अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

डायस्पोराको प्रारम्भिक र वर्तमान अर्थ

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७८ चैत ६ गते २२:०५ मा प्रकाशित

इसापूर्व छैटौं शताब्दीतिरदेखि प्रचलनमा रहेको ग्रिसेली भाषाको dia+speirein को योगबाट निर्मित diaspeirein शब्दबाट diaspora (डायस्पोरा) शब्दको निर्माण भएको मानिन्छ । यसमा dia ले वारपार (across) तथा speirein ले तितरबितर (scatter) भन्ने अर्थबोध गराउँछ । यसरी सुरुमा डायस्पोरा शब्दको प्रयोग वारपार वा अनेकतिर तितरबितर हुनु वा छरिनु भन्ने अर्थमा प्रयोग भएको देखिन्छ ।

प्राचीन ग्रिसको dia+speirein को योगबाट निर्मित diaspeiro शब्दबाट diaspora शब्दको निर्माण भएको पनि मानिन्छ । यसले बिरुवा उमार्नका लागि जमिन वा माटोमा बिउ छर्नु भन्ने अर्थ दिन्छ । यसरी डायस्पोरा शब्दको प्रयोग बिरुवा उमार्नका लागि जमिन वा माटोमा वनस्पतिको बिउ छर्नु भन्ने अर्थमा पनि प्रयोग भएको देखिन्छ । ग्रिसेलीमा विज्ञानका क्षेत्रमा तापका कारणले आल्मुनियम अक्साइडका कणहरू छरिनु वा फैलिनुलाई पनि डायस्पोरा भनिएको पाइन्छ ।

उल्लिखित विभिन्न सन्दर्भबाट हेर्दा diaspora को शाब्दिक अर्थ फैलिनु, छिन्नभिन्न हुनु वा तितरबितर हुनु (तो disperse) जताततै छरिनु, तितरबितर हुनु वा छरपस्ट हुनु (to scatter), फिंजिनु, फैलिनु वा विस्तार हुनु (to spread) भन्ने हुन्छ । डायस्पोराको अर्थबोध गराउन प्रयोग गरिएका disperse, scatter र spread शब्दको अर्थ लगभग उस्तै रहेको देखिन्छ । यसरी हेर्दा डायस्पोराको शाब्दिक अर्थ छिन्नभिन्न हुनु, तितरबितर हुनु, छरिनु, छरपस्ट हुनु, फिंजिनु, फैलिनु, विस्तार हुनु भन्ने हुन्छ ।

ग्रिसेली भाषाको diaspora (डायस्पोरा) शब्दको सम्बन्ध सेमेटिक जाति मानिने यहुदीहरूको भाषा हिब्रुको galut, gola (निर्वासन) तथा अङ्ग्रेजी भाषाको exile, banish (निर्वासन, देशनिकाला) शब्दसँग पनि रहेको देखिन्छ । इसापूर्व छैटौँ शताब्दीतिरदेखि नै प्रचलनमा रहेको हेब्रुली galut, gola तथा अङ्ग्रेजी exile, banish सँग सम्बद्ध ग्रिसेली शब्द diaspora को प्रारम्भिक अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु वा कसैलाई दण्डसजाय दिई एउटा मुलुकबाट निकालेर अर्काे मुलुकमा धपाउनु भन्ने रहेको देखिन्छ ।

प्रारम्भमा ओल्ड टेस्टामेन्टमा यहुदीहरूका सन्दर्भबाट प्रयोग भएको डायस्पोरा शब्दले सामाजिक, सांस्क्रितिक, राजनीतिक, आर्थिकलगायतका विभिन्न बाध्यात्मक कारणबाट विस्थापित भएर सामूहिक रूपमा आफ्नो गृहभूमि छोडी विभिन्न मुलुकमा छरिएर बस्न बाध्य समुदायलाई बुझाएको देखिन्छ । इसापूर्व ५८६ मा बेबिलोनियाली शासक नेबुचड्नेज्जरले इजरायलमाथि आक्रमण गरी यहुदीहरूलाई बेबिलोनमा लगेर बन्दी बनाएको र इसापूर्व ५३८ मा पर्सियाली शासक साइरस महानले बेबिलोनमाथि विजय गरेपछि यहुदीहरूलाई मुक्त गरेर आफ्नो मातृभूमि फर्कने अनुमति दिए पनि तिनीहरूमध्येको ठुलो सङ्ख्या आफ्नो मातृभूमि नफर्किई विभिन्नतिर छरिन पुगेको ऐतिहासिक सन्दर्भ रहेको छ ।

