अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

खामरण अनसन

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७७ साउन १६ गते ८:५९ मा प्रकाशित

कुनैकुनै शब्द खासखास बेला खुब प्रचलनमा आउँछन् । कतिपय शब्दको प्रचलन खास सन्दर्भबाट पनि हुने गर्छ । हामीकहाँ निर्दलको समाप्ति र बहुदलको प्राप्तिसँगै थुप्रै शब्दहरूको नवनिर्माण र नवप्रयोगसमेत भएको पाइन्छ । बानेश्वर काण्डसँगै अन्तर्घात अनि सशस्त्र विद्रोहसँगै प्रेसरकुकरबम, बाल्टीबम, गाग्रीबम, खड्कुलोबम, पुतलीबम, सुतलीबम आदि शब्दको प्रचलन पर्याप्त मात्रामा बढेको सबैलाई थाहै छ । प्रजातन्त्रको रूपान्तरण लोकतन्त्र हुँदै गणतन्त्रमा भएपछि धर्ना, जुलुस, चक्काजाम, तालाबन्दी र अनसन खुब प्रचलनमा रहेका छन् । हुनत यी शब्द उति नयाँ होइनन् । यिनको कार्यमूलक प्रयोग मात्र नयाँ हो ।

धर्नाले कार्यसिद्धिका लागि गरिने प्रयास वा घेराउ भन्ने अर्थ दिन्छ भने जुलुसको अर्थ विरोध वा समर्थनमा गरिने सामूहिक प्रर्दशनी भन्ने हुन्छ । चक्काजामले यातायातका साधन ठप्प पार्ने काम भन्ने अर्थ बुझाउँछ । तालाबन्दीले आफ्ना माग पूरा गराउनाका लागि सम्बद्ध निकाय वा निकाय प्रमुखको कार्यालयमा ताला लगाएर बन्द गर्ने काम भन्ने अर्थ दिन्छ । अनसनको अर्थ भने अलि व्यापक छ । यसको प्रयोग पहिले उपवास, ध्यान आदिका सन्दर्भमा हुन्थ्यो तर अहिले यसको प्रयोगक्षेत्र निकै विस्तार भएको छ । प्रचलनका हिसाबले यसको अर्थ खान छाड्ने काम आहारत्याग मोक्षप्राप्तिका लागि मर्नुभन्दा केही दिनअगिदेखि गरिने आहारत्याग आदि हुन्छ । अर्थविस्तार हुँदै जाँदा यसले कुनै अन्याय वा पिरमर्काका विरुद्ध असन्तोष व्यक्त गर्ने उद्देश्यबाट गरिने आहारत्याग कुनै माग राखी त्यो पूरा गराउने उद्देश्यले सम्बद्ध निकायलाई पूर्वसूचना दिई माग पूरा नहुन्जेल गरिने आहारत्याग भोक हडताल भोकै बसाइ सरकार वा ठालुलाई आफ्ना माग पूरा गराउनका लागि बाध्य तुल्याउन गरिने दबाबमूलक कार्यक्रमसमेतलाई बुझाउन थाल्यो । अनसनका यी अनेक अर्थ भए पनि मूल अर्थचाहिँ आहारत्याग नै हो ।

यतिखेर धर्ना, जुलुस, चक्काजाम, तालाबन्दी र अनसन सामान्य शब्दार्थमा सीमित नरही जहिलेसुकै, जहाँसुकै र जोसुकैले गर्नसक्ने विशेष कार्यक्रम नै बन्नपुगेका छन् । कसैलाई अलिकति सनक चढ्यो कि धर्ना, जुलुस, चक्काजाम, तालाबन्दी वा अनसनको कार्यक्रम घोषणा गरिदिए भैहाल्छ । छरछिमेकका बीच हुने सामान्य भनाभनको त के कुरा लोग्नेस्वास्नीका बीच हुने नित्यक्रियामासमेत केही ठाकठुक परे यस्तै कार्यक्रम घोषणा हुन बेर नलाग्ने स्थिति आइसकेको छ । अरूको त के कुरा कलिला बालबालिकासमेत आफ्ना फर्माइस पूरा नगरिदिए धर्ना, जुलुस गर्ने धम्की दिन थालिसकेका छन् । यो ठूलाकै सिको त हो नि ! यतिखेर यसो गर्नु कतिपयको त पेसा नै भएको छ… । धर्ना, जुलुस र चक्काजामका लागि भाडाकै भए पनि मान्छे पाइन्छन् तर तालाबन्दीका लागि त एकजना नै काफी छ, झोलामा एउटा ताला बोकेर हिंडे पुगिहाल्छ र यो हालसाल निकै प्रतिस्पर्धात्मक रूपमा फस्टाएको पनि छ…।

