अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

डा.तारानाथ शर्मासँगको अन्तरङ्ग सम्बन्ध अब स्मृतिमा मात्र…

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७९ वैशाख १६ गते ६:४६ मा प्रकाशित

डा. तारानाथ शर्मा नेपाली साहित्यका फाँटमा परिचयका लागि फूलबुट्टा भरिरहनुपर्ने नाम होइन । नेपाली साहित्यमा तानासर्मा र डा. तारानाथ शर्मा नाम नै काफी छ । उनको नाम उहिलेदेखि नै सुनेको भए पनि उनीसँग मेरो प्रत्यक्ष चिनजान र भेटघाटचाहिँ काठमाडौं आएपछि मात्र भएको हो । उनीसँग चिनजान भएको ठ्याक्कै तिथिमिति सम्झना नभए पनि चिनजानपछिको सम्बन्ध भने सुमधुर थियो । उनी मसँग भेट हुनेबित्तिकै निकै हौसिएर कुरा गर्थे । टेलिफोनमा पनि त्यस्तै । उनलाई म दाइ भन्थें उनी भाइ भन्थे । हाम्रा बीच स्वर्थरहित अन्तरङ्ग सम्बन्ध थियो ।

तारानाथ दाइ कुनै बेला नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा पढाउँथे । उनले कीर्तिपुरमा पढाउने बेलामा त म थिइन तर धेरै कुरा सुनेको थिए । चिनजान भएपछि उनी मसँग भेट हुनेबित्तिकै कीर्तिपुरकै सन्दर्भ कोट्याएर कुराको थालनी गर्थे र आफूले कीर्तिपुर छोड्नु परेको कारण वासुदेव त्रिपाठी भएको बताउँथे । त्रिपाठीले गर्दा कीर्तिपुरमा पढाउने धोको पूरा नभएको भन्दै उनी आक्रोशपूर्ण पीडा पोख्थे । म कीर्तिपुर पढाउन थालेको कुरा थाहा पाएपछि कसरी टिक्नुभाछ भनी सोध्थे । म तेरथुमको पानी खाएको मान्छे भन्ने दाइलाई थाहा छैन र ? भन्थें । उनी त्यो त राम्रैसँग थाहा छ, किन थाहा नहुनु भन्दै धाप मारेर मजाले हाँस्थे ।

तारानाथ दाइ आफूले वासुदेव त्रिपाठीका कारण कीर्तिपुर छोड्नु परेको, बिदेसिनु परेको भन्ने कुरा पटकपटक आक्रोशित भएरै सुनाउँथे । ‘त्यो मान्छे बाहिर मात्र होइन भित्र पनि कालो छ नि थाहा छ ?, त्यो वासुदेव होइन नि कालदेव हो’ भन्थे । म पनि राम्रोसँग थाहा भएको बताउँथें । कीर्तिपुरमा पढाएका बेला तारानाथले एकजना विद्यार्थीलाई पूर्णाङ्क दिए रे, त्रिपाठीले नम्बर घटाउन भन्दा मानेनन् रे र उनीहरूका बीचमा झगडा भो रे भन्ने त पहिलेदेखि नै सुनिएकै हो । उनले पनि पटकपटक सविस्तार त्यही कुरा बताएपछि त झन् स्पष्ट भो । तारानाथसँग मेरो अनेकौं पटक भेटघाट र कुराकानी हुन्थ्यो । प्रायःजसो भेटघाटमा कीर्तिपुर छोड्नु परेको र बिदेसिनु परेको आक्रोशपूर्ण पीडा पोखिहाल्थे ।

