अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

दोलखा भीमसेनलाई अब कहिल्यै पसिना नआओस्

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७८ माघ १५ गते ९:२५ मा प्रकाशित

२०७८ पुस २४ गते शनिबार बिहान आठ बजेतिर नवीन केसी, ईश्वर चौहान, लीला लुइटेल र म रामेछापको सदरमुकाम मन्थलीबाट दोलखा भीमसेनको दर्शन गर्न दोलखातिर लाग्यौँ । तल तामाकोसीको सुसाहट र माथि हाम्रो यात्रा निरन्तर रूपमा अगि बढिरह्यो तर गति भने विपरीत दिशामा थियो । कुनै बेला नदी फुत्त उफ्रिएर तरिएलाजस्तो देखिन्थ्यो भने कुनै बेला छेउमै डुबिएलाजस्तो देखिन्थ्यो । खोला वारिपारिका डाँडामा कतै पातला र कतै बाक्ला घर देखिन्थे । त्यतातिरका सबैजसो घर निला जस्तापाताले छाएका रहेछन् । यो भूकम्पपछिको विकास हो रे । वारिपारिका भिराला पाखामा निकै ठूलाठूला खेत देखिन्थे । तिनमा कतैकतै गहुँ र तोरी थिए भने धेरजसो बाँझै थिए । खेतमा आली काटेको र भित्ता खुर्केको पनि प्रस्टै देखिन्थ्यो । त्यहाँ रुखमा पराल र ढोड राख्ने प्रचलन बाँकी नै रहेछ । ठाउँठाउँ बाक्लै केराघारी पनि देखिन्थे । तिनमा कतिपय जङ्गलीजस्ता र कतिपय रोपेकैजस्ता लाग्थे । जङ्गली केरा र घरकेराबारे धेरै बेर छलफल भयो । वरपर शमी र वरपिपलका निकै ठूला देख्दा शमी र वरपिपलका रुख काट्नु हुन्न भन्ने प्रचलित परम्परा त्यतातिर कायमै रहेको बुझियो ।

रामेछाप जिल्लाबाट दोलखा जिल्ला टेकेर अलि अगाडि बढेपछि फेरि रामेछाप जिल्ला नै टेकिने रहेछ । बाटामै पर्ने खिम्ती जलविद्युत आयोजनाको पनि अवलोकन गरियो । अपर तामाकोसीबारे पनि चर्चापरिचर्चा भयो । हाम्रो यात्रा सुस्त गतिमा अगि बढ्दै गयो । कतिपय ठाउँमा त हिमाल आँखैअगाडि ठोकिन आएजस्तो देखिने…। खुला ठाउ“मा गाडी रोकेर रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर र अरू नाम नजानेका थुप्रै हिमाल मन भरिउन्जेल हेरियो र फोटा पनि खिचियो ।

नेपालमा गौरीशङ्कर हिमालको विशेष महत्व छ । गौरीशङ्कर हिमाललाई आधार मानेर नेपालको प्रमाणिक समय निर्धारण गरिएका कारण यसको विशेष महत्व छ भने मेरा लागि त आफ्ना हजुरबाका नामको हिमाल झन् महत्वपूर्ण हुने नै भयो । त्यहाँबाट देखिने सबैजसो हिमालमा पूरै काला ढुङ्गा देखिन्थे भने हिउँ अलिअलि मात्र देखिन्थ्यो । यसो हुनाको कारण वातावरणीय परिवर्तनको प्रभाव नै हो । घाम राम्रैसँग लागेकाले हामीलाई जाडोको अनुभूति भने पटक्कै भएन । त्यस दिन पानी पर्छ भन्ने मौसम पूर्वानुमान महाशाखा पनि फेल खायो…।

जनकपुर अञ्चलको एउटा पहाडी जिल्ला दोलखाको सिमाना सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारका रूपमा रहेको यस जिल्लाको सदरमुकाम चरीकोट हो । पहिले पूर्व २ नम्बर गोश्वाराको प्रशासनिक इकाइका रूपमा रहेको र २०१८ सालदेखि छुट्टै जिल्ला बनेको दोलखामा जिल्ला स्तरीय सरकारी कार्यालय भने २०२४ सालदेखि मात्र स्थापना भएका हुन् ।

