अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

योद्धा ! कस्तो युद्ध लड्यौ ?

युवराज मैनाली २०७७ असार ९ गते १३:५६ मा प्रकाशित

ऐजेरुले रस चुस्दै
बोटका शाखा प्रशाखा
सुकाए झैँ
योद्धा !
तिम्रो मानवीय मन सुकाउॅंदै
तिमीलाई क्षण प्रतिक्षण जर्जर बनाउॅंदै
दानवमा बदल्न क्रियाशील
तिमीभित्रकै –
काम र क्रोधका विरुद्ध
लोभ र मोहका विरुद्ध
मद र मात्सर्यका विरुद्ध
भन त
कहिल्यै युद्ध लड्यौ ?

बलियाका भरिया बन्दै
बलियालाई पिठ्युॅंमा बोक्दै
बलियाकै आदेशमा चल्दै
निर्धाका गर्धन निचोर्नु
के वीरता हो ?
तिमीले यसमा किन गर्व गऱ्यौ ?

रोगीसित पो लड्यौ
रोगसित तिमी कहिले लड्यौ ?
भोकाएका निमुखासित पो लड्यौ
भोकसित तिमी कहिले लड्यौ ?
आफ्नै छाती छामेर
भन त योद्धा !
तिमीले निर्दोषीहरूलाई
दोषी करार गर्दै
कतिलाई ढलाएर जलायौ ?
कतिलाई जलाएर ढलायौ ?

के तिम्रा हत्केलाहरू
मुठ्ठीमा कसिनमात्र सिर्जिएका हुन् ?
के तिम्रा पैतालाहरू
बुटमा कसिॅंदै वज्रिनमात्र सिर्जिएका हुन्
के तिम्रा शिरहरू
स्वामीका सलामीमा झुक्न मात्र सिर्जिएका हुन् ?

नानीहरूकै नानीमा भल भरेर
युवायुवतीकै यौवन हरेर
वृद्धवृद्धाकै बेहाल पारेर
विजेताको कस्तो ताज पहिरिने रहरले ?
भन त योद्धा !
तिमीले युद्ध लड्यौ ?

कुची भेटे कुची नै लुछ्यौ
कलम भेटे कलमै भाॅंच्यौ
फूल भेटे फूलै निमोठ्यौ
माली भेटे माली नै चिमोट्यौ !
जितै जितको
तातो गीत गाउॅंदा गाउॅंदै पनि
आफैँ हारेको चाल नपाउने
भन त योद्धा !
तिमीले कस्तो युद्ध लड्यौ ?

चुलाको आगो निभाएर
वन पाखा डढायौ
घाउ घाउ बनाएर
नुन चुक लगायौ
पाठशाला र धर्मशालाहरूलाई
अग्निशाला बनायौ
आर्तहरूमा मलम दल्नै नपर्ने !
भन त योद्धा !
तिमीले कस्तो युद्ध लड्यौ ?

प्राण कहाॅं बचायौ ?
बरु अजिङ्गर बनेर कैयौॅंका प्राण पचायौ !
मौरी कहाॅं बन्यौ ?
बरु अरिङ्गाल बन्दै
मौरीलाई नै सतायौ !
योद्धा !
यही हैन त तिम्रो पराक्रमको महागाथा ?

जसका कानका जाली फुटायौ
उनैलाई के सुनाउॅंछौ – तिम्रा कथा !
राता हात चोपलेर पानीमा
किन भट्याउॅंछौ – बुद्धका गाथा ?

जीवनकै लागि थियो भने – युद्ध !
कालो बादल झैँ गर्जिॅंदै
जीवनमाथि नै किन बारुद छऱ्यौ ?
नशै नशामा लिदीलाई नै गिदी मानेर
भन त योद्धा !
तिमीले कस्तो युद्ध लड्यौ ?

******
धुम्बाराही, काठमाडौॅं !