यसरी सुरुमा जबर्जस्ती निर्वासित गरिएका यहुदीहरूलाई केही दशकपछि मुक्त गरिए पनि गृहभूमि नफर्केर विभिन्नतिर छरिएका यहुदीहरूलाई डायस्पोरा भनेको पाइन्छ । यसैलाई आधार मानी विभिन्न शब्दकोशमा डायस्पोरा शब्दको अर्थ यहुदीहरूलाई बेबिलोनमा कैद गरेर पछि मुक्त गरिएपछि छरिएको समुदाय, प्यालेस्टाइन छोडेर अन्यत्र छरिएका यहुदी, देशनिकाला भएर छरिन वा फैलिन पुगेको समुदाय, शरणार्थी, निर्वासित आदि दिइएको पाइन्छ । यसरी हेर्दा सुरुमा डायस्पोरालाई धेरैतिर यही यहुदी निर्वासनसँग जोडेर सकारात्मक रूपमा नकारात्मक र हेय रूपमा अथ्र्याइएको देखिन्छ ।

इसापूर्व छैटौँ शताब्दीतिरदेखि प्रचलित ग्रिसेली शब्द diaspora सुरुमा हेब्रुली galut, gola (निर्वासन) तथा अङ्ग्रेजी exile, banish (निर्वासन, देशनिकाला) सँग सम्बद्ध देखिए पनि विशेषतः उन्नाइसौँ शताब्दीतिरदेखि अङ्ग्रेजीमा र बीसौँ शताब्दीको मध्यतिरदेखि अन्यत्र पनि विभिन्न अर्थमा विस्तारित हुँदै गएकोे देखिन्छ । यसको प्रारम्भिक अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु वा कसैलाई दण्ड दिई एउटा मुलुकबाट निकालेर अर्काे मुलुकमा धपाउनु भन्ने नकारात्मक र हेय खालको देखिए पनि यतिखेर डायस्पोराको सम्बन्ध सोझै यहुदी निर्वासन वा दण्डसँग गाँसिदैन र यसको अर्थ नकारात्मक वा हेय मात्र नभई सकारात्मक हुँदैगएको छ । डायस्पोरालाई अहिले पनि कतिपयले अल्पज्ञानका कारण यहुदीहरूको पुरानो पीडादायी घटनाकै रूपमा अर्थात् नकारात्मक एवं हेय रूपमा अथ्र्याएको पाइए पनि त्यसलाई उपयुक्त मान्न सकिन्न । यतिखेर डायस्पोरा शब्दले बलपूर्वक ननिकालिई जुनसुकै कारणबाट स्वयं अन्य मुलुकमा जानु वा आफैँ संसारभर फैलिनु वा कुनै पनि कारणबाट आफ्नो जन्मभूमि वा पुख्र्यौैली थलो छोडेर अन्यत्र गई बस्नु भन्ने अर्थ दिन्छ । यसर्थ अहिले आफ्नो डायस्पोराले पुख्र्यौैली भूमिबाट बाहिर गई बसोबास गरेको समुदाय भन्ने अर्थबोध गराउँछ ।

धेरै पहिले हेब्रुली GALUT, GOLA (निर्वासन) तथा अङ्ग्रेजी exile, banish (निर्वासन, देशनिकाला) शब्दले विशेषतः कसैलाई दण्ड दिई निर्वासन गर्ने वा एउटा मुलुकबाट निकालेर अर्काे मुलुकमा धपाउने भन्ने अर्थबोध गराएको देखिए पनि अहिले डायस्पोराको सम्बन्ध सोझै दण्डसँग नगाँसिने भएकाले यसका लागि galut वा gola (निर्वासन) भन्दा उपयुक्त शब्द tefutzot, dispersion (फैलावट/छिन्नभिन्नता/विकीर्णन) लाई मानिन्छ । फैलावट बुझाउने dispersion शब्दले बलपूर्वक ननिकालिई आफैँ संसारभर फैलिनु भन्ने अर्थबोध गराउँछ । यसर्थ डायस्पोराको अर्थ हिब्रु भाषाबाट भन्दा ग्रिसेली भाषाबाट निर्धारण गर्नु उपयुक्त देखिन्छ ।