मैले तारानाथ दाइलाई एकपटक कीर्तिपुर ल्याएर त्रिपाठीसँग भेट गराउने योजना बनाएँ । २०५२ सालमा गणेशप्रसाद भट्टराई नाम गरेका विद्यार्थीले मेरा निर्देशनमा कुलचन्द्र कोइरालाका काव्यको विश्लेषण शीर्षकको स्नातकोत्तरस्तरीय शोधपत्र सम्पन्न गरेपछि त्यसको बाह्य मूल्याङ्कनका लागि बाह्य परीक्षकका रूपमा मैले डा. तारानाथ शर्मालाई बोलाउने निधो गरें । त्यसबेला शोधपत्रको बाह्य परीक्षकका लागि शोधनिर्देशकले तीनजनाको नाम सिफारिस गर्ने प्रचलन थियो । मैले सबै वस्तुस्थिति बताएर सल्लाह गरेरै डा. तारानाथ शर्माको नाम एक नम्बरमा सिफारिस गरें र सिफारिस गरेका अन्य दुईजनाको नाम पनि उनलाई बताएँ । उनले ‘कालदेवले मलाई बोलाउँदैन अरूलाई नै बोलाउँछ नि’ भने । मैले ‘त्यो जिम्मा मलाई छोडिदिनु, तपाईं आउनुपर्छ नि’ भनेपछि उनले बोलाएमा पक्का आउने बताए ।

सबभन्दा पहिले मैले तीन नम्बरमा नाम सिफारिस गरेका व्यक्ति हेमाङ्गलाई शोधपत्र पठाए । उनले खामै नखोली नभ्याउने भनेर तुरुन्त फिर्ता गरिदिए । त्यसपछि दुई नम्बरमा सिफारिस गरेका व्यक्ति वासुदेव लुइटेललाई शोधपत्र पठाए । उनले पनि बाहिर खाममै नभ्याउने भनेर शोधपत्र लिएर जाने व्यक्तिकै हातमा फिर्ता गरिदिए । वासुदेव लुइटेललाई फोन गरेर आउन अनुरोध पनि गरिएछ । योजनामुताबिक नै तत्काल फिर्ता गर्ने भन्ने भएको हुँदा उनले मान्ने कुरै भएन । त्यसपछि त्रिपाठीले कर्मचारीमार्फत मलाई अरू नाम सिफारिस गर्न भने । मैले मान्ने त झन् कुरै थिएन । ‘तारानाथ आउँदैन त्यसैले अरू नाम सिफारिस गनुपर्‍यो भन्ने कुरा मलाई पटकपटक भनियो–भनाइयो । मैले पनि ‘शोधपत्र पठाएकै छैन, नआउने कुरा कसरी थाहा भयो ? पठाउनु उहाँ नआए अरू नाम सिफारिस गरौंला’ भनेर पटकपटक जबाफ एउटै दिएँ । यसो गर्दागर्दै निकै दिन बिते ।

अन्ततः तारानाथ शर्मालाई शोधपत्र पठाउन त्रिपाठी बाध्य भए । तारानाथले भाइभाको समय निश्चित गरेर आउने बताए । उनलाई ल्याउन–पुर्‍याउन बाइकको व्यवस्था गरिएको थियो । उनी निर्धारित समयभन्दा केही अगि नै आए र विभागमै गफिएर बसे । भाइभा सकिएपछि नम्बर दिने कुरामा त्रिपाठीले अनेक आदर्शका कुरा गर्दै निकै कम नम्बर दिने बताए । तारानाथले ‘शोधपत्र सारै स्तरीय छ, सयमा सय दिंदा नि हुन्छ भैगो एक नम्बर घटाएर ९९ दिउँ’ भने । त्रिपाठीले मानेन् र अनेक बखेडा सुरु गरे । निकैबेर गलफदी भयो । अन्त्यमा तारानाथ र म दुवैले सही नगर्ने भनी उठेर हिंड्न लागेपछि त्रिपाठी थप काल्लिए । मैले योजनामुताबिक वातावरण सहज बनाउन ‘९७ नम्बर दिने’ बताएँ । तारानाथले ‘९९ नै दिंदा हुने तर गाइडले भनेपछि भइगो’ भने । त्रिपाठी हुँदैन भन्दै थिए, तारानाथ र म फेरि उठेर हिंड्न खोजेपछि मान्न बाध्य भए । अरूले आन्तरिक मूल्याङ्कनमा मात्र होइन अन्तिम परीक्षामा दिएको नम्बरसमेत घटाएर आफूले चाहेका विद्यार्थीलाई प्रथम बनाउन अभ्यस्त भइसकेका त्रिपाठीका सामु यो काम गर्न–गराउन सजिलो थिएन तर गरेर–गराएरै छोडियो र एउटा योग्य विद्यार्थीलाई अन्याय हुनबाट जोगाइयो । त्यतिबेला नेपाली विभागमा यो रोग व्याप्त थियो अहिले उन्मूलन भइसकेको छ । केही छेपारे दलबदले कथित प्राध्यापक विद्यार्थी उचाल्ने कार्यमा भने बेलाबखत क्रियाशील देखिन्छन् ।

