अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 13:03

जय नेपाल

युवराज मैनाली २०७७ मंसिर १ गते ९:१६ मा प्रकाशित

निबन्ध

बन्धनबाट फुत्किन चाहन्छु । स्वत्वभित्रको बिन्दुवृत्तमा अल्झिन चाहन्छु, आजको जलवायु र वातावरणले ल्याएको अहं ब्रह्मास्मिमा निर्लिप्त हुन चाहन्छु तर चाहना शीतका थोपासरि छाइरहन्छ ममा किन ? म एक हँु तर अनेकमा विभक्तिएको महसुुस हुन्छ । म जति आफूलाई आफैंले तान्छु त्यति नै कुनै अदृश्य शक्ति मलाई तान्दैतान्दै पगाल्छ र स्पिरिटसरि फैलाएर बगाउँछ, सरर्र सर्र उडाउँछ फुर्रफुर्र मलाई फैलाउँछ, मलाई उडाउँछ, मेरो अहं मेरो लक्ष्य चोट खान्छ, घावैघाउका खातखात सहन्छ । मेरो चेतन बसीकरणमा जकडिन्छ, मेरो वृत्तबाट बाहिरिन्छ । जुन वृत्त मैले बडो यत्नसाथ लक्ष्मण रेखासरि कोरेको थिएँ । अनि उही बन्धन उही छाडापनमा बहकिन्छ ।

जो देख्यो त्यसमाथि खुलेर जँड्याहाझैँ बहकियो, बोक्सीझैँ बक्यो, विवेक मलाई छोडेर कता पुग्छ कता ? मेरो सारा शक्ति एक्लै भएर पनि निर्भीक हुनपुग्छ । देखेका, भोगेका, सुनेका सारा कुरामा प्रतिक्रिया मभित्रैबाट आगोको मुस्लो सल्किएर धुवाँको रापमा प्रतिक्रियाहरू मुस्लोका मुस्लो कुरोको रूपमा ओर्लिन्छ कि त्यसको रागले कसैको आँखा पोल्छ, कसैको नाक पिरो हुन्छ, कसैकसैलाई सासै फेर्न गाह्रो हुन्छ अनि अचानोमाथि खुकुरी बर्सिएझँै बर्सिन्छन् मेरा आनीबानीहरूमाथि । बिचार्दछु, स्वास फेर्न पाएको बेला सोच्छु आ ‘वैल मुझे मार’ को पोजिसनमा म किन छु ? स्वविरोधाभाषमा मेरो संस्कार मसँग किन टाँस्सिएको छ । प्रथमतः मेरो सोचाइको मूलधार अर्थात् स्रोत अर्थात् मुहान नै प्रदूषण समेटेर बसेको छ ।

म बन्धनबाट फुत्किन चाहन्छु र स्वत्वको बिन्दुबन्धनमा अल्झिन चाहन्छु । यो चाहना नै समन्वयात्मक रहेन पहिलो कुरामा त । बन्धन र मुक्ति सँगसँगै लाने परस्परको विपरीत ध्रुव, बल्झिएको थागोसरिमा म अल्झिएको रहेछु । यही अल्झाइमा परेर हेर्दैजाँदा देख्छु मेरो यो अल्झाइ ममा प्रभावित तत्व मेरो वरिपरिको वातावरण मेरो माटोमा उर्वरताको लागि भनेर छरिएको मल युरियाको प्रभाव पो रहेछ । युरिया आफ्नो परम्परालाई त्यागेर अत्याधुनिकीकरण र अधिक उब्जाउका लागि ल्याइएको एक साधन जसले क्षणिक उर्वरता दिएर जमिनलाई गर्दै गइरहेको छ मरूभूमीकरण । माटोलाई ढुङ्गा बनाउने काम ढुङ्गा र माटो पनि विपरीत ध्रुव होइन र ? ढुङ्गा उर्वरताको प्रतीक हो र ?