वर्तमान सन्दर्भमा diaspora को अभिप्राय बोध गराउनाका लागि अनेक शब्दको प्रयोग गरिएको पाइन्छ । डायस्पोरा शब्दको प्रयोग फैलावट, छिन्नभिन्नता, विकीर्णन (dispersion), फिंजाइ (spreading), छराइ, तितरबितर (scattering), बसाइँ सराइ (migration), आप्रवासन (immigration) विघटन, छिन्नभिन्न (disbandment), छिन्नभिन्न, प्रकीर्णन didpersal विघटन (dissolution), पलायन (escape), निर्गमन, निष्क्रमण, प्रस्थान (exodus), सामूहिक निर्गमन, निष्क्रमण, प्रस्थान (mass exodus), शरणार्थी प्रवाह (refugee flow) आदि अनेक अर्थमा गर्न थालिएको देखिए पनि यी सबैलाई डायस्पोराको पर्यायवाचीका रूपमा भने लिन मिल्दैन ।

प्रयोगगत विविधताका कारण डायस्पोरालाई प्रारम्भिक वा पुरानो अर्थ निर्वासन वा विस्थापनमा मात्र सङ्कुचित नराखी यसको अर्थविस्तार र अर्थपरिवर्तन गर्नुपर्ने स्थिति देखिएको छ । ग्रिसेली भाषामा डायस्पोराको अर्थ विभिन्नतिर फैलिनु वा फिंजिनुलाई हिब्रु भाषामा निर्वासन वा देशनिकालाको अर्थमा प्रयोग गरिएको पाइए पनि अहिले डायस्पोरालाई हिब्रु भाषाको निर्वासन वा देशनिकाला भन्ने नकारात्मक वा हेय अर्थमा मात्र नभई ग्रिसेली भाषाको फैलिनु वा फिंजिनु र तत्जन्य अनुभूतिको प्रस्तुति भन्ने अर्थमा प्रयोग गरिएको देखिन्छ । अहिले डायस्पोरालाई जबर्जस्ती बलपूर्वक र स्वेच्छिक दुवै ढङ्गबाट फैलिएका व्यक्ति वा समुदाय भन्ने अर्थमा प्रयोग गरिएको पाइन्छ ।

कतिपयले डायस्पोरालाई आफ्नो मुलुकबाट यहुदीहरू निर्वासित वा निष्कासित वा विस्थापित भई विभिन्न देशमा जीवनयापन गर्न बाध्य भएको व्यक्ति वा समुदायको ऐतिहासिक सन्दर्भबाट अथ्र्याएर निर्वासन वा निष्कासन वा विस्थापनकै रूपमा सैद्धान्तिकीकरण गर्न खोजेको पाइए पनि यो एकाङ्गी र अव्यावहारिक दृष्टिकोण हो । यहुदीहरूको विस्थापन र शरणार्थी अवस्थालाई मात्र नभई आफ्नो स्पष्ट पहिचानसहित विश्वका विभिन्न मुलुकमा फैलिएर बसोबास गरेको अवस्थालाई जनाउन पनि डायस्पोरा शब्दको प्रयोग गरिन्छ । यतिखेर कुनै पनि मुलुकका नागरिक विश्वका जुनसुकै मुलुकमा गएर आफ्नो स्पष्ट पहिचानसहितको समुदाय निर्माण गरी स्थायी रूपले बसोबास गर्ने व्यक्तिहरूलाई डायस्पोरा भनिन्छ । यसरी डायस्पोराको पुरानो अर्थमा व्यापक परिवर्तन भई अर्थविस्तार भएको स्पष्ट देखिन्छ ।