चक्काले किचेर मान्छे मार्न पाउनुपर्ने मौलिक हकको जगेर्नाका लागि चक्कावालहरूबाट गरिने चक्काजाम, धर्ना, जुलुसको त कुरै नगरौँ ! प्रतिगामी सरकारका विरुद्ध यस्ता दबाबमूलक कार्यक्रम गर्नु ठीकै होला तर अनुभवी लोकतान्त्रिक/गणतान्त्रिक सरकारका लागि त यस्ता कार्यक्रम नगरिनु पर्ने ! कुरो बुझेर बुझिसक्नु छैन । जेसुकैमा पनि धर्ना दिने, जुलुस निकाल्ने, टायर बाल्ने, चक्काजाम गर्ने, तालाबन्दी गर्ने र अनसन बस्ने कार्यमा समेत हाम्रो देश अग्रपङ्क्तिमा पुगिसकेको छ … ।

समयक्रमसँगै धर्ना, जुलुस, चक्काजाम, तालाबन्दी र अनसनमध्ये सबभन्दा सशक्त बन्नपुगेको अनसन अर्थात् आहारत्यागका रूपरङ्गमा पनि व्यापक परिवर्तन आएको छ । ब्रेकफास्ट, लन्च वा डिनरमध्ये कुनै एकको त्याग गर्ने कि सबैको ? फेरि अनसनका प्रकार पनि अनेक हुन थालेका छन् । रिले अनसन, चिले अनसन, मिले अनसन, गिले अनसन, आमरण अनसन, खामरण अनसन आदि । अनसनका यी विविध रूपमध्ये माथिल्लो दर्जाको मानिने आमरण अनसन निर्धारित माग पूरा नहुन्जेलसम्म मरे पनि केही नखाने ढङ्गबाट गरिने अनसनको विशिष्ट प्रकार हो । नैतिक दबाबको माथिल्लो सिँढी मानिने आमरण अनसनको सम्बन्ध नैतिकतासँग गांँसिएको हुनाले आमरण अनसनकारीहरूसँग बेलाबखत संसारका ठूलाठूला तानाशाहहरूसमेत झुक्न बाध्य भएका पनि नदेखिएका होइनन् । नैतिकताहीन नवतानाशाहहरूले शासन गरेका मुलुकमा एउटै मागलाई लिएर पटकपटक आमरण अनसन बस्ने कतिपयका माग हरेक पटक पूरा गर्ने सम्झौता गर्दै पूरा नगरेको मात्र होइन कतिपयले त अस्पतालभित्रै ज्यान गुमाएका पनि छन् र वर्षौसम्म तिनको दाहसंस्कारसमेत नभएको स्थिति पनि देखिन्छ…।

आजकाल आमरण अनसनको रूपान्तरण खामरण अनसनमा भएको छ । खामरण अनसन भनेको के हो भनी आश्चर्यमा पर्नुहोला । यो हाम्रा मुलुकमा प्रजातन्त्रसँगै भित्रिएर लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा विकसित अनसनको नौलो प्रयोगशील उत्तरआधुनिक प्रकार हो । खामरण अनसनलाई आमरण अनसनको साख्खै पुत्नेछोरो मान्न सकिन्छ । पहिले यसको मूल थलो रत्नपार्क थियो भने अहिले यसको मूल थलो माइतीघर रहेको छ । विश्वविद्यालय परिसर, अस्पताल, पाटी कार्यालय आदितिर पनि विस्तारित हुँदोछ…।

