अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 12:02

भारतवासी नेपाली प्रवासी कि आप्रवासी ?

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७९ वैशाख ६ गते १९:३२ मा प्रकाशित

पहिले नेपालमा बसोबास गर्नेहरूलाई मात्र नेपाली जाति भन्ने गरिए पनि अहिले नेपालीहरू अमेरिका, क्यानडा, बेलायत, हङ्कङ, अस्ट्रेलिया, युरोपका अधिकांश देशलगायत विश्वका विभिन्न मुलुकमा पुगेर अस्थायी र स्थायी दुवै रूपमा बसोबास गर्न थालिसकेकाले नेपाली जाति महाजाति र नेपाली भाषा महाभाषाका रूपमा विकसित भइसकेको छ । नेपालबाट नेपालीहरू विश्वका जुनजुन मुलुकमा पुगेका छन् तीती मुलुकमा आफ्नो मूल पहिचान भाषा र संस्क्रिति पनि सँगै लगेका छन् ।

नेपाली जाति र नेपालीभाषी पृथक् कुरा हुन् । नेपाली जातिले नेपालमा बसोबास गर्ने र यहाँबाट नेपालबाहिर आफ्नो पहिचानका साथ बसोबास गर्ने समुदायलाई जनाउ“छ भने नेपालीभाषीले नेपालका र नेपालबाहिर बसोबास गरेका नेपालीलाई मात्र नभई नेपाली भाषा बोल्ने भारत, भुटान, म्यान्मा, थाइल्यान्डलगायत अन्य जुनसुकै मुलुकका भाषिक समुदायलाई पनि जनाउ“छ ।

यतिखेर नेपालीमा डायस्पोरा/डायस्पोरिक साहित्य, आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, नेपालबाहिरको नेपाली साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन् । विगत दशकदेखि नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा ल्याइएका शब्दमध्ये डायस्पोरा शब्दको चर्चा निकै भएको पाइए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहिँ उति धेरै चर्चा गरिएको पाइंदैन । कुनै देशबाट अलि टाढा गएर केही समय बसेजति सबैले आफूलाई डायस्पोरा ठान्ने र तिनीहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भनिदिने गरेको पनि पाइन्छ । यसप्रकारको त्रुटिपूर्ण व्याख्याबाट नेपाली डायस्पोरासम्बन्धी दृष्टिकोण नै अस्पष्ट हुने स्थितिसमेत सिर्जना हुनलागेको देखिन्छ । केही समय उता (विदेश) गएका व्यक्तिहरूलाई डायस्पोरा र तिनीहरूद्वारा उतै बसेर वा यता (स्वदेश) फर्किएर लेखिएका जेसुकै र जस्तासुकै रचनालाई डायस्पोरिक÷आप्रवासी साहित्य भन्ने भ्रम फिंजाइएको पनि पाइन्छ । उता वा विदेश गएकाहरूजति सबैलाई डायस्पोरा र तिनीहरूद्वारा लेखिएका जुनसुकै र जस्तासुकै रचनालाई डायस्पोरिक÷आप्रवासी साहित्य भन्न मिल्दैन । डायस्पोरिक/आप्रवासी साहित्यलाई प्रवृत्तिगत आधारमा हेर्नुपर्छ ।

प्रवासी/परदेशी/लाहुरे/विदेशी नेपाली साहित्य भनिएमा नेपालबाहिरका तत्तत् क्षेत्रसँग सम्बद्ध जोसुकैले लेखेका सबै साहित्यलाई लिन सकिन्छ तर ती सबैलाई डायस्पोरिक साहित्य भन्नचाहिँ मिल्दैन । यताबाट जो जहाँ गयो त्यहीँको भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात् गरी बसेका तर आफ्नो जातीय भाषा, संस्कृति र धर्मचाहिँ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहिँ डायस्पोरिक साहित्य भन्न मिल्छ । बिदेसिएका विभिन्न नेपालीहरूका साथै अन्य जातिबाट अनेक विषयवस्तुमा आधारित थुप्रै क्रीतिहरू लेखिएको पाइए तापनि ती सबैलाई डायस्पोरिक साहित्यभित्र समेट्न सकिन्न, तिनलाई प्रवृत्तिगत आधारमा केलाउनुपर्ने हुन्छ । कुनै मुलुकबाट अर्को मुलुकमा गएका व्यक्तिका सन्तान विदेशमै जन्मिहुर्की त्यहीँ स्थायी बसोबास गरेका र स्वदेशमा पाइलोसम्म पनि नटेकेका व्यक्तिहरूबाट सिर्जित साहित्यलाई चाहिँ डायस्पोरा भन्न मिल्दैन । यस्ता साहित्यलाई पनि डायस्पोरिक साहित्य भन्ने हो भने संसारका सबै साहित्यलाई डायस्पोरा भन्नुपर्ने हुन्छ । यसतर्फ सम्बद्ध सबै सचेत हुनु आवश्यक छ ।

