अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

भरोसाको त्यान्द्रो

गोपीराम भण्डारी 'बटुवा' २०८० मंसिर २६ गते १७:१९ मा प्रकाशित

जिन्दगीका सपनाहरूको हिसाब किताब नमिलेपछि उसले सपना खोज्न छोडेको थियो । केवल निद्रा खोज्न सडकमा भाैतारिएर बर्षाै व्यतीत गर्याे। भोक प्यास अभाव र अपहेलनासंग मितेरी लगाउँदै कुनै दिन निद्रा र झुटो सपना पुरा हुने आशामा श्वास चलाइरहेको थियो ।

आकाशको बादल हेरी उसले अतीत सम्झन्छ । व्यवस्था परिवर्तनका आन्दोलनमा सत्तालाई ढुंगाहान्ने ऊ पहिलो पंक्तिकाे व्यक्ति थियो । उसैले ल्याएको सु-व्यवस्था र शान्तिले दशकाैँ बिताइसकेको थियो । दशकाैँ बितिसक्दापनि उसले बुनेका सपनाको हिसाब मिलेको थिएन। जोड,घटाउ,गुणा केही,कतै मिलेको थिएन । हिसाब गर्ने क्यालकुलेटर बिग्रेकाले हो वा किन हो भाग चाहिँ मिल्दोजुल्दो देखिन्थ्यो तर ऊ जोड,घटाउमै हराएको थियो ।

उसको दैनिकीमा कुनै तालमेल थिएन । सपना पुरा हुने आशामा निरन्तर भाैतारिएकाे क्रान्तिकारी ऊ मन्दिर अगाडि घुँडा टेक्यो । जम्लाहात जोडेर निर्जीव मन्दिरसँगै संवाद गर्न खोज्दै थियो । सत्ताको बाग्डाेर सम्हालेका आन्दोलनको सहयात्री विशिष्ट व्यक्तिकाे आगमन भयो। उसले सहयात्रीलाई चिन्यो तर विशिष्टले चिनेनन् । हुनसक्छ उनेले उसलाई नचिनेको जस्तो गरे ।

खै किन, किन उनले उसको नजिकै गएर भने, “गरिब,बेसहारा, दुःखीलाई खाना र छाना अभाव हुनेछैन ।” उनेले कारिन्दालाई आदेश दिँदै भने,”उहाँकाे लागि तुरुन्तै व्यवस्थापन मिलाईदिनुहाेस ।” कारिन्दाले भने,”हस् हजुर !”

बर्षाै आशामा बाँचेको ऊ यस पटक भरोसा गर्याे । किनकि संगैढुङ्गा हानेकाहरू सत्ता र पहुँचमा थिए ।

उनीहरू मन्दिरबाट फर्किए । ऊ निरन्तर उनीहरूको भरोसालाई कुरिरह्यो । उसले उनीहरूको बाटो हेर्दाहेर्दै थाक्यो । ऊ भित्रभित्रै पाक्यो ।‌ ऊ थाकेर गल्यो अनि गर्ल्याम्म ढल्यो । आगो बालेर कुर्दाकुर्दै आगो निभ्यो तर भरोसा फर्किएन । उसले अंगारले मन्दिरको भित्तामा लेख्यो । भरोसाको त्यान्द्रो ज्याद्रो हुँदो रहेछ । यो चुँडिँदैन रहेछ ! चुँडाउँदा रहेछ । तपाइको साइत कुर्न सकिन । माफगर्नुहाेला यस पटक म चुँडिएँ। अबको पालो •••! ऊ मन्दिर बाहिर ढुंगा भएर लडिरहेको थियो ।