अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

कोरोना कहर: नयाँ कार जोड्ने रहर

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७७ जेठ २९ गते २२:४१ मा प्रकाशित

कसलाई केको धन्दा कसलाई केको धन्दा घरज्वाइलाई खानको धन्दा भनेझैँ यतिखेर सर्वत्र भद्रगोलै भद्रगोल भएका बेला मलाईचाहिँ“ कीर्तिमानी नयाँ कार जोड्ने रहर जागेको छ । नयाँ किनभने पुराना कार त कति चढियो कति हिसाबै छैन… । मलाई अहिले जोड्न रहर जागेको नयाँ कारचाहिँ गुडुवा कार नभएर उडुवा कार हो । कार पनि कतै उडुवा हुन्छ भन्नुहोला, किन नहुनु ? मैले भनेपछि नहुने कुरै छैन…, म यता नपढेर के भो र विदेशबाट प्रमाण दिइएको बडेमाको डाक्टर पो हुँ त… ।

अहिले कोरोना आतङ्कले संसार आतङ्कित भएका बेला देश लकडाउनमा छ तैपनि नयाँ नयाँ कार जोड्ने होडबाजी चल्दो छ, अनेक नामधारी सङ्घसंस्थाबाट अनेक कार जोड्ने–जोडाउने प्रतियोगिता पनि हुँदा छन् । कोरोना कहरमा अनेक नयाँ कार जोड्ने रहर बढेकै छ । यति बेला फेसबुके कारहरू कनीकनी कोककार (कोरोना कविताकार/कथाकार), कोलककार (कोरोना लघुकथाकार), कोमुकार (कोरोना मुक्तककार), कोगकार (कोरोना गजलकार), कोगीकार (कोरोना गीतकार), कोहाकार (कोरोना हाइकुकार), कोताकार (कोरोना ताङ्काकार), कोनाकार (कोरोना नाटककार), कोनिकार (कोरोना निबन्धकार) बनेर देखापरिरहेका छन् भने कोउकार (कोरोना उपन्यासकार), कोमकार (कोरोना महाकाव्यकार), कोखकार (कोरोना खण्डकाव्यकार) र कोसकार (कोरोना समालोचनाकार) पनि बन्ने लक्षण देखिंदैछ । यी शब्द पहिलो पटक प्रयोग गरिएकाले कोष्ठमा यिनको विस्तृत रूप दिइएको हो, यसपछि दिनु नपर्ला…।

यतिखेर बहु प्रचलित कोजुकार (कोरोना जुमकार) को त कुरा गरी साध्य छैन, बाफरे बाफ… डकार्नेदेखि खकार्नेसम्म…, सकार्नेदेखि हकार्नेसम्म…, बटार्र्नेेदेखि लतार्नेसम्म…। दिनहुँ जताततै निःशुल्क फेसन सो हुँदोछ… सुत्नेकोठाका मात्र के खाटकै सब गतिविधि देखाउँदा छन्, एकाध बाँकी रहेका नि कुन दिन कुन कारले देखाएर नयाँ रेकर्ड बनाउन बेर छैन… ।

हामी नेपाली जाति सब कुरामा फस्टै फस्ट…एकसेएक कारवाला…, तलदेखि माथिसम्म, उम्रेदेखि खुम्रेसम्म सबका सब कोरोना डाक्टर…। लौ न प्रभु कोरोना डाक्टरले हैरान पारे, हामीलाई कोरोनाकारबाट छिटै मुक्ति देऊ, बरु १०८ होइन अनुदान, चन्दा, रिन जेजे खोजेर भए नि १०००००००००८ लड्डु चढाउँला र अर्कै कुनै नयाँ“ कार जोडौँला…। यसका लागि कुनै गोप्य सन्धि सम्झौता गर्नुपरे मर्जी होस् प्रभु हजुरको यस चरणदासलाई…।

यी सबै हेरेदेखेपछि म बबुराले पनि केही कार त जोडिसकेँ अब कुन कुन…कार जोडौँ भनेर सोच्दैछु…। कार जोड्न कोही बाँकी भए नयाँ कार जोड्ने रहर पूरा गरी हालौँ है…। पछिको के भरोसा…। छाप्न अनलाइन जति पनि छदैछन् नत्र फेसबुक लाइभ त बाजेकै बिर्ता भइहाल्यो…।