खासमा यो योजना दुईजनालाई भेट गराउने भन्दा पनि योग्य विद्यार्थीलाई अन्याय हुन नदिनका लागि बनाइएको थियो । मैले निर्देशन गरेका निज विद्यार्थीलाई कम नम्बर दिएर आफूले निर्देशन गरेका विद्यार्थीलाई बढी नम्बर दिई प्रथम बनाउने त्रिपाठीको योजना भएको स्पष्ट बुझिएकाले यसो गरिएको थियो । यस्तो अन्याय गर्न उनी पहिलेदेखि नै बानी परिसकेका थिए तर त्यस पटक योजनाबद्ध रूपमा उनको योजना सफल हुन दिइएन । विभागमै पढाउने महिलासँग बिहे गर्ने प्रस्ताव अस्वीकार गरेका कारण आफू त्रिपाठीको सिकार भएको भए पनि मैले गाइड गरेका विद्यार्थीलाई अन्यायको सिकार हुनबाट जोगाउन सफल भएकामा म प्रसन्न भएँ । तारानाथ दाइ बाहिर निस्केर ‘तिमीसँग कसैले नसक्ने रहेछ’ भन्दै मज्जाले दुख्ने गरी धाप मारेर बाइकको पछाडि बसी हात हल्लाउँदै घरतिर लागे ।

त्रिपाठीले भनेको जति नम्बर दिएको भए गणेशप्रसाद भट्टराई प्रथम नभएर निकै पछिको उनले गाइड गरेको विद्यार्थी प्रथम हुन्थे । पहिले लिखितमै बढी नम्बर ल्याएका विद्यार्थीलाई शोधपत्रमा कम नम्बर दिएर अर्को निकै पछिकालाई प्रथम बनाउने प्रयत्न गर्नु कतैबाट पनि न्यायसङ्गत हुँदैनथ्यो । यो कुरा तारानाथलाई सबै जानकारी गराइएको थियो । यस घटनाबाट पनि तारानाथ विद्यार्थीप्रति अन्याय गर्नुहुन्न भन्नेमा स्पष्ट रहेको बुझियो भने नम्बरकै कारणबाट विभाग छोडेको भन्ने पनि थप स्पष्ट भयो । तारानाथ दाइसँगको यो क्षण मेरा लागि अविस्मरणीय रहेको छ ।

यो विभाग त्रिपाठीले बनाएको भनी कुर्लने र उनकै अनुकम्पाबाट गुरुमासँग बिहे गर्ने सर्तमा योजनाबद्ध रूपले प्रथम बनाइएका छेपारे भाटलाई यो
कुरा नकोट्याएको भए हुन्थ्यो भन्ने पनि लाग्ला तर पदीय दुरुपयोग गरी गरिएका यस्ता दुष्कार्ययुक्त प्रदूषित यथार्थ सधैं लुकाएर राख्नु पनि त भएन नि… । विभाग भनेको कुनै एकजना व्यक्तिले बनाएको नभएर धेरैले बनाएको हुन्छ भन्ने कुरा सम्बद्ध सबैले बुझ्नु जरुरी छ ।
यसपछि तारानाथसँग अझ निकटता बढ्यो । अनेकौं कार्यक्रममा सहभागी भइयो, त्यसका प्रमाण फेसबुकमा सुरक्षित छन् । यसमध्ये एउटा कार्यक्रमको चर्चा गरौं:

२०६८ फागुन १४–१६ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन इलामद्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा मैले ‘समकालीन नेपाली साहित्यका प्रवृत्ति’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नु थियो । म र तारानाथलगायत इलाम पुग्यौँ । पाहुनालाई विभिन्न होटेलमा बस्ने बन्दोबस्त मिलाउने क्रममा तारानाथ र मलाई इलाम बसपार्ककै मुखको गजुरमुखी होटेलमा ओल्लोपल्लो कोठामा बस्ने बन्दोबस्त मिलाइएको रहेछ । राती एक्कासि ढोका ढकढकाउँदा अर्ध निद्रामा पुगेको म झस्किएँ । ढोका तारानाथ दाइले नै ढकढक्याएको रहेछ । मैले आँखा मिच्दै के भो दाइ भनें । उनले हेर्नु न निद्रा लागेन, फोन के भयो मिलाउन नि जानिएन, एकपटक शान्तालाई फोन लाइदिनु न भने । मैले किन यति राती भोलि हुन्न ? भन्दा उनले यस्ता कुरा पछि थाहा पाउँछौ भने । मैले फोन लाइदिएँ…। यसबाट उनको सरलता झल्कन्थ्यो ।

अर्काे दिन बिहानै माइपोखरी दर्शन गर्न जाने भइयो । तारानाथ शर्मा, रामबाबु सुवेदी, रामप्रसाद पन्त र म एउटा गाडीमा थियौँ । बाटामा गुरुकुलका विद्यार्थी शिक्षकहरूले स्वस्तिवाचन गरेर पुष्पगुच्छासहित गरेको भव्य स्वागत ग्रहण गर्दै सारै अप्ठ्यारो बाटोबाट हामी उकालियौँ । तारानाथ शर्माको बरबोटेको वरको रूख खोज्दै अगि बढियो । तारानाथलाई पनि थाहा रहेनछ । त्यहाँ वरका रूख धेरै नदेखिएकाले बाटामै भएको एउटा तारानाथकै हाराहारीका उमेरकोजस्तै लाग्ने वरको रूख नै वरबोटे भएको मैले बताएँ । सबैले हाँसेर समर्थन जनाए । तारानाथ मौन रहे ।
माइपोखरीको दर्शन र आचमन गरी हामी ओरालियौँ । कुरा फेरि उही बरबोटेकै आयो । आनो जन्मघर त्यतैतिर भएको भन्ने अनुमान लगाई तारानाथ गाडी रोक्न लगाई ओर्लेर एउटा घरको आँगनमा पुगी त्यहाँको माटो जिउमा दल्न थाले । घर वरपरका महिला हाँस्न थाले । उता मूल कार्यक्रम ढिलिँदै थियो भने यता तारानाथ जिउमा माटो दल्दै थिए । अलिक कृत्रिमता झल्कने खालको उनको यो जन्मभूमि प्रेमलाई त्यहाँ धेरैले नरुचाए पनि खासै प्रतिक्रिया व्यक्त गरेनन् मात्र छिटो गरौँ भनिरहे ।

हामी होटेलमा आएर हतारहतार गाँस टिपी कार्यक्रम स्थलमा पुग्यौँ । पहिलो कार्यक्रम मेरो कार्यपत्र प्रस्तुति भए पनि तारानाथको माटो दलाइले त्यहाँ आइपुग्न केही ढिला भएकाले कार्यक्रमलाई कविता वाचनतर्फ मोडेर समयको राम्रै सदुपयोग गरेछन् । कार्यपत्र प्रस्तोता र टिप्पणीकार दुवै त्यहाँ नभएपछि कवितावाचन नै सर्वाेत्तम विकल्प थियो ।