दोलखाको नामकरणका बारेमा यसप्रकारका किम्बदन्ती र जनश्रुति पाइन्छन्:

  • उहिले मुगलको अत्याचार सहन नसकी भारतवाट भागेर आएका एकजना जोगीले गौरीशङ्कर हिमालका काखको एउटा गुफामा लुकेर तपस्या गरेको, तपस्याबाट शिवजी प्रसन्न भई वरदान दिएको, वरदान पाएपछि जोगी खुसी भएर अनेकतिर घुम्न हिँडेको, दुई लाख पटक घुम्दा पनि त्यही ठाउँमा पुगेकाले त्यस ठाउँको नाम दुई लाख, दोलाख हुँदै दोलखा रहेको ।
  • उहिले भारतबाट तिब्बतसँगको व्यापार गर्न यही बाटोबाट हिंड्ने गरेको, पछि यसलाई वनगढका रूपमा विकास गरी त्यहाँ काठमाडौँबाट नेवारहरू लगेर राखिएको, त्यो ठाउँ अधिकरण गर्दा दुई लाख प्राप्त भएकाले यसको नाम दुई लाखा राखिएको र पछि दोलाखा हु“दै दोलखा हुनपुगेको ।
  • दोलखाको नामकरण तिब्बती भाषाबाट गरिएको, तिब्बती भाषामा दो=ढुङ्गा, ल=मन्दिर र खा=घर भएको अनि यहाँ ढुङ्गाबाट निर्मित मन्दिर र घर प्रशस्तै भएकाले यसको नाम दोलखा राखिएको ।
  • पहिले स्वतन्त्र किराँत राज्यको माझकिराँत खम्बुवान क्षेत्रमा रहेको मानिने दोलखामा अहिले पनि किराँतीछाप भन्ने ठाउँ रहेको छ । राजा उद्धवदेवले दोलखाधिपति लेख्ने गरेकाले पनि दोलखा छुट्टै राज्य भएको बुझिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका सिलसिलामा यसलाई आफूमा समाहित गरेका हुन् ।

कृषिक्षेत्र, वनक्षेत्र र घाँसे चरनभूमि रहेको दोलखा जिल्लामा केही टार, बेंसी र खोंच रहे पनि अधिकांश भूभाग उच्च पहाडी र हिमाली क्षेत्रमा रहेको छ । नेपालको प्रामाणिक समय निर्धारण गरिएको गौरीशङ्कर हिमाललाई हिन्दुहरूका अराध्यदेवदेवी शिव र पार्वतीसँग जोडी धार्मिक आस्थाका कारणले आरोहण गर्न निषेध गरेको पाइए पनि यस क्षेत्रका धेरै व्यक्तिले विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसकेकाले यसलाई हिउँमान्छेको गाउँ भन्ने गरिन्छ । धेरजसोले भरियाका रुपमा सगरमाथालगायतका हिमालको आरोहण गरेको बुझिन्छ । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो कीर्तिमानी व्यक्ति पनि यहीँका हुन् ।

धार्मिक पर्यटनको प्रशस्तै सम्भावना रहेको दोलखा जिल्लामा दोलखा भीमसेनबाहेक जिरीश्वर महादेव, देउलाङ्गेश्वर महादेव, बैतेश्वर महादेव, राम्बोले महादेव, शैलुङ्गेश्वर महादेव तथा कालिन्चोक भगवती, महाङ्काल भगवती, चरणावतीधामजस्ता धार्मिक स्थल पनि रहेका छन् । मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण दोलखा जिल्लामा गौरीशङ्कर हिमाल, रोल्बालिङ हिमशृङ्खला, नेपालकै सबभन्दा ठूलो हिमताल च्छोरोल्पा, जटापोखरी, बहुलापोखरी, शिवपोखरी, जिरी उपत्यका, रोलवालिङ उपत्यका, किर्नेटार, चेर्दुङडाँडा, शैलुङडाँडा, हनुमन्तेडाँडा, टसी गुम्बा, बिगु गुम्बा, चरीकोटजस्ता पर्यटकीय स्थल पनि प्रशस्तै छन् । अनेक नामधारी महादेव र हिमालका साथै गौरीशङ्कर हिमाल पनि रहेकाले उहिले महादेवको बसोबासै दोलखातिरै रहेछ कि भन्ने अनुभूति हुन्छ… ।