भाडाका पाल, भाडाकै ओछ्यान र उस्तै परे भाडाकै माला लगाएर अनि भाडाकै सञ्चार बोलाई प्रचारात्मक रूपमा गरिने आंशिक भोजनत्याग नै खामरण अनसन हो । यसप्रकारको अनसनमा दिउँसो मान्छेले देखुन्जेल खानपिन बन्द तर रातमा चाउचाउ त के माउमाउ नै खाए पनि हुन्छ । मान्छे नभएका बेला यसो छड्किएर दिउँसै हसुरे पनि फरक पर्दैन । यसो टिभीसिभी आएका बेला निन्याउरो मुख लगाएर बोल्न नसक्ने मरन्च्याँसेजस्तो देखियो, अरू बेला डटफट … । डाक्टरी जाँच गर्न पटक्कै नदिइने यसप्रकारको अनसनमा कालै आए अर्कै कुरा हो नत्र मर्ने सम्भावना पटक्कै हुँदैन । अर्काको निःशुल्क खान पनि पाइने, टिभीमा मुख देखाउन पनि पाइने अनि नेता हुन पनि पाइने, उस्तै परे अठ्ठा जोकर पारी मन्त्री नै बन्न पनि बेर नलाग्ने… । क्या मज्जा छ खामरण अनसनको करामत । अनुभवीलाई विशेष ग्राह्यता दिइने मुलुकमा यससम्बन्धी पर्याप्त अनुभव सँगालेकाहरू नै सत्तामा पुगेका बेला माग पूरा नहुने कुरै आएन… !

हामीकहाँ सत्ता पाऊँ भन्नेदेखि भत्ता पाऊँ, लत्ता पाऊँ, जागिर करार वा स्थायी गरिपाऊँ भन्नेलगायत जुनसुकै विषयमा अनसनको प्रचलन बढ्दोछ । अनसनमा अनुभवी सत्तासीन र तिनका पूर्वसहयात्रीहरूका बीच आपसी सल्लाहमै पनि बेलाबखत यस्ता अनसन हुने गरेको जानकारीसमेत पाइन्छ । खामरण अनसनकारीले राखेको माग पूरा गर्दा राष्ट्रलाई पर्ने असरबारे ध्यानै नदिई कसैको प्रतिनिधि बनेर वा स्वयं माग पूरा गरेको पत्र र जुसको बट्टा लिएर चिल्लो गाडीमा झन्डा हल्लाउँदै डन्डा तेस्र्याएर निसङ्कोच टिभीमा देखिन हाम्रा दले मन्त्रीहरू खुब रुचाउँछन् । खामरण अनसनमा अनुभवी सत्तासीनहरूले राष्ट्रलाई पर्ने दूरगामी असरप्रति आँखा चिम्लेर जे पायो त्यही माग पूरा गरिदिने काम गर्दा के हुन्छ ? राष्ट्र जेसुकै होस्, भोलि जेसुकै होस् आफ्नो कुर्सी र आज जोगिए पुग्छ भन्ने हो भने त्यसको त कुनै औषधी छैन ! हुन त देश कहिले पो सप्रेको थियो र अब बिग्रनु अनि बिग्रन के नै पो बाँकी छ र ? आफु सप्रे भइहाल्यो नि चुनावमा बाहेक अरू बेला नचाहिने जनताको के मतलब… ?