अल्झाइ भोगाइ मेरो माटोले भोगिरहेछ । यसैको वातावरणीय प्रभाव मेरो अपनत्वले झेलिरहेछ । यहाँको योजनाकारका मनमस्तिष्क ढुङ्गामा परिवर्तित भइरहेछ । धरतीभन्दा आकाश ताक्ने ज्योतिषबाहरूको सिको आज जिम्वेवार सत्तावाल भत्तावालहरूले गर्दा यावत जनजन त्यही पछ्याइमा दौडिरहेका छन् । मेरो देश नेपाल नवऔपनिवेशिक वृद्धाश्रमतर्फ लम्किरहेको छ, सुदूरमा चामल कुहिन्छ, त्यो पनि चाकडी बजाएर पाइन्छ, नक्षत्रतर्फबाट सहायता आउँछ, त्यसमा अदृष्य घण्टा कोचेर पठाइन्छ । मृत्यु पनि सहायता चाहिने भयो, जनसंख्या घटाउन पो हो कि ? सुन्छु, हेर्छु, चिच्याउँछु, मात्र शत्रु बढाउँछु । छापामा हेर्छु सर्पको बढी प्रकोप हुने देशका भागमा ‘एन्टी स्नेक भेनम’ अभाव, अभाव–अभाव–अभाव, स्वाभाविक–अस्वाभाविक परको कुरा । सिंहदरबार लाइरहन्छ छुराका छुरा लगाउँदै जुँगामा ताउ । छुरा नक्षत्र होका मूर्खमण्डलहरू चम्काउनका लागि नै हो पहिलो त, दोस्रो आफन्तकाहरूलाई यसका लागि नै हो । रेमिन्ट्यान्सको स्वादिलो स्वाद चाख्न कै लागि हो, होइन र ? सोध्छ मभित्रबाट मेरो म ? म के जबाफ दिऊँ ?

चाणक्य नीति पढेका छैनन् र ती हल्लैहल्लामा आफ्नो पुर्खाको सम्पत्ति बन्धकी राखेर नक्षत्रमा जुवा खेल्न जानेहरूले तर म पढेर पनि अनपढ बनेको छु, बुझ पचाएर गाडिएको छु, जुन देशमा व्यापार गर्ने सरकार भनाउँदो छ त्यस देशमा नबस्नु भनिएको कुरा उनीहरूलाई वातावरणले नै सिकाएको पो हो कि ? सङ्क्रमणको साटो प्रतीक मताहा हात्ती बालीनाली सखाप पार्दैछन्, भविष्य र वर्तमानको । मार्दैछन् देशका किसान सोझासिधा वीर पहलमान । न हतियार न औजार, नीति ग्यास छर्केरै अधमरा पार्दैछन् । एन्टीस्नेकको अभाव लाग्छ कृत्रिम अभाव हो । स्वत्वभित्र पालिएका स्नेकहरू प्रभावित होलान् भन्ने डरले कृत्रिम अभाव गराइएको हो, उम्रिन्छन् मेरा मन मस्तिष्क । एउटा कुनाबाट थर्किएको स्वर बिस्तारै आउँछ चुप–चुप–चुप रोएको केटाकेटीलाई झँै मलाई थपथपाउँछ ।

भनिन्छ व्यापार अपार । व्यापारी यहाँ को छैन ? सोध्छ मसँग मेरो म । पहिलो व्यापारी नै हो मेरो सरकार नेसनल ट्रेडिङ आयो किन ? बग्यो किन ? साल्ट ट्रेडिङ, आयल निगम आदि इत्यादि रहेकै किन ?? छाला जुत्ता, जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी कारखाना मेटियो किन ??? किन नै किनको प्रश्नको पेटारो सर्प पेटारोझैँ उकुसमुकुसिएर खोलिन खोजिन्छ । मेरो सारा बल पर्छ, त्यसलाई थिचेर राख्न । मेरो सुस्केरा फुत्किन्छ । सुस्केराको लम्बाइसँगसँगै शब्द आकृति बनेर नाच्दछ ।

काश्मिर काशी अजव नेपाल !
काश्मिर काशी अजव नेपाल !!
साङ्गितिक लिपिसँग जोडिएर ।
लाग्दछ मजस्तै जस्तै हो मेरो सरकार !

खाँदाखाँदा नमस्कार र जदौ । परिसक्यो सरकार प्रवेश गरेको सबै सबैमा नमस्कार र जदौकै बनी नै नक्षत्रीय नटुवा नाच्छन्, यहाँ नाङ्गो नाच भन्छन् मसँग, कम्मर भाँच, भाँचिदिन्छन् बिना कुनै प्रतिवाद । हेर्दा लाग्ने स्वक्षेत्रको त के कुरा गर्नु मदारी हुन् कि तान्त्रिक मान्त्रिक के हुन् छुट्याउनै सकिन्न । लठ्ठ छन् लठ्ठीझैँ, जता घुमाए पनि घुम्ने लठ्ठी बनाइएका छन् हामीलाई । सिमालठ्ठा हिँडडुल गर्छन्, अल्पिन्छन् यो समस्यै हैन भनी टोपल्छन् हाम्रा नेताहरू । जलसम्पदामा अन्तर्राष्ट्रिय कानुनलाई लोप्पा ख्वाउँछन् । खान मात्र जानेका यो पनि ख्वाइदिन्छन् । सिमापारि हराभरा, वारि तलाउ जमिन सारा, त्यहाँ माछा होइन घर पौडिन्छ, मान्छे उत्रन्छ खाएको मुखबाट के आवाज निस्कनु । हिजो चले परिवर्तनको ठूलो ढ्वाङ्ग आज झन् ठूलो स्वरले बजिरहेको छ । राष्ट्रिय स्वाधीनता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप स्वीकार्य र सह्य नभएको बिन बजाइन्छ । पाहुना बन्न गएका, त्यसमा रिदम भरेर नाक फुलाएर डकार्दै फर्कन्छन् ।