हामी चरीकोट जाने उकालो बाटो छोडेर दोलखा जाने तेर्सो बाटातिर लाग्यौँ । बाटो कच्ची भए पनि गाडी चल्नसक्ने नै रहेछ । खाँडादेवी मन्दिर अग्लो ठाउँमा छ भने दोलखा भीमसेन मन्दिर अलि होचै ठाउँमा रहेछ । दोलखा बजारको छेउमा अवस्थित भीमेश्वर भीमसेन मन्दिर दोलखा भीमसेनका नामले प्रसिद्ध छ । यो नेपालकै प्रसिद्ध मन्दिर हो । दोलखा भीमसेनको मन्दिरनजिकै गाडी राखेर हामी मन्दिरतर्फ लाग्यौँ । हामी त्यहाँ पुग्दा बार बज्नै लागेको थियो । मन्दिर सफाइ र नित्यपूजाको समय हुनै लागेको रहेछ । हामी मन्दिर परिक्रमा गरी ढोकाबाट भित्र छिर्नेबित्तिकै पुजारीले अरू सबै दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न रोके । हामीले निकै समय लगाएर मन्दिरको दर्शन र अवलोकन दुवै गर्‍यौँ ।

भीमसेनको शिलाबाट पसिना आउने कुरा पहिलेदेखि नै जानकारी भएकाले यसबारे पुजारीसँग कुराकानी गरियो । पसिना आउने ठाउँ कुन हो भनेर मैले पुजारीलाई सोध्दा उनले ‘हजुरले पूजा गरेकै ठाउँ हो’ भने । त्यहीँबाट रातो टीका लगाएर अनिष्टबाट मुक्तिको कामना गरियो ।

दोलखा भीमसेन मूर्तिको स्थापना कहिले र कसले गरेको भन्ने खास प्रमाण भेटिन्न । भीमसेनका मूर्तिको देब्रेतिर भीमसेनको गदा ठड्याएर राखिएको र छेउछाउमा कुन्ती, द्रौपदी, नहकुल र सहदेवका शिलामूर्ति पनि राखिएको हुँदा यसको स्थापना महाभारतको युद्धपछि गरिएको अनुमान गर्न सकिन्छ । बडादशैँमा पूजा सङ्कल्प गर्दा किराँतकालदेखि लिच्छवीकाल, मल्लकाल हुँदै शाहकालसम्मका राजाहरूको नाम लिने प्रचलन रहेकाले पनि यसको इतिहास प्राचीन नै रहेको बुझिन्छ । भीमसेनलाई बल, वीरता, साहसका साथै अन्यायअत्याचारका विरुद्ध लड्ने योद्धाको प्रतीकका रूपमा लिइए पनि यस मन्दिरलाई महादेवका रूपमा पनि लिइन्छ ।

दोलखा भीमसेनको उत्पत्तिका बारेमा यस्ता किम्बदन्ती पनि प्रचलित रहेछन्:

  • पाँच पाण्डव गुप्तवास जाने बेलामा भीमसेन मन्दिरका पूर्वतर्फकोे डाँडामा बसी गौरीशङ्करको प्रार्थना गरेको र पछि भीमसेन मन्दिर बनाएको ।
  • उहिले कुनै बेला त्यहाँ बास बस्न पुगेका १२ जना भरियाले त्रिभुजाकार चुच्चे ढुङ्गामा अरू दुईवटा ढुङ्गा राखेर चम्का बनाई भात पकाउँदा त्रिभुजाकार चुच्चे ढुङ्गातिर भात काँचै भएको, रिसले हिर्काउँदा ढुङ्गाको चोइटाबाट दुध र रगत मिसिएको तरल पदार्थ बगेको, साक्षात् भगवान रहेको ठानी भरियाले डराएर माफी मागेको र पूजा गरी गन्तव्यतर्फ लागेकोे । ती भरियाका सन्तानले निकै पछिसम्म बडादशैँको अष्टमीमा बोका बलि दिने गरेको जानकारी पाइन्छ ।
  • निकै पहिले त्यहाँ बास बस्न पुगेका व्यापारीले भात पकाउन प्रयोग गरेका तीन ढुङ्गामध्ये एउटा मन्दिरको ढुङ्गा भएको र अरू ढुङ्गाको वरिपरि भात पाकेको तर त्यस ढुङ्गातिर काँचै भएको, व्यापारीले त्यसलाई झोंकिएर पन्युले हिर्काउँदा चुच्चो भाँचिएर दुध र रगतको धारा बगेको, देवता भएकोे ठानी पूजाआजा गर्न थालेको ।
  • यसरी ढुङ्गामा हिर्काएको, रगत आएको, देवदेवीको उत्पत्ति भएकोजस्ता किम्बदन्ती अनेकतिर पाइन्छन् । तेरथुमको म्याङ्लुङ पनि यसरी नै उत्पत्ति भएको किम्बदन्ती प्रचलित छ ।