विद्यालय र विश्वविद्यालयमा आंशिकका नामबाट वर्षभरिमा नित्य एक घण्टी पढाएजतिलाई स्वतः करारमा, करार गरेको दिव्य पैंतीस दिनपछि स्वतः स्थायीमा र स्वतः स्थायी भएको वर्ष दिन नपुग्दै पदोन्नति गरिपाऊँ भन्ने शिक्षक–प्राध्यापकहरू, चार कक्षासम्मको उच्चशिक्षा हासिल गरी दिव्य तीस दिने तालिम प्राप्त गरे जतिलाई डाक्टर बनाइपाऊँ र ठूलो डाक्टरी पढ्न विदेश जानपाऊँ भन्ने दक्ष स्वास्थ्यकर्मीहरू तथा कार्यालयमा बसेर जनताको सेवा गर्नाको सट्टा ट्रेड युनियनादिका नाममा पाटी कार्यालयमा बसेर गुड्डी हाँक्ने राष्ट्रसेवक भनिने दलेझोले कर्मचारी एवं न्यायकर्मीहरूले आआफ्ना माग राखी यत्रतत्र खामरण अनसन गर्ने क्रम प्रजातन्त्रको आगमनदेखि नै बढ्दोछ । दलबलसहित झन्डा हल्लाउँदै जुस बोकेर आई तिनका माग पूरा गरिदिने कार्य पनि भइरहेकै छ । यसबाट शिक्षा, स्वास्थ्य, सरकारी निकाय, न्यायालय सबको भविष्य हेर्न लायकको साँच्चिकै सुन्दर शान्त विशाल हुँदोछ…! प्रजातन्त्रको आगमनसँगै कृष्णको प्रसादबाट दिव्य एक वर्ष पार गरेकाजति स्वतः स्थायी भएका मुसे र लोकतन्त्रको आगमनसँगै कोइरालो जुसबाट स्वतः स्थायी भएका जुसेहरूलाई नै विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरूको नेतृत्व दिन थालिइसकेको छ…। तिनले चाहिँ यो क्रम रोक्छन् कि त हेर्दै जाऊँ…. कर्मचारीतन्त्र र न्यायव्यवस्थाको अवस्था पनि योभन्दा खासै फरक छैन…। विश्वविद्यालयमा एक दिन नपढाई बनेका प्राध्यापक, एकजना बिरामीलाई पनि सुई नहानी बनेका वा हानेर बिरामी मारेका डाक्टर, दलेझोले कर्मचारी एवं भागबन्डे न्यायकर्मी मिलेर देशको शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र र न्यायसम्बन्धी नीति बनाएपछि त देश सभ्य, शिक्षित र स्वस्थ्य हुन खासै बेर लाग्ने नै भएन नि … ।

शैक्षिक–प्राविधिक, न्यायिक एवं जनता र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पदहरूको पूर्तिसमेत योग्यताका आधारमा स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट नभएर खामरण अनसनका माध्यमबाट हुन थालेपछि अरूको त के कुरा भो र… ? यसबाट देश सयौँ वर्ष पछि धकेलिए पनि वा जतिसुकै गुणात्मक ह्रास आए पनि के फरक पर्छ र ? हाम्रा मान्छेले जागिर पाए भैहाल्यो नि…! यसबाट योग्यहरूका लागि कि चुप लागेर विदेशतिर पलायन हुने कि त खामरण अनसनतिरै लाग्नेमध्येको एक विकल्प रोज्ने स्थिति पैदा हुँदोछ…। मूल्यमान्यतारहित व्यवस्थाविहीन व्यवस्थामा योभन्दा बढी के अपेक्षा गर्न सकिन्छ र… ?

हामी सङ्ख्या गनेर सत्ता सम्हाल्न बानी परेका मान्छे गुण किन पो चाहियो र ? निष्पक्ष सेवा आयोगका माध्यमबाट पदपूर्ति गरिनु खराब कार्य भएकाले अब सेवा आयोगको सट्टा खामरण अनसन आयोग गठन गरौँ र त्यसकै माध्यमबाट सबैखाले पदपूर्ति गरौँ । यस आयोगको अदक्ष हुन मजति अनुभवी कोही छैन नि, सबले बुझिराखौं…। पदपूर्तिको थालनी तल्लो श्रेणी ल्याउनेबाट क्रमशः गर्दै जाऊँ । ती सकिएपछि माथिल्लो श्रेणी ल्याउनेको पालो आइहाल्छ नि ! हतारिनु केलाई छ र ? आखिर बीसतीस वर्षको कुरो त हो नि… !