कार्यक्रमको मूल आकर्षण नै मेरो कार्यपत्र भनिएको थियो । हामी त्यहाँ पुग्नेबित्तिकै मञ्चासीन गराएर कार्यपत्रको प्रस्तुति सुरु गरियो । कार्यपत्र लामो भएकाले त्यहाँ लेखिएका कुरा पढ्दा धेरै समय लाग्ने हुँदा मैले मौखिक रूपमै कार्यपत्र प्रस्तुत गरेँ । कार्यपत्रले समेटेको विषयवस्तु निकै व्यापक भएकाले सङ्क्षेपमा प्रस्तुत गर्दा पनि एक घन्टाभन्दा बढी समय लाग्यो । उपस्थिति पनि भव्य नै थियो । सबै मन्त्रमुग्ध भएर सुनिरहे ।
कार्यपत्र सकिनेबित्तिकै टिप्पणीको पालो आयो । टिप्पणीकारका रूपमा राजेन्द्र सुवेदी र तारानाथ शर्मा थिए । राजेन्द्र सुवेदीले ‘उहाँ इनर्जेटिक भएकाले यति विस्तृत र गहन कार्यपत्र लेख्नु भएको हो अरू जो कोहीले यस्तो गर्न सक्दैन थिए, गहन अध्ययन गरी तयार गरिएको यो कार्यपत्र पर्याप्त सूचनामूलक र ज्ञानबर्धक भएको…’ आदि भनी प्रशंसामूलक टिप्पणी गरे । राजेन्द्र सुवेदीपछि टिप्पणी गर्ने पालो तारानाथको आयो । उनले अतीतका आफ्ना अनेक संस्मरण सुनाउँदै ‘खगेन्द्र भाइको कार्यपत्र लामो भएर पनि अति गहन र स्तरीय छ, अरूले कसैले पनि गर्न नसक्ने काम उहाँले मात्र गर्न सक्नुहुन्छ, कार्यपत्रमा कति धेरै विषयवस्तु समेटेको होला, कति अध्ययन गर्न सकेको होला, त्यसै दुब्लाएको होइन रहेछ…’ आदि भन्दै दिल खोलेर कार्यपत्रको प्रशंसा गरे ।

कार्यक्रमको शुभारम्भ इलाम बजारमा र समापन कर्फाेकमा गर्ने योजनामुताबिक अर्को दिनको कार्यक्रम करफोकमा थियो । २००९ सालमा पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन र त्यसपछि अनेक सम्मेलन भएको ऐतिहासिक ठाउँ हो करफोक । कर्फाेक उच्च माविको प्रवेशद्वारदेखि दुईतिर पङ्क्तिबद्ध भएर भव्य स्वागत गर्दै हामीलाई कार्यक्रमस्थल पु¥याइयो । त्यहाँ स्वागतमा दिइएका पुष्पगुच्छाले लगभग मुख छोप्ने अवस्था भएको थियो । हामीले सर्वप्रथम त्यहाँ श्री १०८ स्वामी सोमेश्वरानन्द तथा सरस्वतीको सालिक परिक्रमा गरी हामीलाई प्रदान गरिएका पुष्पगुच्छा भक्तिपूर्वक उनीहरूलाई चढायौँ । साँझपख कार्यक्रम सकियो । तारानाथ उनकै भाइका घरतिर गए । रामबाबु, विजयध्वज थापा र मलाई दीपक अधिकारीको घरमा लगियो अनि बाँकी बसमा काठमाडौँतिर लागे ।

हाम्रो बसोबासको बन्दोबस्त आइतबारे निवासी दीपक अधिकारीको घरमा गरिएको रहेछ । उनी हामीलाई लिएर हिँडे । त्यहाँ हाम्रा झोला सइ विक्रम दाहाल र अन्य प्रहरीले बोकिदिए । ‘नेताको झोला बोक्नु भन्दा त विद्वान्को झोला बोक्न पाउनु धेरै राम्रो’ भन्दै हामीलाई दीपक अधिकारीको घरमा पुर्‍याइयो । बाटामा विक्रमले त्यहाँको परिवर्तित मौसमी प्रभावका कारण मानिसले आत्महत्या गर्ने गरेको बडा रोचक कुरा सुनाए । इलाम बढी आत्महत्या गर्ने जिल्लामा पर्ने र यसको कारण नै मौसम रहेको प्रहरी अनुसन्धानको निष्कर्ष रहेछ । दीपक अधिकारी पढेलेखेका तर्कशील व्यक्ति रहेछन् । बेलुका निकै बेर नेपालको राजनीतिक विषयमा चर्चापरिचर्चा गरियो । ठूला मान्छेसँग हिँड्दा बोल्न नपाइने रहेछ भन्ने विजयले गुनासो गरे । मैले वर्तमान राजनीतिका विषयमा लामै कुराकानी गरिसकेपछि रामबाबुले ‘तपाईंले राजनीति गर्दिन भन्दाभन्दै पनि थुप्रै राजनीति गर्नुभयो, तपाईंलाई त मैले ज्ञानको इन्साइक्लोपेडिया नै मानेँ…’ भन्दै फुक्र्याए । म पनि त्यत्तिकै कहाँ फुर्किन्थेँ र । दीपकले तारानाथको आत्मप्रशंसा र बाउबाजेको बखान गर्ने बानी त्यहाँ धेरैले नरुचाएको कुरा बताए पनि हामीले त्यसमा कुनै प्रतिक्रिया व्यक्त गरेनौं ।