नेपाली परिप्रेक्ष्यबाट हेर्दा कतिपयले विदेशमा गएका बेला वा नगएका बेला पनि स्वदेश वा विदेशका बारेमा लेखिएका साहित्यलाई डायस्पोरा भन्ने गरेको पनि पाइन्छ । वास्तवमा डायस्पोरिक साहित्य भनेको त्यस्तो होइन अर्थात् स्वदेश वा विदेशको वर्णन गर्नु नै डायस्पोराको परिचायक अभिलक्षण होइन । यताबाट उता गएका र उतै बसेका वा फर्केकाहरूबाट सिर्जित सबै खाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न सकिन्न । यस्ता कतिपयलाई सामान्यतः नेपाली साहित्य, नेपालबाहिरको नेपाली साहित्य, विदेशी नेपाली साहित्य आदि भन्न सकिए पनि ती सबैलाई डायस्पोरिक साहित्य भन्नचाहिँ पटक्कै मिल्दैन । नेपालबाट विभिन्नतिर प्रवासिएका व्यक्तिहरूबाट लेखिएका साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिए पनि ती सबै डायस्पोरिक साहित्य भने होइनन् ।

कतिपयले भारत, भुटान, म्यान्मा आदि मुलुकमा बसोबास गर्ने नेपालीभाषी र तिनबाट सिर्जित साहित्यलाई प्रवासी/आप्रवासी/डायस्पोरा आदि अनेकथोक भनेर अनावश्यक भ्रम छर्न थालेको देखिएकाले यसबारे स्पष्ट पार्नु अत्यावश्यक छ ।

नेपाली भाषाको प्रयोग गर्ने ठुलो समुदाय छिमेकी मुलुक भारतमा रहेको छ । भारतमा विशेषतः सुगौली सन्धिपछि भूमिसहित र भूमिरहित दुवै ढङ्गबाट नेपालीहरू बसोबास गर्न पुगेका हुन् । नेपाली जाति भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल, असम, मेघालय, मणिपुर, मिजोरम, हिमाञ्चल प्रदेशका साथै गोर्खा रेजिमेन्टमा भर्ना भई भारतका विभिन्न ठाउँमा बसोबास गर्दै आएका छन् । विशेषगरी सुगौली सन्धिपछि यिनीहरू भूमिसहित र भूमिरहित जुन रूपमा ती विभिन्न ठाउँमा पुगे पनि अहिले ती नेपाली नभएर नेपालीभाषी भारतीय वा भारतीय नेपाली हुन् । विभिन्न समयमा नेपालबाट भारतमा गएका वा भारतमा बस्ने नेपालीलाई केही पहिलेसम्म प्रवासी नेपाली र तिनीहरूद्वारा सिर्जित साहित्यलाई प्रवासी नेपाली साहित्य भन्ने गरिन्थ्यो तर अहिले तिनीहरू आफूलाई प्रवासी भन्न पनि रुचाउँदैनन् र वास्तवमा ती प्रवासी पनि होइनन् ।

खासमा भारतमा बसोबास गर्ने नेपालीभाषी भारतीय नेपाली हुन् । यसरी व्यक्ति प्रवासी नेपाली नभएर भारतीय नेपाली भएपछि तिनले सिर्जना गरेको साहित्य प्रवासी नेपाली साहित्य हुने कुरै भएन । यसर्थ भारतमा बसोबास गर्ने नेपालीभाषीद्वारा सिर्जित साहित्य प्रवासी नेपाली साहित्य नभएर भारतीय नेपाली साहित्य हो । बेलाबखत कामको खोजीमा गएर फर्किने नेपालीको सङ्ख्या ठुलै भए पनि ती भारतीय वा भारतीय नेपाली नभएर नेपाली नै हुन् र तिनले सिर्जना गरेको साहित्य पनि नेपाली साहित्य हो ।

यसै गरी अहिले आफूलाई स्वघोषित डायस्पोराविज्ञ भनाउने कतिपयले भारतमा बसोबास गर्ने नेपालीलाई प्रवासी नेपाली मात्र होइन भारतीय नेपाली डायस्पोरा भन्ने गरेको पनि पाइन्छ तर यो भनाइ त झनै उपयुक्त होइन । ती प्रवासी पनि होइनन् र डायस्पोरा पनि होइनन्, ती भारतीय नेपाली हुन् । कतिपयले भारतमा बसोबास गर्ने नेपालीभाषीलाई भारतीय नेपाली डायस्पोरा भन्दै तिनीहरूद्वारा सिर्जित साहित्यलाई भारतीय नेपाली डायस्पोरा÷आप्रवासी साहित्य भन्नसमेत बाँकी राखेका छैनन् । व्यक्ति आप्रवासी नेपाली नभएर भारतीय नेपाली भएपछि तिनले सिर्जना गरेको साहित्य आप्रवासी नेपाली साहित्य हुने कुरै भएन । यसर्थ भारतमा बसोबास गर्ने नेपालीभाषीद्वारा सिर्जित साहित्य आप्रवासी नेपाली साहित्य नभएर भारतीय नेपाली साहित्य हो ।

