अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

बलवानहरूको मात्र देश हो, नेपाल ?

रामभक्त राई २०७८ फागुन १८ गते २२:२५ मा प्रकाशित

हेर्दा हेर्दै, देख्दा देख्दै, भोग्दा भोग्दै खै कसरी कसरी बदलियो, मेरो देश नेपाल । कानुन छ तर कानुन छैन । के छ तर के छैन । खल्लो बन्दै गइरहेछ मेरो देश नेपाल । यहाँ पहिले टोले गुन्डाहरू मात्रै थिए तर यहाँ आज पाइला पाइलामा धेरै गुन्डाहरू जन्मिए, गुन्डा नियन्त्रणको नाममा, चोर बलात्कारी, भ्रस्ट्र, दलाल नियन्त्रणको नाममा धेरै मतिहारहरु निस्किए, फटाहाहरू निस्किए अब ढिलो हुनै लागिसक्यो यसलाई सही तरिकाले सही बाटोमा ल्याउनलाई तसर्थ सम्बन्धीत् निकाय अनि सम्पूर्ण नागरिकले बुद्धिमानी तरिकाले पाइला चाल्नु आजको जल्दो बल्दो चुनौती भएको म ठहर गर्दछु ।

जे होस सबै ठाउँमा सबै देशमा अवश्य पनि धनी व्यक्ति नामी व्यक्तिहरूलाई धेरै नै सुविधा हुने कुरामा दुई मत छैन तर कानुनको नजरमा सबै व्यक्ति बराबर किसिमले हेरिनु अति आवश्यक छ । यदि कानुनमा सबैलाई समानता भएन भने समानताको निम्ति आवाज उठाउने कर्तव्य हो, नागरिकको, बुद्धिजीवीको, पत्रकारको, सेलेब्रिटिको, नेता कार्यकर्ताहरूको । कानुनलाई स्वतन्त्र ढङ्गबाट आफ्नो कर्तव्य काम गर्न दिनु यी माथि उल्लेखित सबैको धर्म हो । तर नेपालमा ठिक यसको उल्टो भईरहेको छ, लगातार लगातार कहिले नेताको नाममा, कहिले पत्रकारको नाममा त कहिले कलाकारको अनि कहिले कसको समर्थनको नाममा न्यायलाई ज्युँदै मारिरहेको छ नेपालमा । आज यस्तो हुँदैछ तिम्रो नाम र दाम छ भने नेपालमा सजाएको भागीदार हुन पर्दैन, जुन आजको आधुनिक नेपालको निम्ति दुर्भाग्य हो । कहिले बलात्कारको, कहिले दुरुत्साहनको, कहिले हत्याको, कहिले भ्रस्ट्रचारको नाममा परेकाहरूलाई सम्पूर्ण सक्ती अनि समुदाय अनि जनता लागेर हाइ हाइ अनि जिन्दाबाद भनेर लागिरहने हो भने भोलि आफू माथि अन्याय हुँदा न्याय खोज्न न्यायालय जाने कि नजाने ? कहिले सम्म आफै न्यायाधीश बन्ने हो ?

के नेपालमा अब सर्वसाधारणले बाँच्न नपाउने हो ? आफू माथि भएको अन्याएको निम्ति उजुर गर्न नपाउने हो ? के अब नेपालमा बाच्नलाई पत्रकार, गुन्डा, नेता, कलाकार, सेलेब्रिटी हुनै पर्ने हो ? अबको सर्वसाधारणको जिन्दगी के कस्तो हुन गइरहेको छ, नेपालमा ? यी यस्ता धेरै प्रश्नहरू खडा भएको छ केही वर्षदेखि आजसम्म नेपालमा भईरहेको घटनाहरुलाई नियालेर हेर्दा । यहाँ धेरै मान्छेहरू पीडित भन्दा पनि न्यायभन्दा पनि फाइदा प्रलोभन लोकप्रियता भाइरल हुनलाई जबर्जस्ती नबुझीकनै विभिन्न नराम्रा कुकृत्य गर्ने व्यक्तिहरूलाई सपोर्ट गरेको देख्दा लाग्छ, नेपाल बलवानहरूको मात्रै देश हो। के सच्ची नै नेपाल बलवानहरूको मात्रै देश हो त ?

सबै मिलेर सबैलाई बाच्ने वातबरण बनाऊ, किनकि यो बिचार गर तिमी भन्दा पनि अर्को बलियो भोलि जन्मन सक्छ किन कि समय यस्तो भेल हो जसलाई कसैले रोकेर रोक्न सक्दैन तसर्थ ढिलो नगरी सबै जना न्यायालयलाई सम्मान गर, पिडक पिडाक हो, अपराधी अपराधी हो, बदमास बदमास हो, उ देशको गहना हुन सक्दैन यु समाजको भविष्य हुन सक्दैन, उ समुदायको अनुहार हुन सक्दैन । आजको क्षण हैन भोलिको सयौँ सन्ततिको लागि सोचेर सदा न्यायलाई साथ दिऊ ।