अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

टिपिएसमा रहेका आप्रवासीलाई फिर्ता नपठाउन अदालतको आदेश

बिआरटिनेपाल संवाददाता, न्यु योर्क । २०७५ असोज १८ गते २३:१७ मा प्रकाशित

ट्रम्प प्रशासन टिपिएसमा रहेका ३ लाख आप्रवासीलाई फिर्ता पठाउने योजनामा थियो । एक जना फेडेरल न्यायाधीशले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस्) मा रहेका आप्रवासीलाई फिर्ता पठाउनबाट ट्रम्प प्रशासनलाई रोक लगाएको छ ।

युएस डिस्ट्रिक जज एडवार्ड चेनले बुधवार उक्त आदेश दिएका हुन् । उक्त आदेश फेडेरल जज चेनको प्रारम्भिक निर्णय हो । यो मुद्दामा अक्टोबर २६ देखि सुनुवाइ सुरु हुनेछ ।

देशको अवस्था सुध्रिएको भन्दै ट्रम्प प्रशासनले हइटी, एल साल्भाडोर, होन्डुरस र सुडानका नागरिकलाई दिँदै आएको टिपिएस् सुविधा अन्त्य गरेको थियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उनीहरूलाई स्वदेश फर्किन तयारी सुरु गर्न भनेको थियो । तर, क्यालिफोर्निया स्थित युसएस डिस्ट्रिक कोर्टका फेडेरल जज चेनले त्यस विरुद्ध प्रारम्भिक निर्णय गर्दै ट्रम्प प्रशासनलाई उक्त आदेश दिएको हो ।

टिपिएस् अन्तर्गत हइटी, एल साल्भाडोर, होन्डुरस र सुडानका करिब ३ लाख मानिस अमेरिकामा वैधानिक रूपमा बसोबास गरिरहेका छन् । अदालतको यो निर्णयलाई अमेरिका सञ्चार माध्यमहरूले ट्रम्प प्रशासनलाई धक्का पुगेको चित्रण गरिरहेका छन् ।

४३ पृष्ठ लामो निर्णयमा चेनले टिपिएसमा रहेका आप्रवासीलाई फर्काउँदा सामाजिक समस्या हुने खुलाएका छन् । उनले यसबाट लाखौँ परिवार विछोडिनुपर्ने र त्यसबाट देश भित्र र बाहिर रहेका ती समुदायलाई चोट पुग्ने भनेका छन् ।

अदालतको निर्णयमा टिपिएस् अन्तर्गत रहेका यी ४ देशका आप्रवासी फर्काउने ट्रम्प प्रशासनको निर्णय रङ्गभेदी र समान अधिकारको सुरक्षाको संवैधानिक व्यवस्था विपरीत भएको हुनसक्ने पनि जनाइएको छ । टिपिएस् अन्तर्गत रहेका ती ४ देशका आप्रवासीलाई फर्काउने ट्रम्प प्रशासनको निर्णय विरुद्ध अमेरिकन सिभिल लिबर्टिज युनियन अफ साउदर्न क्यालिफोर्निया गत मार्चमा अदालत पुगेको थियो । 

सम्बन्धित सामग्रीहरू