अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

पल र समीक्षामा को दोषी ?

रामभक्त राई २०७८ फागुन २१ गते १६:५० मा प्रकाशित

सर्वप्रथम त पल र समीक्षा कोहीसँग पनि मेरो कुनै चिनजान रिस राग समर्थन अनि कुनै लिनु दिनु छैन । र मेरो लेख कसैलाई होच्याउन, पछार्न अनि उचाल्न पनि हैन । मैले लेख्ने सबै कुराहरू सकेसम्म मानवताको कुनाबाट मैले बुझेको देखेको समाजको दृष्टिकोणलाई चित्रण गर्ने एक जमर्को हो । त्यो भन्दा अगाडी मेरो यी दुई जनाको नै कलाकारिता प्रति सम्मान छ तथापि हिजोको उनीहरूको योगदानलाई हेरेर आजको अपराध लुकाउन अनेक प्रपञ्च नरचियोस् ।

पहिलो कुरा समीक्षाको बारेमा गरौँ । उनी कानुनको दायरामा नाबालिग भएको पुस्टी भैसकेको अवस्थामा उनको संरक्षण संवर्द्धन अनि अभिभावकत्व निभाउनु पर्ने यो समाज आज उनैको चरित्रमाथि दरो दरो प्रश्न खडा गरिरहेछ । कोही भन्छन् किन चुक्कुल नलगाई सुतिस् ? म यो भन्छु कि चुक्कुल नलगाएर कोठामा सुत्नु मात्र हैन सडकमा सुते पनि कसैको अनुमति बिना कसैले केही गर्न मिल्दैन । तेरो प्रमाण खै भनेर सोध्छन् । अब प्रस्टसँग पल साहको म्यानेजर कृष्ण जोशीले दिएको अन्तर्वार्ताबाट अनि पल साहको अडियो बाट प्रस्ट हुन्छ कि पल साह र समीक्षा बिचमा सहवास भएको प्रस्ट देखिन्छ । अनि नेपालको कानुन अनुसार अठार वर्ष भन्दा मुनिका कोहीसँग यौन सम्बन्ध भयो भने त्यो वयस्कले स्वतः बलात्कार गरेको ठहर्छ । अब के हामीले नेपालको कानुनलाई अरूको लागी मात्रै आफ्नोहरूको निम्ति लागु गर्नै नहुने हो ? विदेश एक्लै जान सक्ने अनि जीवनको निर्णय लिन नसक्ने ? विदेश जाँदा त्यो टिमको अभिभावकत्व भित्र रहेर गएको हुनु पर्छ । अवश्य पनि उनी कतै एक्लै बिदेश गएको कोही सङ्ग कुनै पुष्टि छैन । भन्छन् किन एक वर्षसम्म चुप लागेर बसिस् ? वास्तवमा भन्ने हो भन्ने एक वर्षसम्म कसरी सहन सक्यौ तिमिले नानी ? तिमिले धेरै चोट सहेछौ हामी साथ दिन्छु भन्नु पर्ने हो यो समाज । अरूसँग पनि सुतिस भन्छन् मान्छेहरू तर त्यो नाबालिकालाइ ललाइ फकाइ गर्नेलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने यो समाज । उल्टै अब कानुन बदल्ने कुरा गर्छन् एक पिडक बचाएर हजार पिडक जन्माउनलाई ।

एक पीडितको आवाज बन्द गरेर लाखौँ पीडितको आवाज बन्द गर्नलाई । हामीले सोच्नु पर्ने कुरा के हो भने के हामीले निर्माण गर्दै गरेको समाजमा हामी आरामले जिउन सक्छौ ? के हामीले गरेको आजको त्यो बहसमा पछि हाम्रा सन्तति गर्व गर्न सक्छ ? हामीले गरेका ती गाली गलौजहरु पारिवारिक माहौलमा जायज छन् ? हजार प्रश्न भित्रका केही प्रश्न हुन यी । अवश्य पनि किशोरावस्थामा मनहरू चञ्चल हुन्छन्, अस्थिर हुन्छन्, निर्णय लिन सक्दैनन्, जोसमा होस गुमाउँछन् तै भएर त नाबालक नाबालिग भनेर भनिछन् नत्र किन नाबालिक अनि वयस्क भनेर वर्गीकरण गरिनु पर्थ्यो । ती चञ्चल मनहरूको कोमल मनहरूको मार्ग निर्देशन गर्नु पर्ने प्रत्येक वयस्कको एक धर्म हो । खै यहा त्यो धर्म अनि कर्म ?