जुनसुकै बेला जेसुकैमा पनि धर्ना, जुलुस, चक्काजाम, तालाबन्दी र खामरण अनसन गर्ने प्रचलन बढ्दै जाने र तिनका माग दनादन पूरा गर्दै जाने हो भने भोलि पियनले सचिव अनि सारा लन्ठुलालजतिले मन्त्री, प्रधानमन्त्री वा राजै हुन पाऊँ भनी खामरण अनसन बस्न के बेर र ? अनि त्यतिखेर ती माग कसले पूरा गर्ने नि ? अहिलेका खामरण अनसनकारीहरू उहिले महादेवका अगि अनसन बसेर माग पूरा गराउने भस्मासुरजस्तै बने भने त्यतिखेर हाम्रा सत्ताधारीहरूको के हविगत होला ?

नित्यक्रियाका लागि ठाउँको अभाव दर्साउँदै सम वा विषम यौनकर्मीहरूबाट रत्नपार्क खाली गरिपाऊँ भनी खामरण अनसन सुरु गर्दैछन् भन्ने हल्ला पनि सुनिँदैछ । तिनलाई जुस ख्वाउनेबारे पनि सोच्नोस् है मन्त्रीज्यूहरू ! अहिले हौसिएर तिनलाई पनि जुस नख्वाए मन्त्री खुस्केका भोलिपल्ट आफ्नो नित्यक्रियाका लागि तपाईंले पनि अर्कै ठाउँ खोज्नुपर्ला नि…।

सामाजिक संस्कारलाई प्रदूषित तुल्याउने हाम्रै समाजको प्रतिष्ठित कलङ्कका रूपमा रहेका बाउले बिहे गर्देनन् भन्ने लबस्तराहरू अनि पोइल जान पाम् भन्ने नकच्चरीहरूले निर्र्लज्ज र अशिष्ट राँडे रुवाइ गर्दै हिँड्नुभन्दा ती दुवै थरी बोकाबोकी मिलेर पोइल वा जोइल गए भैहाल्यो नि, कसले रोकेको छ र तिनलाई पोइल वा जोइल जानबाट… । त्यसबाट सङ्ख्यै बढ्ने हो, गुणस्तरमा ह्रास आउँदैन क्या रे ! हैन प्रचारै खोजेको भए दुवै मिलेर रत्नपार्क वा माइतीघरकेन्द्री खामरण अनसन बसे भैहाल्छ नि, किन राँडे रुवाइ मच्चाएर दुनियाँ हँसाउँदै हिँड्नु ? अनि यिनका माग पूरा गरेर दुवैलाई सांसद् बनाई स्यालगुफातिर छिराए हुन्छ, एकलाई मात्र छिराएर अन्याय गर्न मिल्दैन नि…।

हुन त म पनि अहिलेसम्म नागै छु, एउटी मलाई पनि चाहिया छ तर मेरो इरादाचाहिँ अलि ठूलै भएकाले त्यसका लागि म पनि रत्नपार्क वा माइतीघरमै गएर खामरण अनसन बस्ने सुरसार कस्दैछु । यसैलाई प्रेस विज्ञप्ति माने हुन्छ ।

मेरो मागचाहिँ राजा, राष्ट्रपति, मन्त्री, सचिव, प्राध्यापक आदि पद करारमा पाऊँ भन्ने होइन । भिसी बनाइपाऊँ, सिसी भरिपाऊँ भन्ने पनि होइन । मेरो एक सूत्रीय माग कुनै उच्च ओहोदावाल खरबपतिकी बुढीकन्यासँग करारमा बिहे गर्न पाऊँ भन्ने हो । यो एक सूत्रीय माग राखी आगामी ३३ गते जुम्रेबारदेखि म सबै बस्ने गरेकै ठाउँ रत्नपार्क वा माइतीघरमा खामरण अनसन बस्नेछु । दुवैतिर ठाउँ बुकिङ भइसकेको छ, नभएको भए यसै सूचनालाई आधार मानी बुक गरिदिनुहोला । त्यो समय त्यस ठाउँमा अनसन बस्न अरू कोही आए त्यसको दोहोलो काढिनेछ । मैले प्रचारप्रसारका लागि भरुवाहरू खटाइसकेको छु । पालको बन्दोबस्त हुँदैछ । अनसन अवधिभरि डाक्टरी जाँच गर्न आउने डाक्टरले आफ्ना करङ्का भाटा र मकै खानेको जगेर्ना स्वयं गर्नु पर्नेछ । गोपनीयता भङ्ग नगर्ने सर्तमा खामरण अनसनबाटै बनेका चारपासे सहयात्री डाक्टरसाहेबहरूलाई चाहिँ परीक्षणको अनुमति दिन सकिनेछ । सम्बद्ध निकायबाट मेरो एक सूत्रीय माग पूरा नगरिदिए धर्ना, जुलुस, तोडफोड, टायर जलान, चक्काजामलगायत जेसुकै गरेर भए पनि म माग पूरा गराएरै छाड्नेछु । म एक्लै छुइन, भाडाकै भए पनि हुलै बनाएको छु… ।