दोलखा भीमसेन मन्दिरमा त्रिभुजाकार कालो शिलाको सानो मूर्ति रहेको छ । यसलाई भीमेश्वर, भीमसेन र भैरवका रूपमा पूजा गरिने हुँदा एक शिला तीन अवतार मानिन्छ । यस मूर्तिलाई नै देवी भगवती मान्ने गरेको पनि पाइन्छ । यहाँ रुद्री पूजा र बलि पूजा दुवै गर्ने प्रचलन छ । भीमेश्वर भीमसेनलाई महादेवका रूपमा रुद्री पूजा गरिन्छ भने शिवको एउटा गण मानिने भीमसेन भैरवले मात्र बलिपूजा ग्रहण गर्ने विश्वासका साथ भीमसेन भैरवका रूपमा बलि पूजा गरिन्छ । बलि पूजा गरेका बेला शिवजी दोलखा भीमसेन चूडामणिमा गएर बस्ने जनश्रुति रहेको छ । यसरी पूजा गर्ने प्रचलन कहिलेदेखि सुरु भएको भन्न नसकिए पनि स्थापना कालदेखि नै भएको ठानिन्छ ।

भीमेश्वरलाई व्यापारीहरूले इष्टदेवताका रूपमा पूजा गर्ने प्रचलन छ । पहिलेदेखि अहिलेसम्म नै व्यापार सुरु गर्दा वा व्यापार गर्न टाढाटाढा जाँदा नदीनाला, चोरडाका, वन्यजन्तु आदिको भयबाट मुक्त हुन तथा व्यापारमा नाफा होस् भनी भीमसेनलाई स्मरण गरेर पूजा गर्दा सङ्कटबाट मुक्ति पाइने र व्यापारमा नाफा हुने विश्वासका कारण व्यापारीले भीमसेनलाई इष्टदेवता मानेको बुझिन्छ ।

दोलखा भीमसेनलाई भीमेश्वर महादेव, रुद्र, भीमसेन, भैरव, नारायण आदि विभिन्न देवताका रूपमा आ-आफ्नै धर्मसंस्कृतिअनुसार पूजाआराधना गर्ने प्रचलन रहेको देखिन्छ । यस मन्दिरमा दैनिक पूजा गर्ने प्रचलन रहेको भए पनि हरेक मङ्गलबार र शनिबार तथा असार–साउन महिना नेपालका विभिन्न ठाउँ र भारतबाट समेत दर्शनार्थीको बाक्लै उपस्थिति हुने गर्छ । दोलखा भीमसेनलाई मनले चिताएको पूरा गर्ने मन्दिर मानिने हुँदा सुखशान्ति, समृद्धिका साथै सन्तान प्राप्तिजस्ता मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ प्रत्येक दिन टाढाटाढाबाट ठूलो सङ्ख्यामा भक्तजनहरू दोलखा भीमसेनको दर्शन गर्न जान्छन् । मनले चिताएको पूरा भएको भनी भाकल पूरा गर्न पनि भक्तजनहरू त्यहाँ जाने गर्छन् । भीमेश्वरको दर्शनबिना पशुपतिनाथको दर्शन अपूर्ण हुने भनाइ पनि प्रचलित छ ।

