अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

विवश मान्छे !

युवराज मैनाली २०७७ जेठ ३२ गते ९:५५ मा प्रकाशित

रामायण होस् कि महाभारत
दाउ र घाउको पनि
कथा हो ।

कुत्सित, अमानुषिक मानसिकताका
शासकहरूका अभिमानले
जरो गाडेको
प्रथम विश्वयुद्धले
सुन्दर सिर्जनाहरूमा कति धावा बोल्यो ?
बगरका ढुङ्गा बनाएर कतिका प्राण हऱ्यो ?
मन दुखेका
काॅंपेका मान्छेका हातहरूले
ती चित्रहरू कसरी उतार्न सक्छन् ?

मान्छे मान्छेको
खाटा बस्न लागेको घाउ कोपर्दै
फेरि समय चक्रले
उस्तै बीभत्स लीलाको
द्वितीय विश्वयुद्ध
निम्तायो – जगत्मा !

ढुङ्गे युगको सिकारीले
कलेवरमा बान्की छाए पनि
परिकारमा परिवर्तन ल्याए पनि
यात्रामा पखेटा हाले पनि
सिकारी मनोवृत्तिलाई
भन ! कहाॅं विराम दिएको छ ?

साॅंढेहरू जुधिरहेकै छन्
बाच्छाहरू मिचिइरहेकै छन्
साॅंढेहरू जसले जिते पनि
भासिने र मासिने त
आखिर किसानकै
बारी र बालीहरू नै त हुन् !

जीवनको लय
विलयतर्फ मोड्दै
जगत्मा नयाॅं रूपमा
फेरि भित्रिएको छ – युद्ध !
ग्यासच्याम्बरकै परिकल्पनामा
ग्यासच्याम्बरकै गर्भमा
नजन्मिएको होला र – यो कोरोना ?

मान्छेका प्राण दाउमा थापेर
कुन दानव खेलिरहेछ –
प्रयोगशालामा ?

महाशक्तिका महानायकहरू !
परस्पर औॅंला उठाउॅंदै
अवैध सन्तान – कोरोनाको
मातापिताका रूपमा दरिन
अस्वीकार गरिरहनुको
रहस्य के ?

ज्ञान – अलमलमा छ
विज्ञान- ढुलमुलमा छ
लामा हातहरूले आशीर्वाद भेटेका छन्
संचारको आतङ्कमा
व्यापारको मेलो चलाउन
बिजुली हराउॅंदा
बिकेको मैन झैँ
बिकिरहेका छन्
मास्क , सेनेटाइजर र साबुनका बट्टाहरू !

कोइला खानीमा कोचिएका मजदुर झैँ
उपचारका बहानामा- मान्छेहरू
तानिएका छन् – आइ . सी . यु. मा
र,
बलै कोचिएका छन्
भेन्टिलेटरहरूमा !

जगत् अनाथालयमा
कोही ‘नाथ’ छैनन्
छ त केवल – सत्ता छ
करुणा रित्तिएको
उन्मादको आसन छ
सत्यको बन्द कोठामा मुख थुनेर
असत्य बर्बराउने थुतुनो छ
अल्प ज्ञानीहरूमा
सर्वज्ञ बन्ने होड छ !

आलु झैँ उसिनिएको छ – मान्छे !
भेडा झैँ कोचिएको छ – मान्छे !
भान्छेको कुन मीठो परिकार बनाउने रहर हो ?
मरीच झैँ चाउरिएर
भोका पेटहरू भर्न
धनियाॅं र जिरा झैँ
लसुन र अदुवा झैँ
पिसिन विवश छ – मान्छे !
समयको घट्टमा
मकै र गहुॅं झैँ
पिधिॅंन विवश छ – मान्छे !!

————*————
धुम्बाराही , काठमाडौॅं ।