मन्त्रीज्यूहरू टिभीमा देखिनका लागि दौरासुरुवालमा आइरन लगाएर सरकारी जुस ठिक्क पारी सूचना पाउनासाथ दलबलसहित दौडिहाल्न तयार रहनुहोला । घुसको सट्टा सरकारी जुस खान पल्केका मजस्ता खामरण अनसनकारी तथा राती निजी घुस खाएर सुत्ने अनि दिउँसो सरकारी जुस खुवाएर टिभीमा देखिन लालायित तपाईंजस्ता अनुभवी मन्त्री महोदयहरू वास्तवमा हामी दुईथरी हात्ती र हात्तीछाप चप्पलजस्तै त हौँ नि… !

उच्च ओहोदावाल खरबपति बुढीकन्याका बाउआमाहरू आवश्यक बन्दोबस्तसहित तयारी अवस्थामा रहनुहोला । यसमा जातपात, उमेर, रूपरङ्ग आदि केहीको पनि बन्देज छैन । उमेदवार एकभन्दा बढी भएमा सर्वाेच्चकीलाई ग्राह्यता दिन, लिलाम बढाबढ गर्न वा स्वेच्छापूर्वक सबैलाई ग्रहण गर्न पनि सकिनेछ । सबै कारोबार जिन्सीमा नभई नगदनारायणमा हुनेछ । डलरलाई विशेष ग्राह्यता दिइनेछ । करारमा बिहे गर्ने मेरो माग पूरा भएपछि त्यस बुढीकन्यासँग स्थायी बिहे गर्ने वा सम्पत्ति नामसारी गरी अर्कैतिर लाग्ने भन्नेबारे गरिने खामरण अनसनको तिथिचाहिँ आपसी समझदारीमा पछि साइत हेराएरै निधो गरौँला…।

उहिल्यै पार्वतीले पनि महादेव पोइ पाऊँ भनी आमरण अनसन बसेको र सो माग पनि महादेवबाट पूरा गरिएको कुरा हामीलाई थाहै छ । यसर्थ अहिलेको परिवर्तित नारीवादी युगमा मैले कुनै सर्वाेच्च खरबपतिकी बिहे हुन बाँकी रहेकी वा छोडपत्र गरेकी भए नि चल्छ, बुढीकन्या स्वास्नी पाऊँ भनी खामरण अनसन बस्नुलाई कसैले पनि नाजायज भन्न मिल्दैन । सोरै आना जायज छ । जायजीको प्रमाणस्वरूप मेरो फोटोसहित प्रचार गरिदिने पत्रकार बन्धुहरूलाई माग पूरा भएको चौैबीस घण्टा नबित्दै प्राप्तिबाटै केही अंश छुट्ट्याएर वितरण गरिनेछ । नगरे रत्नपार्क वा माइतीघर खाली छँदैछ… । अब खामरण अनसनको इतिहासमा मेरो नाम स्वर्ण अक्षरले लेखिने पक्का छ, तपाईं पनि आफ्नो नाम लेखाउन कुनै इस्यु खोजेर तयार रहनुहोला । जय खामरण अनसन… !

============
बिआरटी नेपाल डट कममा प्रकाशित लेख हुबहु साभार नगर्न हुन बिनम्र अनुरोध गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ । धन्यवाद ।