अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

बढी आय भएकालाई पनि राहत चेक दिन प्रस्ताव, बालबालिकालाई ३६ सय डलर

बिआरटिनेपाल संवाददाता, न्यु योर्क । २०७७ माघ २७ गते १५:०२ मा प्रकाशित

सिनियर हाउस डेमोक्रटहरुले बढी आय भएका अमेरिकीलाई पनि १४ सय डलरको राहत चेक (स्टिमुलस चेक) पठाउनु पर्ने प्रस्ताव गरेका छन् ।

बढी आय भएका अमेरिकीलाई राहत चेक नदिने पूर्व योजना अस्वीकार गर्दै उनीहरूले सोमबार राति त्यस्तो प्रस्ताव पारित गरेका हुन् । सिनेटबाट राहत प्याकेज पारित गराउन डेमोक्रेटहरुले बढी आय भएका अमेरिकीलाई राहत चेक नदिने भन्ने रिपब्लिकनहरूको प्रस्ताव पुनर्विचार गरी संशोधन गर्ने सहमति जनाएका थिए ।

हाउस वेज एण्ड मिन्स कमिटीका चेयरम्यान रिचर्ड ई निलले वार्षिक आम्दानी प्रतिव्यक्ति ७५ हजार अमेरिकी डलर र प्रति विवाहित जोडी १ लाख ५० हजार रहेकालाई पनि राहत चेक दिनुपर्ने ब्यबस्थासहितको विधेयक प्रस्ताव गरे । यसअघि प्रति व्यक्ति ५० हजार र प्रति विवाहित जोडी १ लाख वार्षिक आम्दानी भएकालाई मात्र राहत चेक दिने भन्ने समझदारी बनेको थियो ।

पछिल्लो प्रस्तावले डेमोक्रेटहरु राहत प्योकजमा रिपब्लिकनको सहयोग बिनै अघि बढिरहेका छन् भन्ने देखाउँछ । राष्ट्रपति जो बाइडेनको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजमा अनइम्प्लोइमेन्ट बेनिफिट लम्ब्याउने, स्थानीय सरकार र विद्यालयलाई धेरै अर्ब रकम दिने तथा खोप र स्वास्थ्य सेवा प्रभावकारी बनाउने लगायतका योजना छन् । प्रस्तावित विधेयक पारित गराउन हाउस वेज एण्ड मिन्स कमिटी र अरू प्यानलहरू गृहकार्य गरिरहेका छन् ।

नयाँ प्रस्ताव अनुसार वार्षिक आम्दानी १ लाख डलर वा सोभन्दा माथि भएका व्यक्ति र २ लाख डलर वा सोभन्दा माथि भएका विवाहित जोडिले मात्र राहत चेक पाउँदैनन् । राहत चेक सन् २०१९ वा सन् २०२० को ट्याक्स रिटर्नका आधारमा प्रदान गर्नुपर्ने प्रस्ताव छ । त्यस्तै, ६ वर्ष मुनिका बालबालिकालाई ३६ सय डलर र ६ देखि १७ वर्षसम्मका बालबालिकालाई ३ हजार डलर दिने प्रस्ताव पनि गरिएको छ ।