अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

अमेरिकाबाट विदेशी विद्यार्थी फर्काइने

बिआरटिनेपाल संवाददाता, न्यु योर्क । २०७७ असार २३ गते १७:४७ मा प्रकाशित

अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थी फर्काइने भएको छ । अध्ययन गरिरहेको युनिभर्सिटी पूर्ण रूपमा अनलाइन अध्यापनमा गए उनीहरूले अमेरिका छोड्नुपर्ने इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) ले सोमबार घोषणा गरेको छ । देश नफर्कने विद्यार्थीलाई डिपोर्ट गरिने आइसिईको भनाइ छ ।

यो कदमबाट अध्ययनका लागि अमेरिकामा रहेका हजारौँ विद्यार्थी प्रभावित हुनेछन् । अमेरिकामा उच्च शिक्षा अध्ययन र विभिन्न प्रशिक्षण लिन विभिन्न देशबाट विद्यार्थी आउने गरेका छन् ।

कोरोना भाइरस महामारीका कारण अमेरिकाका विश्वविद्यालयहरू अनलाई कक्षा सञ्चालनको विकल्पमा गइरहेका छन् । उदाहरणका लागि हावार्ड विश्वविद्यालयले आफ्नो होस्टेलमा बसिरहेका विद्यार्थी सहित सबैका लागि अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ । आइसिईको पछिल्लो कदमले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई अमेरिका छोड्न बाध्य बनाउन सक्छ ।

‘अनिश्चितताको बादल मडारिएको छ । यो ज्यादै निराशाजनक कुरा हो,’ हावार्ड केनडि स्कुल अफ गभर्मेन्टमा अध्ययनरत भलेरिया मेनिडयोला, २६, ले भनिन्, ‘मलाई मेक्सिको फर्कन समस्या छैन । तर, मजस्ता धेरै विद्यार्थी आफ्नो देश फर्किन सक्दैनन् ।’

आइसिइले निश्चित भिसा भएका विद्यार्थीले पुरा कक्षा अनलाइनमा नलिने हो भने अमेरिका रहन सक्ने बताएको छ । ‘पूर्ण रूपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका शैक्षिक संस्थामा अध्ययन गर्नका लागि युएस डिपार्टमेन्ट अफ स्टेटले विद्यार्थी भिसा जारी गर्दैन । साथै, युएस कस्टम्स एण्ड बोर्डर प्रोटेक्सनले उनीहरूलाई अमेरिका प्रवेश गर्न दिँदैन । ’

आइसिईले विदेशी विद्यार्थीहरूलाई आधा अध्यापन अनलाइनबाट गराउने र आधा विद्यालयमै पढाउने शैक्षिक संस्थामा ट्रान्स्फर हुनेजस्ता विकल्प अपनाउन भनेको छ । अमेरिकन काउन्सिल अन एजुकेसनका भाइस प्रेसिडेन्ट ब्राड फार्नस्वर्थले आइसिईको घोषणाबाट आफू र धेरै मानिस आश्चर्यमा परेको बताए । ‘यसले अनिश्चितता थपेको छ,’ उनले भने, ‘विभिन्न विकल्प खोजिरहेकामा प्रशंसा पाउनुपर्ने हाम्रो अपेक्षा थियो ।’