भोलिपल्ट बिहानै सइ विक्रमलगायतका प्रहरी भाइहरू त्यहाँ आइपुगे । हामीलाई भद्रपुर एयरपोर्ट पुर्‍याउने गाडी पनि आइपुग्यो । बाटामा तारानाथलाई टिपेर हामी हिँड्यौँ । मैले गाँस छोड्नु साथ नछोड्नु भन्ने भनाइ इलाममा मिल्ने रहेनछ भन्दा तारानाथ चुपचाप सुनिरहे । बाटामा खाजा खाएर हामी भद्रपुर आइपुग्यौँ । नरेन्द्र प्रधान हामीलाई पुर्‍याउन भद्रपुरसम्मै आए ।

भद्रपुर एअरपोर्ट पुग्न केही किलोमिटर बाँकी हुँदा तारानाथले आफूलाई दिसाले च्यापेको बताए । छेउछाउ कतै ठाउँ देखिएन । गाडीको गति बढाएर एअरपोर्ट पुगियो । मैले उनलाई हत्तपत्त शौचालय पुर्‍याएँ । निकै बेरपछि उनी निन्याउरो अनुहार लगाई म नजिक आएर बिस्तारै ‘भाइ बर्बाद भो, शौचालयमा साबुन र पानी रैनछ, कतै खोज्न सकिन्छ ?’ भने । मैले किन के भो दाइ भनेपछि उनले निकै सिरियस भएर ‘थाम्न सकिएन चिप्लियो, कट्टु फाल्न खोज्दा टाउजरमा पनि लाग्यो, टाउजर फाल्न खोज्दा पेन्टसमेत फोहोर भो, अब के गर्ने, शौचालयमा पानी पनि रैनछ ?’ भनी सबै कुरा बेलीबिस्तार लगाए । मैले तारानाथलाई यति सिरियस भएको देखेकै थिएन । मलाई पहिलेदेखि नै राम्ररी चिन्ने भद्रपुर एअरपोर्टका प्रहरी इन्चार्ज कृष्णकुमार लामालाई बोलाएर मैले साबुन र पानीको बन्दोबस्त गर्न लगाएँ । उनले प्रहरी जवानलाई पठाएर आफ्नै कोठाबाट साबुन र पानी ल्याउन लगाए । तारानाथ दाइ पुनः शौचालय गए र सफा भएर आए । मैले सहयोग गर्नुपर्छ कि दाइ भन्दा पर्दैन भने । मैले उनलाई यो सामान्य कुरा हो दाइ भनेर ढाढस दिन खोजें । उनले मलिन अनुहारमै ‘यस्तो समस्या पछि बुढेसकालमा थाहा पाउँछौ’ भने । म नबोली उनका कुरा सुनिरहेँ । अरू साथी हाम्रै प्रतीक्षामा बाहिरै कुरिरहेका थिए ।

कतिपयलाई यो कुरा नलेखेको भए हुन्थ्यो भन्ने पनि लाग्ला तर यो सबैजसोका जीवनमा आइपर्नसक्ने बडो संवेदनशील यथार्थ भएकाले लुकाउनु आवश्यक ठानिएन… । यी सब कुरा उनले मसँगै गर्नु पनि हाम्रो अन्तरङ्ग सम्बन्ध नै त हो नि ।

प्रहरी इन्चार्ज कृष्णकुमार लामाले भिआइपी लन्चमा लगेर आदरपूर्वक राखे, चिया ख्वाए र प्लेन चढाएर बिदाइ गरे । तारानाथ दाइले ‘होइन हाउ भाइको कति ठाउँमा कोकोसँग सम्बन्ध छ, बुझ्नै कठिन’ भने अरूले हो मा हो मिलाए । तारानाथ दाइ र प्लेनमा पनि सँगै थियौं । अनेक गफ भए । उनले त्यहाँ पनि कीर्तिपुरको पुरानो कुरा गरेरै छोडे । त्यसबाट पनि उनको पीडा बुझिन्थ्यो ।

