अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

एनआरएनए नयाँ कार्यसमितिद्वारा शपथ ग्रहण

बिआरटिनेपाल संवाददाता, न्यु योर्क । २०७८ असार २० गते ८:०० मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ अमेरिका (एनआरएनए) को नयाँ कार्यसमितिले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । एनआरएनए अमेरिकाको न्युयोर्कमा जारी १० औँ अधिवेशनमा नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको हो ।

एनआरएनए प्रमुख निर्वाचन आयुक्त विश्व बरालले नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदीलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ ग्रहणमा एनआरएनए आइसिसीका पदाधिकारी निर्वाचन आयुक्तहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र एनआरएनए अमेरिकाका सदस्यको उपस्थिति थियो ।

आफूले प्रमुख निर्वाचन आयुक्तबाट शपथ ग्रहण पछि अध्यक्ष बुद्धि सुवेदीले नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारी र सदस्यलाई शपथ ग्रहण गराए । कार्यक्रममा न्यु योर्क आइपुगेका विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यलाई पनि शपथग्रहण गराइएको थियो ।
पद तथा गोपनीयताको शपथ ग्रहणका सम्बन्धमा कार्यक्रम स्थलमा विवाद भएको थियो । त्यसले कार्यक्रम केही समय प्रभावित बनेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका राजदूत युवराज खतिवडाले एनआरएनएको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । उनले एनआरएनएले गरेका विभिन्न कार्यक्रमको सरहाना गरे । ‘तपाइहरूले व्यक्ति र सामूहिक रूपमा नेपालमा लगानी गर्नु भएको छ, सामूहिक लगानी कोषमार्फत लगानी गर्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘लगानीको राम्रो वातावरण बनाउन तपाइहरूको योगदान छ ।’

कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष बद्री के सी, अर्का उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, आरसी राजन त्रिपाठी, पूर्व अध्यक्ष तथा चिफ प्याटर्न डाक्टर केशव पौडेल, पूर्व अध्यक्ष खगेन्द्र जी सी लगायतले मन्तव्य राखेका थिए ।