हुन त मलाई नयाँ कार जोड्ने रहर लागेको अहिलेको होइन, उहिले देखिकै हो । चलनचल्तीका भाषामा त्यस कारको नाम साहित्यकार राखिएको छ । हुन त म पुर्ख्यौली रूपमै ठुटेमुटे साहित्यकार नै हुँ । अहिले पुर्खाभन्दा अलि भिन्न हुन खोजेको मात्र हो । यतिखेर मलाई एक दुई विधाको मात्र होइन सबै विधा र तिनका उपविधा वा शाखा सन्तान सबका कार चढेर विश्व रेकर्डै कायम गर्ने भूत सवार भएको छ ।

विधा नामबाट चिनिने साहित्यका चार मूल सन्तान कविता, आख्यान, नाटक र निबन्धमध्ये सबभन्दा बढी शाखा सन्तान कविताका छन् । यसका बृहत्तम रूप महाकाव्यदेखि सुरु भएको यात्रा अहिले लघुत्तम रूप छोकसम्म पुगिसकेको छ । महाकाव्य, खण्डकाव्य, गजल, मुक्तक, गीत, हाइकु, ताङ्का, छोक आदि यसका वैध अवैध शाखा सन्तान हुन् । आख्यानले कथा र उपन्यास अनि नाटकले पूर्णाङ्की र एकाङ्की गरी दुई दुई सन्तान जन्माएर बन्ध्याकरण गरिसकेका छन् । निबन्ध कान्छो भए पनि फुर्तिलो छ । यसले अहिलेसम्म नियात्रा, संस्मरण, आत्मवृतान्तजस्ता सन्तान उत्पादन गर्न भ्याइसकेको छ, थप अरू पनि जन्माउने तरखरमा छ ।

सर्वप्रथम जेठा जिजु कविताकै कुरा गरौँ— म पुरानै कविताकार हुँ । कुरा आयो कविताकारको । यो शब्द हुँदैन भन्नु होला— किन नहुनु ? कथाकार, उपन्यासकार, नाटककार, निबन्धकार तथा कविताकै सन्तानमा कार जोडी महाकाव्यकार, खण्डकाव्यकार, गजलकार, गीतकार, हाइकुकार, ताङ्काकार आदि सब हुने भएपछि कविताकार पनि हुन्छ, मैले भनेपछि नहुने कुरै छैन…, कसैलाई हुँदैन भन्ने अधिकारै छैन । अहिले कविताकार हुन खासै गारो पनि छैन । यसो भाषा भाँचकुँच गरेर वा तेर्सा शब्दलाई एउटा एउटा गरी ठाडो पारेर छापिएदिए कविता भइहाल्छ । कविताका पनि अनेक रूप, रङ्ग र ढा“चा छन् । तानतुन गरेर अलि लामै बनाए महाकाव्य, अलिकति घटाए खण्डकाव्य, अझ बढी घटाए फुटकर कविता बनिहाल्छन् । यताउति गडबडी भए प्रयोग भनिदिए भइहाल्छ । यसरी कविताका पुराना लामा रूप दिनानुदिन छोट्टिँदा छन्, खुम्चिँदा छन्, बार हाते पटुका र बिस हाते सारी बित्ताको धरो बनेझै गरी… । हुँदा हुँदा छोकका नामबाट एक हरफतिरै झरिसके । कुनै दिन कसैलाई सनक चढ्यो भने शब्द वा अक्षरतिरै झार्न बेर छैन ।

अहिले तीन हरफे कविताको त बाढी नै आएको छ, भनी साध्यै छैन । पाँच–सात–पाँच मिलाएर तीन हरफका सत्र अक्षर छान्यो, कविताको हाइकु नामक आयातित जापानी बच्चो सन्तान जन्मिहाल्छ । यसो गरेपछि हाइकुकार भइहालियो । वर्तमान हाइकुका केही नमुना हेर्नुहोस्—

