अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

यसै सातादेखि राहत चेक पाउन सक्ने

बिआरटिनेपाल संवाददाता, न्यु योर्क । २०७७ फागुन २९ गते ९:२७ मा प्रकाशित

ह्वाइट हाउस सेक्रेटरी जेन साकीले केही करदाताले छिटोमा यही सप्ताहन्तदेखि राहत चेक पाउन सक्ने बताए । उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

राहत चेक १ दशमलव ९ ट्रिलियन डलरको अमेरिकन रेस्क्यू प्लान (एआरपी) अन्तर्गत प्राप्त हुन लागेको हो जसलाई राष्ट्रपति जो बाइडेनले बिहीबारै हस्ताक्षर गरी कानुन बनाइदिएका छन् । कोरोना भाइरसको महामारीबाट राहत दिन ल्याइएको उक्त एआरपीले अनइम्प्लोइमेन्ट इन्सुरेन्स बेनेफिटको अवधि पनि लम्ब्याइदिएको छ । साथै, एआरपीमा चाइल्ड ट्याक्स क्रेडिट लगायतका थुप्रै उदार व्यवस्था छ ।

इन्टरनल रेभेन्यू सर्भिसले करदाताको खातामा राहत चेक बापतको रकम सोझै जम्मा गरिदिने छ । इन्टरनल रेभेन्युसँग ब्याङ्कसम्बन्धी विवरण भएका अमेरिकीले सबैभन्दा पहिला राहत चेक प्राप्त गर्नेछन् । इन्टरनल रेभेन्युसँग ब्याङ्कसम्बन्धी विवरण नभएका अमेरिकीले भने राहत चेकका लागि केही समय पर्खिनुपर्ने छ । उनीहरूले पेपर चेक वा प्रिपेड डेबिट कार्डमार्फत राहत चेक र त्यसबापतको रकम प्राप्त गर्नेछन् ।

पहिला राहत चेक वितरण यो महिनाको अन्तसम्म सुरु गरिने बताइएको थियो । तर, यसअघि दुई पटक करदाताको खातामा सोझै जम्मा गरिएकाले इन्टरनल रेभेन्यू सर्भिसेसले यस पटक राहत चेक तत्काल खातामा पठाउन सक्ने जनाइएको छ ।

वार्षिक आय ७५ हजार डलरभन्दा कम भएका व्यक्तिले १ हजार ४ सय डलर र वार्षिक आय १ लाख ५० हजार अमेरिकी डलरभन्दा कम भएका दम्पतीले २ हजार ८ सय डलरको राहत चेक प्राप्त गर्नेछन् । करदाताले प्रति डिपेन्डेन्ट थप १ हजार ४ सय डलरको राहत चेक पाउने छन् । राहत चेक सन् २०१९ र २०२० का दाखिला गरेको करको आधारमा प्रदान गरिने छ ।

सम्बन्धित सामग्रीहरू