यसरी हेर्दा निकै पहिलेदेखि भारतमा बसोबास गर्दैआएका नेपालीभाषीहरू प्रवासी नेपाली र आप्रवासी नेपाली दुवै नभएर भारतीय नेपाली हुन् भने तिनीहरूद्वारा सिर्जित साहित्य पनि प्रवासी नेपाली साहित्य र आप्रवासी नेपाली साहित्य दुवै नभएर भारतीय नेपाली साहित्य हो । यसर्थ यस्ता अनावश्यक कुरा गरेर भ्रम छर्ने दुष्प्रयास कोहीकसैले पनि गर्नुहुन्न ।

नेपालबाट भारत गएका नेपालीभाषी प्रवासी हुन् कि आप्रवासी हुन् र तिनले सिर्जना गरेको साहित्य प्रवासी हो कि आप्रवासी हो भन्ने प्रश्न धेरैतिर गरिन्छ । यस्ता प्रश्न यस पङ्क्तिकारलाई पनि विभिन्न कार्यक्रममा पटकपटक गरिएको छ । नेपालबाट भूमिसहित वा भूमिरहित भारत गएका नेपालीभाषी प्रवासी पनि होइनन् र आप्रवासी पनि होइनन् । यिनीहरू राजनीतिक हिसाबले भारतीय हुन् भने भाषिक हिसाबले भारतीय नेपाली हुन् र तिनले सिर्जना गरेका साहित्य प्रवासी नेपाली साहित्य र आप्रवासी नेपाली साहित्य दुवै नभएर भारतीय नेपाली साहित्य हो भन्ने कुरामा सम्बद्ध सबै स्पष्ट हुनु जरुरी छ ।

भारतबाहेक भुटान, म्यान्मा र थाइल्यान्डमा नेपालीभाषीको सङ्ख्या प्रशस्तै छ । कतिपयले त्यहाँ“का नेपालीभाषीलाई पनि डायस्पोरा/आप्रवासी भन्ने गरेको पाइन्छ तर त्यो भनाइ पनि उपयुक्त होइन । त्यहाँका नेपालीभाषीजति सबै नेपालबाट गएका होइनन् र कुनै बेला गएका भए पनि धेरै पुस्ताअगाडि गएकाले तिनमा नेपाली भाषाबाहेक नेपाल र नेपालीसँग अन्य साइनो केही पनि छैन । यसर्थ तिनलाई तत्तत् देशका स्वतन्त्र नागरिक मानी त्यहाँका नेपालीभाषीहरूबाट लेखिएको साहित्यलाई भुटानी नेपाली साहित्य, म्यान्माली नेपाली साहित्य आदि मान्नुपर्छ । पछिल्लो समयमा नेपालबाट भुटान, म्यान्मा र थाइल्यान्डमा गई आफ्नो पहिचान जोगाएर बसोबास गरेका नेपालीलाई भने तत्तत् देशका डायस्पोरा मान्न सकिए पनि त्यस्ताको सङ्ख्या उति देखिन्न ।

यसै गरी खाडी मुलुकलगायत विभिन्न श्रम मुलुकमा कामका लागि अर्थात् श्रम वा रोजगारीका लागि गएका नेपालीहरू डायस्पोरा होइनन् र तिनीहरूबाट सिर्जित साहित्य पनि डायस्पोरिक नेपाली साहित्य होइन तर तिनीहरू लामो समय बसोबास गरेर ती देशबाट न्यूनतम कानुनी अधिकार प्राप्त गर्न थाले भने तीचाहिँ डायस्पोरा हुन्छन् र तिनीहरूबाट सिर्जित साहित्य पनि प्रवृत्तिगत आधारमा डायस्पोरिक नेपाली साहित्य हुन्छ । यीबाहेक अन्य मुलुकमा विभिन्न कारणबाट पुगेर आफ्नो पहिचानसहित बसोबास गर्ने नेपालीलाई चाहिँ तत्तत् देशसँग गाँसिएका डायस्पोरिक नेपाली भन्न सकिन्छ तर तिनीहरू पनि पुस्तान्तरण हुँदै जाँदा त्यहीँको सामाजिक–सास्कृतिक परिवेशमा घुलमेल भई डायस्पोरा नभएर त्यही देशका नागरिक हुन्छन् ।

यसर्थ नेपाली जाति र नेपाली साहित्य तथा आप्रवासी नेपाली र आप्रवासी नेपाली साहित्यसँग गाँसिएका विषयमा कसैले पनि अनावश्यक भ्रम फैलाउने काम गर्नुहुन्न । आफूलाई ज्ञान नभएका विषयमा कि त गहन अध्ययन गरेर मात्र बोल्नु वा गहन अध्ययन गर्न नसके चुप लागेर बस्नु नै श्रेयस्कर हुन्छ ।