अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

पीपलबोट: हिजो र आज

युवराज मैनाली २०७७ साउन २९ गते ९:३० मा प्रकाशित

लेखनाथ, सम र देवकोटाहरूलाई
शीतल छहारीमा बसाएर
कलममा ऊर्जा थपिरहने
भूपी,रिमाल र पारिजातहरूलाई
कलममा धार लगाएर
तातो र रातो रगत नसेलाउन
जागा गराइरहने
सबैको प्यारो पीपलबोट
देशकै केन्द्र पीपलबोट
समयले खै ! कस्तो कोल्टो फेरेर हो ?
दृष्टि दृष्टिमा खै ! कस्ता दृश्य परेर हो ?
बिरानो बन्दै गएको छ !
हिजो सबैको नाम बताउने पीपलबोट
आज आफ्नै नाम बताउन नसक्ने भएको छ !

छेवैको भूगोलपार्क
छातीका अखबारहरू हटाएर
निर्वस्त्र छ
त्यहाॅंका अक्षरहरूमा टाॅंसिने आँखाहरू
थाहा छैन !
कहाॅं , के हेरिरहेका छन् ?

कविताका मूल फुटाइरहने कविहरू
खै ! कहाॅं गए ?
गीत गुनगुनाइरहने गायकहरू
खै ! कहाॅं अलप भए ?
त्यहाॅं अचेल
न भेटिन्छन् कुनै कथाकार !
त्यहाॅं अचेल
न भेटिन्छन् कुनै नाटककार !
त्यहाॅं अचेल
न भेटिन्छन् कुनै पत्रकार !

आएर कस्तो हुरी ?
सबैलाई किन पर पर पुऱ्यायो ?
चलेर भुमरी
सबैलाई कता उॅंडायो ?

त्यहाॅं अचेल
न भेटिन्छन् कुची बोक्ने कलाकार !
त्यहाॅं अचेल
न देखिन्छन् स्वाधीनता र स्वतन्त्रता पुकारिरहने
कुनै नायकी अनुहार !

हराए मीठा अभिवादन
हराए शिरका नमन
हराए स्नेहले जुट्ने हातहरू
हराए सुखदुख साट्ने मनहरू
हराए हासपरिहासहरू
हराए चिया र कफीका स्वादहरू !

त्यहाॅं लम्किरहने पाइलाहरूमा
कसले लगायो बार ?
पूर्व वा पश्चिमले ?
उत्तर वा दक्षिणले ?
दियो कि मीठो परिकार ?

पीपलबोट आज
नगरभरिको फोहोर र कसिङ्गरको बिचमा उभिएको छ
हड्डी बोकेर हर्षले शिरमा चढेका
कागहरूको भारीले थिचिएको छ
हराए सुगन्धित धूप बालिरहने भक्तहरू
बिचरो आज पीपलबोट !
दुर्गन्धै दुर्गन्धभित्र गुम्सिन विवश छ !

जराहरू सुक्दै छन्
तन जीर्ण छ
धराको नाता टुट्दै छ
सायद यही कल्पिएर
वृद्ध पीपलबोट !
भूत लागेझैँ झोक्रिएको छ
सहाराविना निराश बन्दै
ढल्ने मिति पर्खेर बसेको छ !

भलादमीहरू छेवैमा जुत्ता टल्काउॅंछन्
पर पर लाग्छन्
टल्काउन परिश्रम जो लगाउॅंछन्
तिनका गोजी रित्याउनेहरू
वर वर आउॅंछन् !
काखमा सुकाएका अक्षरका बिस्कुनहरू
दिन घर्किॅंदा सबै उठाइन्छन् !
जब रात उकाली चढ्दै गर्छ
सधैँ सधैँ वृद्ध पीपलबोटले
बजारिया मान्छेहरूको
मोलतोलको साक्षी बस्नै पर्छ !

छन् सबै आफ्नै सुरमा
सोध्ने फुर्सद कसलाई छ र ?
“ भन त पीपलबोट ! तिम्रो दर्द के छ ? “

**

धुम्बाराही, काठमाडौॅं ।