अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

सत्य र ज्ञानको शत्रुता

युवराज मैनाली २०७८ जेठ ५ गते ९:५० मा प्रकाशित

निबन्ध
अर्काको धर्कामा नकुल्चिई आफ्नो धर्कामा मात्रै हिँड्नु प्रजातन्त्रको विशेषता हो । प्रजातन्त्रको यस्तै परिभाषा गरेर हामीलाई पनि त्यही मार्गमा हिँड्न सिकाउने मेरा गुरु अहिले हुनुहुन्न । उहाँले हामी धेरैलाई प्रजातन्त्रको लत लगाइदिनुभयो । उहाँ प्रजातान्त्रिक पान खानुहुन्थ्यो र हामीलाई पनि त्यसको बानी पारिदिनुभयो ।

प्रजातन्त्रको लागि सङ्घर्ष चलिरहेको समयको कुरा हो यो । त्यस बेला उहाँले हामीलाई पढ्न विभिन्न पुस्तक पढ्ने उपदेश दिनुभयो । चाणक्यदेखि मेकियाबेलीसम्म पढ्ने सनक उहाँले नै बढाइदिनुभएको हो हामीलाई । त्यो सनकले गर्दा तत्कालै पसलमा गई पुस्तक किनिन्थ्यो र रातभरि नसुतीकन पढिन्थ्यो । परीक्षामा राम्रो अङ्क प्राप्त हुन्थ्यो । यसरी प्रजातन्त्रबारे थुप्रै पुस्तक चाटियो । तर हिजोआज प्रजातन्त्रका लागि सङ्घर्ष गर्नुपर्ने स्थिति छैन । प्रजातन्त्र प्राप्त भइसकेको छ । कथंकदाचित् केही समयका निम्ति प्रजातन्त्र निलम्बन भए पनि त्यसको केही समयपछि निलम्बन फुकुवा हुने गर्दछ । यस्तै परिस्थितिले गर्दा प्रजातन्त्र पुनः स्थापनापछि सडकमा बेग्लै खालका तडकभडकको रजाइँ चल्न थालेको छ ।

यसरी यस्तो तडकभडक देखेर मेरो पापी मन पनि प्यासी हुन थाल्यो । प्यास मेटाउन पानी पिएँ तर मेटिएन । त्यसपछि बियर खाएँ– त्यसले पनि भएन । कोक, फ्यान्टा र पेप्सीकोला आदिको त कुरै भएन । हुँदा हुँदा ह्विस्की नै तन्काएँ । प्यास त झन्-झन् बढ्याबढयै भयो । यसपछि म यो प्यासी रोग निको पार्ने चिकित्सककहाँ गएँ । तर चिकित्सकको उपचार त अर्थ न बर्थ गोविन्द गाई कपाल दुखेको औषधि नाइटोमा लाई भएझैँ भयो । उसले त मेरो अगाडि शिवपुरी बाबाको प्रवचन पो दिन थाल्यो । चिकित्सकको प्रवचन सुनेर म दिक्क भएँ । म त औषधि पाइन्छ कि भनेर पो उसको क्लिनिक सम्म गएको थिएँ । के गर्नु मंंगले आफ्नै ढङ्गले । त्यहाँ पनि मेरो तिर्खा मेटिन सकेन ।

त्यसपछि म त्यहाँबाट फर्किएँ । ठक्कर खाएपछि बुद्धि बढ्छ भनेर पुर्खाले भनेका छन् । मलाई पनि त्यस्तै भयो । त्यसै बेला मैले मेरा भूमिगत कालखण्डका प्रजातान्त्रिक गुरुलाई स्मरण गरेँ । अब ममा ज्ञानको ढोका खुल्नै आँटेको जस्तो अनुभव भयो । अन्ततः सबै कुराको रहस्य पुस्तकमा निहित रहेछ भन्ने यथार्थलाई पनि मेरो गोज्याङ्ग्रो दिमागले ठम्यायो ।

यसरी मेरो जीवनमा पुनः पुस्तक पूजाको चरण आरम्भ भयो । मैले प्रजातन्त्रका निम्ति लेखेका कैयौँ पुस्तक पडेँ । अमेरिकाका हन्टिङ्टनदेखि नेपालका लोकराज बरालसम्मका विचारमा म चुर्लुम्म डुब्न थालेँ । यस क्रममा मैले कार्लमाक्र्स पडेँ, गान्धी पडेँ र मण्डेलाका जीवन चरित्र सबै पडेँ । अनि आफ्नो देशका राजनेताको अनुहारमा उनीहरूको अनुहार खोज्न थालेँ । तर यसले झन् खतराको स्थिति पो निम्त्यायो किनभने अब झन् म पहिलेभन्दा बढी तिर्खाउन थालेँ । मेरो तिर्खाको सीमा अझ बढेर गयो । पुस्तकका चरित्र र व्यवहारका चरित्र बिच ठुलो विरोधाभास पो देखा पर्यो । त्यसपछि मलाई पुस्तकमा लेखिएका कुराप्रति अविश्वास जागेर पो आयो । किनकि कार्लमाक्र्स बारे जति लेखिएको थियो– त्यो वास्तविकता नभएर कथा पो हो कि भन्ने शङ्का उठ्न थाल्यो । गान्धीबारे जे पढियो– त्यो कथा थियो या उपन्यास ? के मण्डेला महाभारतकै अर्का महान् पात्र त होइनन् ? मदर टेरेसा भन्ने नाम कतै हाम्रो रामायणमा त थिएन ?

यसरी मैले जति पडेँ । पढेअनुसारका पात्र वर्तमानमा पाउन सकिनँ । अहिले मलाई आफ्ना भूमिगत गुरुको शिक्षादीक्षाप्रति नै शङ्का लाग्न थालेको छ ।