अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

अमेरिकामा नेपाली महिला घोडे पोलो खेलाडी केमिका भण्डारीको नेपाली टोली विजयी

विजय थापा २०७७ कार्तिक ८ गते ११:४७ मा प्रकाशित

डिसी, ८ कात्तिक । अमेरिकाको मेरिल्यान्ड राज्यमा बस्दै आएकी नेपाली मूलकी घोडे तथा हात्ती पोलो एक मात्र नेपाली महिला खेलाडी केमिका भण्डारीको नेपाली टोलीलाई सफलता मिलेको छ । गत अक्टोबर १८ आइतबारका दिन सम्पन्न ईपोना (ईक्वाइन पोलो नेटवर्क अफ दि एटलान्टिक )खेल प्रतियोगितामा भण्डारीको नेपाली टोली नाम गरिएको समूह विजयी भएको हो । अमेरिकाको मेरिल्यान्ड राज्यको पश्चिमी भागमा अवस्थित पुल्सभिलमा आयोजना भएको ईपोना प्रतियोगिता घोडे पोलो (हर्ष पोलो) कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त खेलमा ईपोना अन्तर्गत वासिङ्टन डिसी,मेरिल्यान्ड र भर्जिनिया वरपर रहेका पोलो क्लब(अड्डा)सँग आबद्ध खेलाडीहरू जस्तै समर हिल पोलो क्लब ,सेनेका पोलो क्लब टोली बिच खेलाडीहरूको प्रतिस्पर्धा भएको थियो । यसै अन्तर्गत नेपाल टिम (समूह)ले भाग लिएको थियो । घोडेपोलो खेल विभिन्न तह गरी खेल्ने र खेलाइन्छ । खेलाडीहरूको खेल खेल्ने क्षमता हेरेर लो गोल(निम्न लक्ष्य), मिडिएम गोल(मध्य लक्ष्य)र हाइ गोल(उच्च लक्ष्य)मा विभाजन गरिन्छ । साथै नेपाल टिम (टोली)र समर हिल पोलो टिम(टोली)बिच भएको खेलमा नेपाल टोली विजयी भएको थियो । नेपाली टोलीमा केमिका भण्डारी,क्लाउडिया टोबलर र डेरियो सोतोमेयोर खेलाडीहरू रहेका थिए ।

उक्त खेलमा विजयी खेलाडीहरूलाई पदक प्रदान गरिएको थियो । उक्त खेलको आयोजना तथा प्रायोजन संस्थाकी संस्थापक सदस्य क्लाउडिया टोबलरले गरेकी थिइन् । अमेरिकामा घोडे पोलो र घोडा दौड निकै प्रख्यात र प्रचलित छ । ईक्वाइन पोलो नेटवर्क अफ दि एटलान्टिक(ईपोना) डिसी,मेरिल्यान्ड र भर्जिनिया घोडे पोलो र घोडा दौड का साथै अन्य घोडासँग सम्बन्धित खेलहरूको लागि सम्बन्धित विभिन्न उमेर,तह र विभिन्न क्षेत्रका खेलाडीहरूलाई प्रवर्धन गर्ने सञ्जाल हो । घोडे पोलो तथा हात्ती पोलो दुवै खेल खेल्ने केमिका भण्डारी सम्भवतः एक मात्र नेपाली मूलकी खेलाडी हुन् । भण्डारी हात्ती पोलो खेल खेल्न नेपालको चितवन र बर्दिया समेत गएर पुरस्कार समेत जितेर ल्याएकी छिन् । उनी गल्फ खेलकी राम्रो खेलाडी पनि हुन् । दशैको मुखमा आयोजना भएको ईपोना खेलमा नेपाली टोलीले जितेकोमा हर्ष व्यक्त गरेकी छिन् । र आफ्ना शुभचिन्तक र सबैलाई धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया