ । त्यो भन्दा अरू मलाई थाहा छैन । त्यो बेवारिसे नै हो।”

जयन्ते रिसाउँदै भन्यो ,”हिजोसम्मकाे तिम्रो कर्मचारी आज बेवारिसे बन्यो? । थुक्क ! मानवता हीन मुन्छे ! हुनत, समाजनै आफै बेवारिसे बनिरहेको छ ! तमी, हामी खाेष्टा मुन्छेका के कुरा !”

पुलिसले जयन्तेको मुखमा हेर्दै प्रश्न गर्याे,”तपाईं यसलाई चिन्नुहुन्छ? मुकुन्देले भन्यो,”हो म चिन्दछु यो मुन्छेकाे बच्चा हो । यो समाजको कुलतले मारेको बच्चा । सहरले बेवारिसे बनाएको बच्चा ।” पुलिसले भन्यो,”के हो तपाईं उल्टा सिधा कुरा गर्ने “?उसले शालीन भएर भन्यो,”समाज उल्टो दिशामा हिँड्या देख्नुभएन ! म बोल्या सुन्नुभयो है ? छाडिदिनुस् कुरा , मिल्छ भने मलाई जिम्मा दिनुस्। म वारिस वन्छु मृतकको”। पुलिसले भन्यो,”प्रक्रिया पुराएर लैजानुहाेस ।”
मुकुन्देले भन्यो ,”गाउँमा त यस्तो हुँदैनथ्याे? कस्तो प्राण भर्ने प्रकृया, मृत समाजको?”

प्रहरीले नबोलेर कागज लेखिरह्यो । मृत प्रकृयाले प्रकृयाकाे मृत प्रकृति खोज्दै थियो जहाँ मानवता कात्रोमा लुकाइएको थियो ।