यहुदीहरूसँग गाँसिएर निर्वासनका अर्थमा प्रयोग गरिनुपूर्व ग्रिसमा डायस्पोरा शब्दको प्रयोग वनस्पतिका क्षेत्रमा बोटबिरुवाको बिउ छरिनु, विज्ञानका क्षेत्रमा तापका कारणले आल्मुनियम अक्साइडका कणहरू छरिनु वा फैलिनु भन्ने अर्थमा प्रयोग गर्ने गरिएको र अलि पछि मात्र यो शब्द मानिसको निर्वासन, विस्तार वा फैलावटका अर्थमा प्रयोग गर्न थालिएको देखिन्छ । यसर्थ पहिले ग्रिसेलीमा वनस्पतिको बिउ, आल्मुनियम अक्साइडका कण वा अन्य कुनै वस्तु वा व्यक्ति छरिनु, फैलिनु तथा हिब्रुमा निर्वासन वा देशनिकाला भन्ने अर्थमा प्रयुक्त डायस्पोरा शब्दको अहिले भने अर्थविस्तार भई यसले व्यापक अर्थ धारण गरेको छ । डायस्पोराको अर्थ यत्रतत्र वा चारैतिर छरपस्ट हुनु, फिंजिनु, छरिनु वा फैलिनु भन्ने हुन्छ । यसरी हेर्दा सुरुमा बिउ, कण वा मानव समुदायको फैलावट, विस्तारजस्ता अर्थमा डायस्पोराको प्रयोग भएको देखिए पनि यसको खास प्रयोग मानव समुदायको फैलावट वा विस्तारका रूपमा भएको पाइन्छ । यस सन्दर्भबाट हेर्दा अहिले डायस्पोराको अर्थ विभिन्न कारणले आफ्नो देशबाट अन्य देशमा गई छुट्टै समुदायको निर्माण गरेर बसोबास गर्नु वा त्यसरी बसोबास गरेको समुदाय भन्ने हुन्छ ।

डायस्पोरा शब्द ग्रिसेली भाषाकै भएकाले यसको अर्थ यहुदीहरूको विस्थापन वा निर्वासनसँग मात्र नभई तिनीहरूको छराइ तथा फैलावटसँग पनि रहेको देखिन्छ । समयक्रमसँगै यसको अर्थ, क्षेत्र, प्रवृत्ति र प्रकार पनि विस्तार हुँदै गई डायस्पोराको सैद्धान्तिक स्वरूप निर्माण हुँदै गएको हो । डायस्पोराले पहिले बेबिलोन र रोमले प्यालेस्टाइनमाथि विजय प्राप्त गरेपछि छिन्नभिन्न भएका र अन्यत्रका यहुदी समुदायलाई मात्र बुझाएको देखिए पनि अहिले जतासुकैबाट अन्यत्र जतासुकै फैलिएका जोसुकै व्यक्ति वा समुदायलाई बुझाउँछ ।

डायस्पोराको जन्म विनाशबाट उत्पन्न पीडा सहनुपर्ने बाध्यता र त्यसको स्मृति, सांस्कृतिक र राजनैतिक प्रतिबद्धताबाट भएकाले सन् १९७० सम्म डायस्पोरालाई निर्वासित र अल्पसङ्ख्यक जातीय समुदायका रूपमा हेरिएको पाइन्छ । यस अवधिमा यहुदीहरूको निर्वासनका कारण र घटना, तिनकोे फैलावट, देश र संस्कृतिबाट वञ्चित भएको अवस्था, सांस्कृतिक–धार्मिक धरोहर ध्वस्त भएको अवस्थाजस्ता पीडादायी घटनाको अनुभूति, सामूहिक रूपमा सांस्कृतिक–धार्मिक धरोहर र पहिचानका आधारको जगेर्ना, गृहदेश फर्कने आशा र विश्वासजस्ता अनेक पक्षमा जोड दिएको देखिन्छ । डायस्पोराको सीमा प्रतीकात्मक हुने र सामूहिक पहिचानको संरक्षणका साथ ठुलो समाजको भेदभावपूर्ण व्यवहारकै बिचमा बाच्नुपर्ने हुँदा डायस्पोराको व्यवहार पनि गतिशील हुन्छ भन्ने ठानिन्छ ।