भीमेश्वर मन्दिरमा विशेषतः बडादशै, चैतेदसैँ, शिवरात्री, बालाचर्तुदशी, रक्षाबन्धन, भीमएकादशी आदि पर्वमा विशेष पूजा र मेला लाग्ने भएकाले बढी भिड हुने गर्छ । बडादशैमा राँगा, बोका थुमा, हाँस र कुखुराको विशेष बलि दिने तथा रुद्रीपूजा, बलिपूजाका साथै लाखबत्ती बाल्ने प्रचलन पनि रहेको छ । यहाँ पहिलेदेखि नै मन्दिरभित्रै पूजा गर्ने र पशुबलि दिने दुवै गर्ने गरेको देखिन्छ । भूकम्पभन्दा केही पहिले मन्दिरबाहिर बलि दिन थालिएको भए पनि मन्दिरबाहिर बलि दिइएकाले भूकम्प गएको भनी स्थानीयले बाहिर बलि दिन नमानेका हुँदा पुनः भित्रै बलि दिन सुरु गरिएको जानकारी पाइन्छ । मन्दिरभित्रै बलि दिने प्रचलनलाई स्थानीय बासिन्दाले उपयुक्त ठानेको र बाहिरबाट आउने दर्शनार्थीले अनुपयुक्त ठानेको बुझिन्छ । यसरी पूजा गर्ने र पशुबलि दिने ठाउँ एउटै भएकाले दर्शनार्थीलाई असहज भएको देखिए पनि यो जनआस्थासँग गाँसिएको विषय भएकाले सजिलै परिवर्तन गर्न सहज देखिन्न ।

यस मन्दिरमा नित्यपूजा, साधारणपूजा, चाडपर्वमा विशेषपूजा, एकलपूजा गर्ने र पञ्चबलि दिने प्रचलन छ । पूजाका लागि गुठीको व्यवस्था पनि गरिएको यस मन्दिरमा गुठीयार र टहलुवाको पनि व्यवस्था रहेछ । गुठीयारले नित्यपूजा र चाडपर्वअनुसारका विशेष पूजा गर्ने तथा टहलुवाले मन्दिर र यसको चल सम्पतिको रेखदेख एवं पूजासामग्रीको व्यवस्थापन गर्ने प्रचलन रहेछ । यस मन्दिरमा परापूर्वकालदेखि स्थानीय राजामहाराजाका साथै सर्वसाधारणले पनि गुठीको व्यवस्था गरेको र सुनचाँदीका गहना चढाएको बुझिन्छ ।

दोलखा भीमसेनलाई सङ्कटको पूर्वसूचक वा भविष्यसूचक देवता मानिन्छ । भीमसेनको मूर्तिमा बेलाबखत पसिना आएको सुनिन्छ र देखिन्छ पनि । भीमसेनका मूर्तिमा पसिना आउनुलाई सङ्कट, अनिष्ट वा अनर्थको पूर्वसङ्केतका रूपमा लिइन्छ । मूर्तिमा पसिना आए देशलाई पिरोल्ने वा देशमा ठूलै सङ्कट आउने वा अनिष्ट वा अनर्थ हुने विश्वास उहिलेदेखि अहिलेसम्म नै रहिआएको छ । देशमा ठूलै सङ्कट वा अनिष्ट वा अनर्थ हुनुभन्दा पहिले भीमसेनका मूर्तिमा पसिना आउने ठानिन्छ । भीमसेनको मूर्तिमा पसिना आउँदा राजा वा राष्ट्रप्रमुखले क्षमापूजा वा विशेष पूजाअर्चना गर्ने प्रचलन रहेको छ । प्राप्त जानकारीअनुसार १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६, २०५७, २०६३, २०७२ सालमा भीमसेनका मूर्तिमा पसिना आएको र यी सबै वर्षमा पसिना आएको ६ महिनाभित्र देशमा ठूलो प्राकृतिक प्रकोप, दरबारमा अनिष्ट, राजनैतिक उतारचढाब आएको जनविश्वास रहेको छ । भीमसेनको मूर्तिमा यसरी पसिना आउँदा कपासले पसिना पुछ्ने र त्यो कपास दरबार पठाउने अनि दरबारबाट क्षमापूजाका लागि बलि पठाउने प्रचलन रहेको जानकारी पाइन्छ । देवीदेवता नमान्ने कथित गणतन्त्रकालमा पनि क्षमापूजा गरिएको थियो ।