(१) जुरुक्क उठ्यो
सुस्तरी हाइ काढ्यो
थुचुक्क बस्यो ।

(२) चाकडी चुक्ली
हिमालचुली झुक्ली
तँ आजै निक्ली ।

(३) घाम झुल्कियो
पानी आउन बन्द
दमन मन्द ।

(४) नयाँ वर्षमा
श्रीपशुपतिनाथले
कल्याण गरून् ।

(५) एकाबिहान
सूर्योदय भएन
असिना पर्यो ।

(६) भेटियो फ्याट्टै
हिजो राती नै स्वाट्टै
टाउको प्वाट्टै ।

यी त केही नमुना मात्र हुन् । यस्ता नाथे हाइकु त चुट्कीका भरमा कति लेखिन्छ कति ! अनि यही हाइकु सन्तानमा सातसात अक्षरका अरू दुई पङ्क्ति थपिदिए ताङ्का बनिहाल्छ र ताङ्काकार पनि भइहालिन्छ । अक्षर अलिअलि घटीबढी भए भने नयाँ प्रयोग भनिदियो बस… । केही ताङ्का पनि हेरिहाल्नुहोस् न त —

(१) जुरुक्क उठ्यो
सुस्तरी हाइ काढ्यो
थुचुक्क बस्यो
राष्ट्रिय चिन्तनमा
कट्टु टकटक्यायो ।

(२) चाकडी चुक्ली
हिमालचुली झुक्ली
तँ आजै निक्ली
बिहान सबेरै झुल्की
नत्र घरमै मुन्टी ।

(३) घाम झुल्कियो
पानी आउन बन्द
दमन मन्द
बस भाडामा वृद्धि
सबैलाई राहत ।

(४) नयाँ वर्षमा
श्रीपशुपतिनाथले
कल्याण गरून्
अरूको जे गरे नि
मेरोचाहिँ गरून् ।

(५) एकाबिहान
सूर्योदय भएन
असिना पर्यो
मोबाइल चालु
हल्का लाठीचार्ज ।

(६) भेटियो फ्याट्टै
हिजो राती नै स्वाट्टै
टाउको प्वाट्टै
कालोकालो कपाल
शान्तिक्षेत्र नेपाल ।

अहिले हाइकु, ताङ्काभन्दा पनि बढ्ता बाढी गजलको आएको छ । कतिपय ठाउँलाई गजलको राजधानी घोषित गरी सम्राट्–सम्राज्ञीसमेत बनिसके रे अनि तिनै स्वघोषित नवसम्राट्ले भावी सम्राज्ञीकै उपस्थितिमा गजललाई छुट्टै विधा घोषित गरिसके रे भन्ने सुन्न थालिएको छ । यो अवैध सन्तानलाई टाउकामा टेकाएर गद्दीमा बसाउने प्रयासको दुष्परिणाम हो । नबुझ्नेलाई बुझाउन सकिन्छ बुझपचाउनेको कुनै औषधी हुँदैन तर यसबाट मलाई भने फाइदै छ । म गजलकार पनि भएकाले सम्राट् बन्ने पालो मेरो पनि त आउला नि ! केही नभए आफ्ना टोलको स्वघोषित सम्राट् पक्का ! तर मेरो पालो आउन्जेलसम्ममा को कहाँ पुग्ने हो, केके भइसक्ने हो भन्न गारो छ । उहिले एक सम्राट् घोषित हुँदा त खपिनसक्नु थिएन भने बहुसम्राट् घोषित हुँदाको हालत कस्तो होला ? त्योचाहिँ सोचनीय छ । अहिलेको नयाँ नेपालजस्तै… त होला नि यो भन्दा फरक त के पो होला र ?

कविताका यी सब पुन्टा सन्तान छाप्दा कागजको नासचाहिँ अलि बढ्तै हुन्छ तर केही छैन । तिनकै साइजको किताब छपाएर नयाँ रेकर्ड बनाएनि भो । हाम्रा गीताहरू त त्यत्रा आकारमा उहिल्यै आइसकेकै छन् भने उताका हाइकुहरू आउन नमिल्ने भन्ने कुरै हुँदैन । हुन त ठूलै आकारमा छपाए पनि फरक पर्दैन । बिक्ने होइन बाँड्ने हो । पाउनेहरू रफ गर्ने कागज पाइयो भनेर मख्ख परी मेरो जयकार गरिहाल्छन् ।

बैंसालु उमेरमा कविता, मुक्तक नाथे त कति लेखियो कति ? न गनी साध्य छ न भनी साध्य । हस्पिटलाइज भएका बेला त लेख्न छोडिएन, त्यसको लेखाजोखै छैन । जुनतारा खसाउनेदेखि मायाप्रीति बसाउनेसम्मका… । अहिले त्यस बेलाकीहरूका अटो पल्टाए कति भेटिन्छन्, कति । सङ्कलनै गर्ने हो भने थुप्रै सङ्ग्रह बन्छन् । त्यतिखेर सबको प्रिय, विश्वासिलो, आँखाकै नानीमा गनिएको र उत्तम ठानिएको मान्छे एउटीमा बाधिएपछि पो नपाउनेका आ“खाको कसिङ्गर र खत्तम भइयो त !

