अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

भाइरल प्रतियोगिता

गोपीराम भण्डारी 'बटुवा' २०८० असार ३ गते २१:०६ मा प्रकाशित

रमेशले आफ्नो सिर्जना सामाजिक सञ्जालमा प्रतियोगिताको लागि सम्प्रेषण गर्‍यो । उसले प्रतियोगितामा रचना पठाउनु अघि प्रथमलाई पच्चिस हजार द्धितियलाई पन्ध्र हजार र तृतीयलाई दस हजार र दुई जनालाई सान्त्वना स्वरूप पाँच पाँच हजार सहित प्रमाणपत्र र सम्मान गरिने सूचना पढेको थियो । रमेश जस्तै उक्त कार्यक्रममा सयौँ स्रष्टाले आफ्नो उत्कृष्ट रचानाहरु प्रेषण गरेका थिए ।

करिब एकबर्षसम्म निकट भविष्यमा नतिजा सार्वजनिक हुने भन्दै आयोजकले सूचना प्रवाह गरिरह्यो । हरेक स्रष्टा आफू उत्कृष्ट हुने आशा गर्नु स्वभाविक नै थियो । लामो समयको पर्खाई पछि एक दिन आयोजकको आधिकारिक पेज मार्फत, “प्रतियोगिताका सम्पूर्ण सूचना हराएको सूचना”सम्प्रेषण भयो । आफ्ना सुन्दर सिर्जना पठाएका स्रष्टाहरूले उत्सुकताका साथ सामाजिक सञ्जालको लिङ्क खोले । रमेशले पनि अरूले जस्तै सञ्जालको लिङ्क उत्सुकताकासाथ खोल्यो । उनीहरूले खोलेको लिङ्कमा नग्न तस्बिर र भिडियो मात्र थियो ।

उनीहरू आश्चर्यमा परे । उनीहरूलाई लाग्यो यो गलत लिङ्क खुल्यो होला ! रमेशले तत्काल लिङ्क बन्द गर्‍यो । उसले पुनः आधिकारिक लिङ्क खोल्यो । उनीहरूले जति पटक लिङ्क खोले, उति नै पटक बारम्बार उस्तै अश्लील तस्बिर र विचित्रका भिडियो देखियो ।

जो जसले त्यो लिङ्क खोले त्यो अटोमेटिक उनीहरूको अकाउन्टबाट पोस्ट र सेयर पनि भयो । एक दिनमै प्रतियोगितामा सहभागी सबै स्रष्टा अश्लील चित्र द्रष्टाकारुपमा भाइरल भए । उनीहरूलाई समाजमा मुख देखाउन अप्ठ्यारो परेपछि सम्पूर्ण स्रष्टाहरू जाहेरी दरखास्त लिएर प्रहरी कार्यालयमा पुगे ।

उनीहरूको जाहेरीमा लेखिएको थियो, “भाइरल प्रतियोगिता छानबिन गरी दोषीउपर कारबाही गरिपाऊँ ।”