पल साहको बारेमा अखबारहरूबाट बुझे अनुसार सारै लोकप्रिय कलाकार, नायक, मनका धनी, समाजसेवी, व्यक्तित्वका धनी, गल्ती गर्दै नगर्नु पर्ने मान्छे तर हजारौँ मान्छेहरूमा उनको कुनै खोट नहुँदैमा उनको खोट हजारौँ पछिको अर्को पात्रसँग पनि हुँदैन भन्ने हुँदैन । हिजो उनले जे जति काम गरे त्यसको निम्ति उनलाई सम्मान गर्नै पर्छ तर त्यो हिजोको उनको लोकप्रियतालाई लिएर आजको उनको अपराध क्षम्य हुनुहुँदैन किनकि यो सम्पूर्ण नेपालीहरूको लागि महत्त्वपूर्ण पाठ हो, जीवन जिउनको निम्ति, समाजमा एक अर्काको अस्तित्व स्विकार्नको निम्ति अनि सानो ठुलो सबै बराबर हो कानुनको अगाडि भनेर पुष्टि गर्नको निम्ति । भलै उनले आफूलाई प्रहरीको अगाडि, कानुनको अगाडि आफूलाई आत्मसमर्पण गरी गल्ती भए सजाए भोग्न तयार छु भनी गएको बेला अदालतले दोषी नठहरेसम्म कुनै नराम्रो नामले पुकार्न पनि न्याय सङ्गत हुँदैन । तथापि उनको लोकप्रियताले उनले गरेको कुनै आपराधिक क्रियाकलाप भएमा ढाक छोप नहोस् किन कि अपराधको ढाक छोप हुनु भनेको निर्दोष व्यक्तिको हत्या हुनु सरह हो । अवश्य पनि यदि वादिले बिना कारण आक्षेप लगाएको पुष्टि भएमा उनी माथि पनि कार्वाहि हुनु पर्छ । जे होस न्याय बचोस् ।

अब अन्य केही सेलिबृटिहरुको, समाजसेवीहरू र अधिकारकर्मिहरुको बारेमा कुरा गरौँ । लाग्छ उनीहरू नै हो देशको कानुन, उनीहरू नै हो देशको संविधान, उनीहरू नै हो सर्वेसर्वा, उनीहरूले बोले बाहेक अर्को कुनै सत्य छैन । उनीहरूलाई लाग्दछ देशको कानुन, अनुसन्धान, उनीहरूले सृजना गरेको जुलुसमा, होहल्लामा, तोडफोडमा नियन्त्रित छ, जुन नेपाली समाजको निम्ति बहुत गह्रुँगो भारी बन्नेछ यदि त्यो हुन गएमा, बिसाउनै नमिल्ने भारी बनी । उनीहरू वास्तवमा सत्यको कुनै छेउमा बसेर केही पनि बोलेको छैन, लाग्दछ उनीहरूलाई युट्युबमा अनुहार देखाउनु छ, केवल उनीहरूलाई अर्काको दर्दमा आफ्नो दम्भ देखाउनु छ, भिडमा आफ्नो उपस्थिति देखाउनु छ । उनीहरू यदि साच्चिकै बुद्धिजिबी समाजसेवी सेलिब्रेटी भए त न्यायालयलाई न्याय दिन सघाउन पर्ने हैन र ? पीडितले न्याय पाओस् भन्नु पर्ने हैन र ? भोलि जो कोही पनि पीडित हुन सक्छ नि हैन र ? यो भिडभाड गरेर गाली गलौच गर्ने टोलीले के समीक्षाले आत्महत्या गर्‍यो भने हत्याराको, दुरुत्साहनको निम्ति जेल जान तयार छ ? यो टोलीको बुद्धि फिरोस्, कुबुद्धि हटोस् अनि सदबुद्दि आओस् । जो पिडक छ उसलाई कार्वाइ होस अनि पीडितले न्याय पाओस् ।

सम्पूर्ण नेपालीलाई म के भन्छु भने सत्य तपाइलाई थाहा छैन सत्य के हो भनेर मात्र ती दुइजनालाइ थाहा छ कि त, उनीहरूको योजना-छलफल गर्ने टोलीलाई थाहा छ तर उनीहरूले नै तपाइ हामी सबैलाई विभिन्न जालझेल गरेर अँध्यारोमा राख्न खोजेको यो अवस्था छ । त्यो अध्यारोलाइ चिरेर चिरफार गरेर अदालत प्रहरीले तपाइ हामी सामु नआए सम्म ती नाबालिकालाइ कुनै जीवन जिउन नसक्ने वातावरण सृजना नगरौँ । अनि त्यतिन्जेल सम्मलाई पललाई पनि गाली नगरौँ । यो मुद्दालाई निष्पक्ष छानबिन हुने वातावरण सृजना गरौँ । किन कि हाम्रो कर्तव्य भनेको हामीले रमेर हाँसेर नाचेर आनन्दले बस्न मिल्ने समाजको सृजना गर्नु हो, त्यस्तो आदर्श समाजको निर्माणमा तपाइ हामी सबै जुटौँ । अहिले नै हामीले घोषणा नगरौँ कि पल समीक्षा या को दोषी ?