यस काण्डपछि बीचमा कविता पनि फुर्न छाडेको थियो । अहिले त्यसलाई छोडेर अन्तै घरपोइ भएर बसेपछि कविता फुर्न मात्र होइन बाढी नै आउन थालेको छ । म अहिले धाराप्रवाह कविता भन्नसक्ने भएको छु । तपाईंलाई अनौठो लाग्ला यो घरपोइ भनेको के हो भनेर ! सिन्दुर हाल्ने बेलामा बार्गेनिङ गरेर मागेको स्वास्नीकै घरमा बसेपछि घरपोइ भइएन त ? उसका बाउका घरा बस्या भए पो घरज्वाइ होइन्थ्यो । यसलाई तथाकथित बुज्रुकहरूले भन्ने गरेको उत्तरआधुनिक विनिर्माण ठानी विनिर्माणवादी घरपोइ भनिदिए पनि फरक पर्दैन ।

अब हेर्नुहोस् उत्तरआधुनिक विनिर्माणवादी/उग्र प्रयोगवादी कविताका केही नमुना—

(१)
जुरुक्क उठ्यो सुस्तरी हाइ काढ्यो थुचुक्क बस्यो
चाकडी चुक्ली हिमालचुली झुक्ली तँ आजै निक्ली
घाम झुल्कियो पानी आउन बन्द दमन मन्द
नयाँ वर्षमा श्रीपशुपतिनाथले कल्याण गरून्
एकाबिहानै सूर्योदय भएन असिना पर्यो
भेटियो फ्याट्टै हिजो राती नै स्वाट्टै टाउको प्वाट्टै ।

(२)
जुरुक्क उठ्यो, चाकडी चुक्ली, घाम झुल्कियो
सुस्तरी हाइ काढ्यो, हिमालचुली झुक्ली, पानी आउन बन्द
थुचुक्क बस्यो, तँ आजै निक्ली, दमन मन्द
नयाँ वर्षमा, एकाबिहानै, भेटियो फ्याट्टै
पशुपतिनाथले, सूर्योदय भएन, हिजो राती नै स्वाट्टै
कल्याण गरून्, असिना पर्यो, टाउको प्वाट्टै ।

(३)
उता स्वास्नी आनन्दसँग मोज गरिरहेकी छ
यता म शान्ति भोग गर्न लालायित छु
बीचमा छोरी रोइरहेकी छ
ब्वाँसो र्याल चुहाइरहेछ
जनआन्दोलन, हल्का लाठीचार्ज टाउको प्वाट्टै
कुकुर भुकिरहेछ हात्ती कुदिरहेछ ।

अँ, कुरा फेरि कविताकै— अहिले कविताले स्वरूप परिवर्तन गरी गाली कविता, ताली कविता, साली कविता, फाली कविता, अपुताली कविता, दारी कविता, सारी कविता, भारी कविता, हिलारी कविता, गिलारी कविता, मिलारी कविता, चिलारी कविता, भूपाल कविता, गोपाल कविता, जोकर कविता, फोकर कविता, नोकर कविता आदि अनेक ढप र ढा“चा ग्रहण गरेको देखिएको छ । यी सबमा खासै भिन्नता छैन । सब उस्तैउस्तै हुन्, हात्ती र हात्ती छाप चप्पलजस्तै । कवि पनि झिल्के कवि, मिल्के कवि, तिल्के कवि, सिल्के कवि, बाटे कवि, घाटे कवि, पाटे कवि, आटे कवि, टाटे कवि, साटे कवि, खाते कवि, लाते कवि, बाते कवि, चाउरे कवि, पचाउरे कवि, दाउरे कवि, फ्याउरे कवि, च्वाँक कवि, फ्वाँक कवि, घ्वाँक कवि, भाट कवि, चाट कवि, साट कवि, चुच्चे कवि, बुच्चे कवि, लुच्चे कवि, छुच्चे कवि, फुच्चे कवि, साँढे कवि, आँडे कवि, पाँडे कवि, काँडे कवि, टट्टु कवि, छट्टु कवि, पट्टु कवि, कट्टु कवि आदि थुप्रै खाले छन् । म मौकाअनुसार यी सबैजसो कवि भइसकेकै मान्छे हु“ । अहिलेचाहिँ मलाई सबले बाटे कविका रूपमा चिन्न थालेका छन् । सडक, बाटो र गल्लीगल्ली भट्याउँदै हिंडेपछि नचिनुन् नै पनि किन ? मलाईचाहिँ बाटे मात्र नभई खाते आदि जे भने’नि केही फरक पर्दैन तर कवि मात्र नभई कविताकार भनिनै बढी मन लाग्छ । अब त भनाउन पनि थालेको छु ।