एकपटक कुनै विषयमा तारानाथ र मेरो ठाकठुक पनि पर्‍यो । उनलाई कसैले मेरा बारेमा केके सुनाइदिएहेछ । अरूले जे भने नि पत्याइहाल्ने उनको खराब बानी थियो । उनले ‘मलाई केके भनेर बेइज्जत गर्ने’ भन्दै ममाथि आक्रोश पोखे । मैले फलानाले भनेको हो ? भनेपछि उनी छक्क परे । मैले पनि उनलाई भन्न बाँकी राखिन । बोलचाल बन्द होलाजस्तै भयो ।

अर्को दिन बिहानै फोनको घन्टी बज्यो । तारानाथकै रहेछ । उनले भाइ नमस्कार भने । सधैं म नमस्कार गर्थें तर त्यस दिन उनैले गरे । मैले बोल्न नपाउँदै ‘भाइलाई हिजो मैले अलि बढी नै भनें, त्यो नभका कुरा सुनाउने फटाहा रहेछ, मलाई रातभर निन्द्रा लागेन, सरी है भाइ’ भन्दा म छक्क परें । मैले पनि त दाइलाई केके भने नि मात्र के भनेको थिएँ त्यो त प्रतिउत्तर मात्र त थियो नि, भन्न त मैले नै सुरु गरेको हो नि भन्दा म भावविभोर भएँ । त्यस दिनदेखि हाम्रो सम्बन्धमा कहिल्यै कसैले केही गर्दा पनि घुनपुत्ली लागेन । यसरी जुधाउने, बझाउने र फाटो पारिदिने अनि पर बसेर रमिता हेरी मज्जा लिने व्यक्ति समाजमा धेरै छन्, त्यस्ताबाट सचेत रहनुपर्छ नत्र…।

तारानाथ शर्माले २०६८ सालमा प्रकाशित मेरो बार वर्षपछि हनिमुन शीर्षकको नियात्रासङ्ग्रहमा भूमिका पनि लेखेका छन् । मेरो एक वचनमै उनले ‘भाइको नलेखेर कसको लेख्छु त…’ भन्दै भूमिका लेखिदिए । उनले फोनमा र भेटमा पनि ‘भाइकोे नियात्रालेखन विचित्रै लाग्यो, कति सुन्दर व्यङ्ग्य गर्न सकेको, म त यस्तो गर्न सक्दिन…’ आदि अनेक थोक भन्दै नियात्रासङ्ग्रहका नियात्राको सारै प्रशंसा गरे । मैले ‘मलाई फुक्र्याएर लज्जित नबनाउनु न दाइ’ भन्दा उनले ‘मैले फुक्र्याएको होइन साँच्चै भनेको’ भने ।

अङ्ग्रेजी पढेका भए पनि तारानाथ नेपाली भाषाप्रेमी थिए । उनी भाषाका भँडुवाप्रति मुड्की बजारेर आक्रोशित रूपमा प्रस्तुत हुन्थे र भाषाका भँडुवालाई ठेगान लाउनुपर्छ भन्थे । विभिन्न भाषिक गोष्ठीमा भाषा बिगार्नेप्रति उग्र आक्रामक भएर देखापर्थे । केही व्यक्तिले संस्थाको दुरुपयोग गरी नेपाली भाषा बिगारेपछि त्यसका विरुद्धमा मेरा अध्यक्षतामा गठित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको ‘सल्लाहकारमा बसिदिनुपर्‍यो’ भन्ने मेरो आग्रहलाई ‘तपाइ अध्यक्ष भएका ठाउँमा म नबस्ने भन्ने हुन्छ, अब भाषाका भँडुवा ठेगान लाग्छन्, यो काम तपाईंबाट मात्र सम्भव छ, अब म ढुक्क भएँ’ भन्दै विना तर्कवितर्क स्वीकार गरे । उनी सल्लाहकार बस्ने मात्र होइन सञ्जालद्वारा आयोजित हरेक कार्यक्रममा उपस्थित भई मुड्की बजारेर भाषा विरोधीहरूको झाँको झार्थे ।