ग्रिसेलीमा निर्वासित यहुदीहरूलाई डायस्पोरा भनिएको र डायस्पोराको मूल अर्थ प्यालेस्टाइनबाहिर छरिएर निर्वासित जीवन बिताउनु भन्ने भए पनि वर्तमानमा आफ्नो देशबाहिर नयाँ देश, संस्कृति समुदाय, भाषा भएको स्थानमा पहिचानसहित जीवन व्यतीत गरिरहेका व्यक्ति वा समुदायलाई डायस्पोरा भनिन्छ । अन्तर्राष्ट्रिय बसाइँ सराइबाट सुरु भई जातीय अल्पसङ्ख्यकका रूपमा रहेका बहुराष्ट्रिय व्यक्ति वा समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, भाषिक गतिशील अवस्था र तत्सम्बन्धी चेतनाको परिणामका रूपमा समेत लिनसकिने डायस्पोराको विकास र विस्तारमा यिनै समुदायको भूमिका रहन्छ । उहिले यहुदीहरूको निर्वासनसँग गाँसिएको डायस्पोराको अर्थलाई नै आधार मानी अहिले पनि कतिपयले उही पुरानै नकारात्मक वा हेय अर्थमा यदाकदा प्रयोग गरेको देखिए पनि अहिले यसको प्राचीन अर्थमा व्यापक परिवर्तन भई यो विशिष्ट पारिभाषिक शब्द बन्नपुगेको देखिन्छ ।

कतिपयले डायस्पोरालाई सांस्कृतिक सन्दर्भविशेषबाट अथ्र्याएको पाइन्छ भने कतिपयले गृहभूमिसँग जोडिएको सामाजिक–सांस्कृतिक घटना, संस्कृती निर्माणप्रक्रिया र सचेतनाका साथै अन्तर्देशीय सम्बन्ध र पहिचानमा केन्द्रित गरी व्याख्या गरेको पनि पाइन्छ । डायस्पोराले गृहदेशको संस्कृती र सामूहिक पहिचानलाई संरक्षण गर्छ र त्यसो गर्ने आधार गृहदेशको भाषा, धर्म तथा सामाजिक–सांस्कृतिक अभ्यास हुनेगर्छ । डायस्पोरालाई समाजशास्त्र, मानवशास्त्रमा समान संस्कृती भएका व्यक्तिहरू गृहदेशबाट अन्य देशमा फैलिनु भनी अथ्र्याइएको पाइन्छ । यति बेला डायस्पोरालाई परम्पराभन्दा भिन्न सन्दर्भबाट अथ्र्याउन थालिएको छ र यो मानवीय पहिचानका आधार मानिने संस्कृतिविशेषमा केन्द्रित हुनपुगेको छ । यसरी हेर्दा प्राचीन बेबिलोनदेखि पछिल्लो समयसम्मका बाध्यकारी निर्वासन र स्वेच्छिक आप्रवासन दुवै डायस्पोरा बन्नसक्छ र यसको केन्द्रमा भाषा, धर्म, संस्कृती रहन्छ । यसर्थ डायस्पोरालाई परम्परित अर्थ र सन्दर्भबाट मात्र नभई विभिन्न क्षेत्रसँग सम्बद्ध विषयवस्तुका रूपमा अन्य विभिन्न अर्थ र सन्दर्भबाट व्यापकताका साथ हेर्नुपर्ने देखिन्छ ।

ग्रिसेली शब्द डायस्पोराको अर्थ पनि निर्वासनसँग नभई फैलावटसँग सम्बद्ध रहेकाले फैलावटको तात्पर्य एउटा भूगोल, समाज, भाषा र संस्कृती भएका मुलुकबाट अर्को भिन्न भूगोल, समाज, भाषा र संस्कृती भएका मुलुकमा गएर पहिचानसहित बसोबास गर्नु भन्ने हो भने पहिचानरहित फैलावटचाहिँ डायस्पोरा नभएर विलयन हो । पछिल्लो समयमा डायस्पोरालाई यहुदीहरूको हिब्रु भाषाका सन्दर्भबाट नभई ग्रिसेली भाषाका सन्दर्भबाट अथ्र्याएर यही अर्थबाटै डायस्पोराको सैद्धान्तिक स्वरूप निर्माण गरिएकाले समयक्रममा यसको अर्थविस्तार भएको देखिन्छ । यसरी पहिले विस्थापित वा निर्वासित वा निष्कासित भन्ने नकारात्मक अर्थबोधक शब्द डायस्पोराले विशेषतः बीसौँ शताब्दीको उत्तरार्धतिरदेखि परम्परित अर्थलाई छोडेर बाध्यात्मक वा स्वेच्छापूर्वक जुनसुकै कारणबाट भए पनि आफ्नो गृहभूमि छोडेर अन्य मुलुकमा गई बसोबास गर्ने व्यक्ति वा समुदायलाई बुझाउन थालेको छ ।