कुरा रहयो गीतकारको, म यस्ता नाथे गीत त चुट्कीका भरमा लेखिहाल्छु नि ! सपनीमा आइदेऊ, मुसुक्क हाँसिदेऊ, म जून खसाइदिन्छु, माया बसाइदिन्छु आदि लेखिएका पुराना प्रेमपत्र जोडजाड गर्दा मात्र पनि गीतका चाङ लागिहाल्छन् । मुक्तक मुला त मुखभरि छन्, मुख खोल्यो कि मुक्तक बोल्यो । यसैले मलाई अहिले नै गीतकार र मुक्तककार मात्र के आशुमुक्तककार भनिदिए भैहाल्छ ।

अब लागौँ आख्यानकारतिर— मेरा पुर्खाहरू नै कथा कथ्न र भन्न नामुद भएकाले त्यो गुण ममा वंशानुगत रूपमै आएको छ, मात्र लेख्न बाँकी त हो नि ! धाराप्रवाह कथा सुनाउन सकिहाल्छु । लेख्नु भनेको कुन आइतबारको कुरा हो र ? अहिले भाडाका लेखनदासको कुनै कमी छैन । मसँग केही पहिले राजनीति गरेर कमाएको अकुत पैसा छँदैछ । उपन्यासकार हुनलाई त झन् सजिलो, त्यही कथा अलि लामो पारे भैहाल्यो । एक ट्वाक बढी थपेपछि उपन्यासै उपन्यास जन्मिहाल्छन् खुरुरु ।

नाटकले पूर्णाङ्की र एकाङ्की गरी दुइ सन्तान जन्माएर बन्ध्याकरण गरिसके पनि नाटक त अहिले मुलुकभर जताततै मञ्चित भइरहेकै छन् । हर क्षेत्रमा नाटक गर्न मलाई कसैले भेट्ने होइन । त्यसैलाई शब्दमा उतार्नु त हो नि ! अलि लम्ब्याए पूर्णाङ्की अलि छोट्याए एकाङ्की… । अनि त भइहालियो पूर्णाङ्कीकार र एकाङ्कीकार…।

निबन्धकार हुन झनै सजिलो, जे लेखे पनि निबन्ध भइहाल्छ । एकाध अन्टसन्ट पाँडे गन्थन लेख्यो, छाप्यो, नयाँ प्रयोग भन्यो, कार थपिदियो बस— निबन्धकार । यसमा नि यहाँ गए यसो गरें… भनी गफ हाँके नियात्राकार भइहालियो अनि कसैलाई यसो केके गन्थन लेखाए ठूलो संस्मरणकार र आत्मवृतान्तकार…।