तारानाथ र मेरा बीचमा फोनमा पनि पटकपटक विभिन्न विषयमा लामै कुरा हुन्थ्यो । म उनका घरमा पनि धेरै पटक गएको छु । उनका अक्षर अति राम्रा थिए । मैले उनका जति राम्रा बत्तीस दन्तलहरजस्तै चट्ट मिलेका अक्षर अरू कुनै पनि नेपाली साहित्यकारका देखेकै छैन, साहित्यकारका मात्र के कुरा कसैका पनि देखेकै छैन भने पनि हुन्छ । उनी आफ्ना हरेक लेखरचनाको व्यवस्थित अभिलेख तिनै सुन्दर अक्षरमा टिपोट गरेर राख्थे । उनले त्यसरी राखेको टिपोट मेरै आँखाले पटकपटक देखेको छु ।

तारानाथलाई अस्थिर, ढुलमुले भन्नेहरू पनि थिए । यो परिवेश निर्मित थियो । स्थायी जागिर नभएका कारण उनी कहिले विदेश, कहिले स्वदेश गरिरहन्थे । स्वाभिमानी खालको स्वभाव भए पनि बेलाबखत चुक्थे । यसैकारण उनका लेखनमा उतारचढाव आउँथ्यो । उनी कुनै बेलाको झुसिलो डकारलाई पोसिलो आहार बनाउन तथा कुनै बेला गरेको कटु आलोचनालाई स्तुतिगानतुल्य बनाउन पनि बेर लाउँदैनथे । उनी मनले सोचेको कुरा बोलिहाल्थे र सोचेको काम गरिहाल्थे । यसले उनलाई विभिन्नतिर घाटा पुर्‍याएको उनी स्वयं बताउँथे । उनी मसँग बेलाबखत यस्तै यस्ता विविध विषयमा आत्मसमीक्षा पनि गर्थे ।

कोभिडका कारण हाम्रो भेट नभएको निकै भएको थियो । केही समयदेखि अलि बिरामी भएको सुनिए पनि ठीकै अवस्थामा रहेको बुझिएको थियो । २०७८ फागुन ३ गते बिहान एकजना पत्रकारले फोन गरेर तारानाथ शर्माका बारेमा सोधपुछ गर्न थाले । मैले किन र के भो ? भनी सोध्दा उनी बितेको अपुष्ट समाचार छ भनेपछि मैले बोल्न अस्वीकार गरें र म वास्तविकता पत्ता लाउँछु दस मिनेटपछि फोन गर्नू भनें । मलाई घरमा फोन गर्ने आँट आएन र मैले तत्कालै प्रतीक ढकाललाई फोन गरें, उनलाई पनि थाहा रहेनछ । विभिन्नतिर फोन गरेपछि बिहान ८.२१ बजे निधन भएको कुरा थाहा भयो । उनी बितेको खबर सुन्दा म स्तब्ध भएँ… । मैले कष्टका साथ फेसबुकमा श्रद्धाञ्जली र समवेदना पोस्ट गरें ।

त्यसै दिन नेपाली केन्द्रीय विभागमा विभागीय बैठक थियो । त्यहाँ मैले नै शोकप्रस्ताव राखें र त्यो पारित गरियो । त्यसको केही दिनपछि डा. भरत भट्टराई, महेश तिवारी र म सरस्वतीनगर मार्ग, चाबेल पुगेर श्रद्धाञ्जली र समवेदना प्रकट गरेर आयौं ।

तारानाथ शर्माले अनेकौं उतारचढावका साथ जीवन गुजार्दै आजीवन नेपाली साहित्यमा पुर्‍याएको विशिष्ट योगदानको खासै कदर उनका जीवनकालमा गरिएन । अब नेपाली साहित्यका जाज्वल्यमान व्यक्तित्व तारानाथ शर्मा हाम्रा सामु छैनन् तर उनले नेपाली भाषासाहित्य र समालोचनाका क्षेत्रमा पुर्‍याएको योगदान सदासर्वदा स्मरणीय रहेनछ । तारानाथ शर्माप्रति अश्रुमिश्रित हार्दिक श्रद्धाञ्जली ।