डायस्पोराको सम्बन्ध प्रवासिनु वा बिदेसिनुसँग रहेको र बिदेसिने प्रचलन नयाँ नभएकाले यसैसँग सम्बद्ध शब्द डायस्पोरा पनि नयाँ हुने कुरै भएन । डायस्पोरा शब्द पुरानो भए पनि अहिले यसलाई अर्थविस्तार वा अर्थपरिवर्तन गरी प्रयोग गर्न थालिएको छ । पहिले विशेषतः यहुदी समुदायको निर्वासनसँग सम्बद्ध डायस्पोराले अहिले विशेषतः आप्रवासनलाई बुझाउँछ । यी विभिन्न सन्दर्भबाट हेर्दा डायस्पोराले कुनै खास राष्ट्र वा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा फैलिएर, विकीर्ण भएर, फिँजिएर, छरिएर, तितरबितर भएर, बसाइँ सरेर, निर्वासित भएर वा प्रवासिएर बस्नु भन्ने अर्थबोध गराउँछ । अहिले डायस्पोराले आफ्नो गृहभूमिबाट विश्वका अन्य मुलुकमा पहिचानसहित छरिएका मानिसहरूको समुदाय भन्ने बुझाउँछ । यसरी हेर्दा पहिले ग्रिसेली भाषामा छरिनु, फैलिनु वा तितरबितर हुनु वा फैलावट भन्ने अर्थमा प्रयुक्त डायस्पोरा शब्द हिब्रु र अङ्ग्रेजी भाषामा निर्वासन, विस्थापन वा देशनिकाला भन्ने अर्थमा प्रयोग भएको पाइए पनि अहिले यसमा व्यापक अर्थविस्तार भएको स्पष्ट हुन्छ ।

संसारका सबैजसो मुलुकको आफ्नो डायस्पोरा हुन्छ र त्यो आफ्नो मातृभूमिभन्दा टाढाटाढाको मुलुकमा छरिएर रहने हुँदा डायस्पोरा गतिशील हुन्छ । यसर्थ आफ्नो मातृभूमिबाट छरिएर टाढाटाढा बस्न पुगेका जुनसुकै समुदाय पनि डायस्पोरा हुनेहुँदा यहुदीहरूको मात्र नभएर जुनसुकै राष्ट्रियताको पनि डायस्पोरा हुन्छ । एउटा मुलुकबाट अर्को मुलुकमा प्रवासिँदा, बसाइँ सर्दा वा छरिएर बस्दा सम्बद्ध मुलुकको सामाजिक–सांस्कृतिक परिवेशजन्य भिन्नताले जीवनभोगाइमा सङ्कट उत्पन्न हुँदाहुँदै पनि त्यही सङ्कटका बिच बाँचिरहेका वा बाँच्न बाध्य भइरहेका मानिसहरू नै डायस्पोरा हुन् । यस्तो स्थिति जुनसुकै मुलुक वा जातिमा हुनसक्छ । जुनसुकै मुलुकबाट अन्यत्र विभिन्न मुलुकमा गई लामो समयदेखि छरिएर बसोबास गरेका व्यक्ति वा समुदाय सम्बद्ध देशका डायस्पोरा हुन् । विविध कारणले देश छोडेर परदेसिनु पर्ने बाध्यता अनि मातृभूमिको पीडा बोकेर आफु बसेको नयाँ पराईभूमि/कर्मभूमिलाई नै आफ्नो राष्ट्र मानेर बस्नु पर्ने विसङ्गत यथार्थमूलक परिस्थिति तथा बिरानोपन र असम्पृक्त परिस्थितिलाई सङ्गत यथार्थमा रूपायित गर्दै जिउनु आज विभिन्न मुलुकका थुप्रै व्यक्तिहरूको नियति नै बन्नपुगेको छ । यसर्थ विभिन्न राष्ट्र र जातिका अनेक डायस्पोरा बन्ने क्रम वर्तमान विश्वको विशेषता नै बन्नपुगेको छ ।