अँ, अहिले हास्यव्यङ्ग्य पनि फस्टाउँदो छ— कसरी थाहा छ ? उहिले गाउँमा तथानाम पाँडे गाली सिकेका–सिकेकीहरू जति सब हास्यव्यङ्ग्यकार भएर ! पहिलेका मौखिक अभिव्यक्तिलाई लिखित रूप दियो, बस हास्यव्यङ्ग्यकार भैहालियो । हास्यव्यङ्ग्यको कर्म र मर्म नबुझ्ने कतिपय कालुपण्डितहरू उट्पट्याङे गन्थन एवं तथानाम गालीलाई हास्यव्यङ्ग्य ठान्छन् र यसलाई छुट्टै विधा पनि भन्ने गर्छन् । टोक्नु र ठोक्नुबाहेक यस्ता लबस्तराको औषधी के नै पो हुन्छ र ? चाहे जे होस् यसले मलाईचाहिँ फाइदै गराएको छ । मलाई हास्यव्यङ्ग्य लेख्न उति नआए पनि मेरी स्वास्नीका एक बिहानकै धाराप्रवाह पाँडे भाषण टेप गरी उतारेर छाप्दा म ठूलै हास्यव्यङ्ग्यकार बन्ने कुरा पक्का छ ।

कुरा रहयो समालोचनाकारको । स्वस्तिवाचन र चारणगानमा म जन्मजात रूपमा सिद्धहस्त छँदैछु । प्रत्येक पटकका सत्तासीनहरूबारे प्रशस्ति छपाएकै छु, भाषण पनि लेखिदिएकै छु । शब्दको सिरगन्ती मूल्य असुलेरै भए पनि थुप्रैका भूमिकारूपी प्रशस्ति गाएकै छु । यति भएपछि मलाई समालोचनाकार नभन्ने कसको तागत ? मौका परे सम्राट् नै थपेर घोषणा गराउन पनि बेर लाउँदिन ।

जुनसुकै विधाका जेसुकै लेखे पनि कुनै प्रकाशन संस्थाको नाम राखी आफ्नै पैसामा छाप्ने त हो नि ! हुनत अहिले किताबको पछाडि हिरो–हिरीको जस्तै रङ्गीन फोटो राखिदिए छापिदिनेहरू पनि भेटिन थालेका छन् । जसरी भए पनि छापिसकेपछि अलि ठूलै तारे होटलमा मन्त्रीसन्त्री बोलाएर विमोचन गराए प्रचार भैहाल्छ । अहिले मन्त्रीलाई पनि फुर्सदै छ । संसद्तिर जानु आवश्यक नभएको हुँदा तिनीहरू यस्तै निम्तो कुरेर बस्या हुन्छन् । तिनलाई थोत्रे क्यामराका अगाडि उभिएर कुम उफार्दै जुँगा मुसार्दै पाँडे भाषण दन्काउन पाए पुगिहाल्छ । यहाँ भाडाका पत्रकारको पनि कमी छैन । मन्त्री उपस्थित नहुने साहित्यिक कार्यक्रममा थोत्रो क्यामरा भिरुवा पत्रकारसमेत ढिम्किँदैनन् । तिनीहरू मन्त्रीस“गै भित्रिने र बाहिरिने रोगले ग्रस्त भएकाले साहित्यिक कार्यक्रममा आसाहित्यिक मन्त्री बोलाउनु अनिवार्य भइसकेको छ !

अलि ठूला होटलको नाम सुनेपछि र ककटेल पनि छ भन्ने कुरा कार्डमै छापिदिए पछि त सबका सब हुरुरु ओइरिइहाल्छन् । अहिले कोरोना फ्लु, बर्ड फ्लु आदिको हल्ला चलेकाले कोरोना फ्लु, बर्ड फ्लुसँग डराउनेलाई वर्ड फ्लु भनिदिए भैहाल्छ । नत्र ककटेलका सट्टा फिसटेल वा डगटेल नै छापिदिए पनि आउनेको कमी हुने कुरै छैन । कुरा रहयो प्रशंसा गरिदिने समालोचनाकारको… । यस्ताको पनि कमी छैन, अचेल भाडामा पनि पाइन थालेका छन् । त्यसो नभए मैले पनि त उहिल्यैदेखि धेरैलाई सशुल्क गुन लाएकै छु, तिनैबाट काम चलाए पनि भैहाल्छ नि !