अपराधी लुकेकोदेखि लिएर पोको बोकेकोसम्मको निहुँमा हातहतियारसहित सिमाभित्र पसेर मिच्याइँमा उभिन्छन् उताका सिपाहीहरू । कारबाही सत्ता ससम्मान सिन्दुर जात्रासरि गरेर बिदाइ गरिन्छ । ‘माछा आए आफसे आफ, भ्यागुता आए बाफ रे बाफ’ यही छ यहाँको नेताको स्वभाव । भन्छन् भनिरहन्छन् “नामर्दको जोइ सबैकी भाउजू” अर्थात् कमजोर र गरिबलाई सबैले हेप्छन् … अनि एकताबद्ध, सम्पन्न र स्वाधीन केके अरू क्रन्दन बिम्ब ओरालिन्छन् । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर मेरो लेखनीमा चाहेर नचाहेर पनि टुप्लुकिने कुरो हो । त्यै कुरो नै चुरो रहे पछि सङ्क्रमणकाल बाध्यको बङ्करझैँ यो पनि बन्न पुगेको हो । उताबाट आउने कुनै नेता हुन् वा कर्मचारी हुन् मर्यादा र हैसियतलाई खोपामा राखेर तँछाडमछाड गर्दै लाममा बस्ने पर्दा पछाडिको काम अहिले खुल्लामा देखिइसकेपछि कोट्याइरहनु परोइन नै ।

हामी परजीवी बन्दै गइरहेको कुरा यहाँ भट्याइरहनु परोइन । बरु कुन दर्जा र जातको भनेर छुट्याउनु पो पर्ला कि ? हाम्रो सामाजिक सञ्जालसम्म यस्तो बन्नसकेको छ कि आफन्तलाई चुस्ने परायालाई पोस्ने । यो प्रवृत्तिले लाग्छ म आफैँलाई कुन जात र दर्जामा राखूँ लामखुट्टे कि उपियाँ, सर्प कि उडुस । हिजोलाई सत्तोसराप सत्ता र भत्ताको रक्त चुसाइ अगुवा बनाउन मै आफँैलाई कुन थरमा राखूँ ? एकताको नगरा बजाउने राजनैतिक व्यापारमा आपार लाभ कमाउने सङ्क्रमणकालको व्याज चुस्ने प्रकृति संविधान सभाको विघटन होइन र ? चारबाहेक अरू सबै अचार पिँध्ने प्रवृत्तिको बिगबिगी विखण्डन बीज रोपाइको मेलोमेसो होइन र ?

जति सोच्यो उति नै रन्थनिन्छ यो कपाल । यसैले म पनि सोच्न थालेको छु, आफू भलो त जगतै भलो । मेरो स्वतन्त्रता हो आत्ममुक्तिको परमानन्दको स्रोत हो मूल मन्त्र हो यो । यो माटोको बन्धन सांसारिक मायाको क्रन्दन । चिसो पानी खाएर तातो बाफ छोड्नुको अरण्यरोदन किन ? ग्लोबलाइजेसन अर्थात् विश्वव्यापीकरणको समुद्रमा आफूलाई डुबाइदियो त तनै आनन्द मनै आनन्द । शेष समयले पु¥याउँछ कहाँ त्यहीँ पुगिन्छ आफू जहाँ । यही मेलोमा लाग्न खोज्दैछु ।

तर लागु संस्कार च्याप्छ मलाई अनि बिरक्तिएका मनहरूलाई झन् बिरक्त्याउँदै कराउने गर्छु ट्यार्रर ट्यार्र ट्यारर्र ट्यार । म अर्थात् जनता भ्यागुताका धार्नी हौँ हामी तौलमा कहिल्यै जम्दैनौँ, फुत्त उफ्रिनु अनि काँटामा चढ्नु मात्र हो नियति, अनि उही ट्यार्र ट्यार्र ट्यार्र यतिकैमा जय नेपाल ।