अबउप्रान्त भीमसेनका मूर्तिमा कहिल्यै पसिना नआओस् र देश सङ्कट वा अनिष्टबाट मुक्त होस्, सुखशान्ति र समृद्धि आओस् भन्ने कामनाका साथ भीमसेनको दर्शन गरेर हामी बाहिर निस्कनेबित्तिकै पुजारीले ढोका बन्द गरे । त्यहाँका पुजारी नेवार जातिका रहेछन् । भीमसेनलाई व्यापारका देवतासमेत मानिने हुँदा त्यहाँका पुजारी नेवार राखिएको रे । मन्दिरभित्र फोटा खिच्न निषेध भएकाले हामी मन्दिर परिसरमा फोटा खिचेर चरीकोटतिर उकालो लाग्यौँ ।

ऐतिहासिक स्थल दोलखा बजार र चरीकोट नजिकै रहेका छन् । दोलखा बजारमा नेवार, थामी, तामाङ, दमाईं आदि तथा चरीकोटमा बाहुन, क्षेत्रीलगायत मिश्रित समुदायको बसोबास रहेको छ । दोलखाका नेवारले बोल्ने भाषा अन्यत्रको भन्दा फरक रहेको बुझियो । उहिले यहाँ पाण्डवहरू गुप्तवास बसेका बेला प्रयोग गरिने साङ्केतिक भाषा नै अहिले दोलखाली नेवारी भाषा भएकाले यो अन्यत्रको भन्दा फरक भएको भन्ने किम्बदन्ती रहेछ ।

दोलखामा पुरातात्विक महत्वका प्राचीन धार्मिक–सांस्कृतिक सम्पदा प्रशस्तै भए पनि तिनको संरक्षण भने उति भएको देखिन्न । अहिले यहाँका मठ, मन्दिर, चैत्य, दरबार, पोखरी आदिको जीर्णोद्धार द्वाल्खा गुठीले गरिरहेको जानकारी पाइन्छ । यहाँ बेलाबखत केही सामयिक पत्रिका प्रकाशित हुने गरेको जानकारी पाइए पनि निरन्तरता भने नभएको देखिन्छ ।

नवीनले बाटैबाट फोन गरेर हाम्रो खानाको बन्दोबस्त गरिसकेका थिए । चरीकोट बजारको चोकमै रहेको अदिति भवनमा अवस्थित चरीकोटको एक मात्र दुई तारे होटल एम्ब्रोसियाको सातौँ तलामा लिफ्टबाट गइयो । दोलखा उद्योग वाणिज्य सङ्घका पूर्वकार्यकारी अधिकृत राजन थापा हामीलाई नै कुरेर बसिरहेका थिए । उनी स्थानीय नेता भए पनि निकै फस्र्याइला व्यक्ति रहेछन् । उनले हामीलाई रामै्र खातिरदारी गरे । होटलको सबैभन्दा माथि भ्यु टावरसमेत बनाइएको रहेछ । खाना खाइसकेपछि हामीले त्यहा“ चारैतिरबाट फोटा खिच्यौँ ।

त्यस होटलमा मात्र होइन त्यस क्षेत्रका अग्लाअग्ला डाँडामा समेत ठूलो खर्चमा भ्यु टावर बनाएको देखिन्थ्यो । कालीन्चोक डाँडामा पनि भ्यु टावर बनाएको देखियो । खाना खाएर ओर्लने बेला बत्ती गएकाले लिफ्टबाट नभई भर्‍याङबाटै ओर्लँदा विभिन्न तलामा राखिएका पसलको पनि अवलोकन गरियो । त्यहाँका पसल विदेशका जस्तै देखिन्थे, त्यसमा पनि राजन थापाको पसल विशेष खालको रहेछ । राजन थापा हामीलाई बिदा गर्न बाहिरसम्मै आए र हामीलाई बिदा गर्नेबित्तिकै पाटीको मिटिङ छ भन्दै हुइँकिए । कालीन्चोक र शैलुङ जाने बाटो सारै चिप्लो भएको जानकारी भएकाले त्यताको यात्रा अर्को पटकलाई बाँकी राखेर हामी दोलखाको सदरमुकाम चरीकोटबाट अगिकै बाटो रामेछापको सदरमुकाम मन्थलीतिरै मोडियों।