कोइलीदेवी, कागदेव, रूपीकुमारी र चिभेकुमार महोदय–महोदयीहरूले कतै स्टेजमा उभिएर खोक्दै चाक हल्लाउनेबित्तिकै मान, सम्मान र भेटी पाउने अनि अरू कार जोडिएकाहरू भने ठन्डाराम हुने देख्दाचाहिँ कहिलेकाहीँ गायकमै कार जोडिदिन मन लाग्छ । त्यो त कुन ठूलो कुरा हो र ? अहिले हाउहाउ… काउकाउ… गर्नेबित्तिकै त्यो कार कुदिहाल्छ । त्यस्ता काममा म उहिलेदेखि नै खप्पिस छँदैछु ।

मलाई पत्रकारको कार जोड्न पनि त्यत्तिकै रहर छ । चौथो अङ्ग भन्यो । यताउति धम्क्यायो । कुछकुछ हात पारिहाल्यो । पत्रकार हुन खासै योग्यता चाहिने होइन, नेताका जति भए पुगिहाल्छ । त्यसभन्दा धेर मसँग छँदैछ । तसर्थ चाहेकै दिन पत्रकार नहुने कुरै भएन ।

वर्तमान विनिर्माणवादी युगमा एउटै कुरालाई विभिन्न ढाँचामा उतारिदिए तीती विधाका रचना बनिहाल्छन् । भाषालाई तन्काए गद्यविधा, ठुन्क्याए पद्यविधा । आजकाल अरूका रचनाका केही शब्द फेरफार गर्दा वा इधरका माल उधर, उधरका माल इधर गरेपछि मौलिक साहित्य बनिहाल्छ । यसो केही दिन तेलभिसामा गएका बेला लेखिएका गन्थनलाई डायस्पोराका उत्कृष्ट रचना भनिदिने भरौटे टिप्पणीकारको पनि कमी छैन । कोरोनाले तेलभिसा रोक्यो भनेचाहिँ केही स्वघोषित डायस्पोराविज्ञका दानापानी टुट्न बेर छैन । सन्दर्भविनै अर्काका लेख सारेर पनि कतिपय गँगटाहरू स्वघोषित डायस्पोराविज्ञ भनाइएकै छन् ।

यसो भएपछि जस्तोसुकै कार जोड्न समस्या हुने कुरै भएन । मेरा रचनाका बारेमा कसैले खिसीट्युरी गर्ने कुरै छैन, किनभने तिनले फेरि पनि बाहिर निस्केर हिँडडुल बाँकी नै छ । प्रशंसा नगरे मकै खानेको नास, सबैलाई आफ्ना मकै खानेको मायै लाग्छ । मेरा रचना कसैसँग मिले भनेर आरोप लगाउने अधिकार पनि कसैलाई छैन । कतैबाट लगाइएमा त्यो पूरै मिथ्या हुनेछ किनभने आफ्नाबाहेक अरूका रचना पढ्ने मेरो बानी नै छैन । यसर्थ कतै कसैसँग मिलेमा अरूले नै मेराबाट सारेको हुनुपर्छ वा संयोग मात्र ठान्नुपर्छ ।

आजकाल सधैंजसो नयाँ कार चढेर गलामा लगौँटी झुन्डाएकै सपना देख्न थालेकाले दुई दिनको जिन्दगानीमा सबका सब कार चढी आफ्नो सपना साकार नपारी हुँदै भा’छैन । म गृह, टोल, जिल्ला, अञ्चल र क्षेत्रमा सीमित हुने मान्छे होइन । मेरो सब कारमा राष्ट्र जोड्ने र पछि क्रमशः अन्तर्राष्ट्रसमेत जोडिमाग्ने मनसुवा छ । अहिले राष्ट्र कविताकार पो सकियो त, अरू सब शाखासन्तान त बाँकी नै छन् नि !

यी सबथोक प्राप्त गर्न मेरा ठूलाबारेका दुईचार प्रशस्ति अर्थात् महान् समालोचना नै पर्याप्त छन् । यति भएपछि म एकदुई नयाँ कार जोड्ने मात्र होइन ती सबै कारको कीर्तिमानी सम्राट् नै हुने कुरामा कुनै सन्देह छैन… । सम्राज्ञी हुन इच्छुकहरूले मेरा कम्पनीमा आई तुरुन्त सम्पर्क गर्दै गर्नु भए हुन्छ । पछि सिट पाइएन भनी मसँग गनगन गर्न पाइने छैन नि …।

जस्तासुकै कहर, बहर, लहर, जहर जेजे आए नि यस्ता अनेक कीर्तिमानी नयाँ कार जोड्ने रहर ठाउँ न ठहर बुढीको रहरजस्तो होइन नि । के यसका लागि कानुन नै पारित गर्दिऊँ त, निहुँ खोज्या हो…?