अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

पिल्सिएको परदेशी मन भित्रको सेरोफेरो

युवराज मैनाली २०७६ फागुन १९ गते ९:२३ मा प्रकाशित

कविता साहित्यको सशक्त विधा हो । अन्य विधाको तुलनामा यो बढी लेखिएको, पढिएको र सुनिएको विधा हो, मन छोइने विधा पनि हो । यसमा रहेको गेयात्मकता र श्रुति मधुरताले यसको लोकप्रियतामा वृद्धि भइरहेको छ । नेपालमा पनि नेपालको एकीकरणसँगै नेपाली कविता लेखिने क्रमको सुरुवात भएको पाइन्छ । सुवानन्द दास हुँदै भानुभक्त आचार्य, मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, राजीव लोचन जोशी देखि सोमनाथ, लेखनाथ, सम र देवकोटामा आएर यसले निकै फड्को मारिसकेको अनुभूत हुन्छ । छन्दमा मात्र कविता लेख्ने परम्परालाई कठिन नियममा बाँधिएर मात्र होइन गद्यमै सरलतापूर्वक लेख्न सकिन्छ भन्दै गोपालप्रसाद रिमालले विद्रोह गरे र गद्यमा कविता लेख्न सुरु गरे, स्थापित पनि गरे/गराए ।

त्यसपछि सम र देवकोटाले पनि गद्यमा कविता लेखनको सुरुवात गरे । भूपी शेरचनका चोटिला कविता निकै नै लोकप्रिय बने । मोहन कोइराला, ईश्वर वल्लभहरू बौद्धिकतामा उभिए । यसरी नेपाली कविता विधा विस्तृत बन्दै गएको पाइन्छ । तर ईश्वर वल्लभपछि कवितामा ठुलो फड्को मारेको भने देखिँदैन । तथापि, प्रजातन्त्रको पुनर्बहालीपछि विभिन्न सङ्घ–संस्थाहरूको नियमित काव्य वाचनले गति लियो । यससँगै नेपाली कविहरूको सङ्ख्यात्मकतामा ह्वात्तै वृद्धि भयो र यो वृद्धिदर पत्र–पत्रिकाको सङ्ख्यामा आएको वृद्धि, विद्युतीय मिडियाहरूको प्रयोग, सामाजिक सञ्जालले ल्याएको जागरण र चेतनाको वृद्धि एवम् विश्वव्यापीकरणसँगै अझै बढिरहेको देखिन्छ तर केही कविहरूलाई छाडेर अधिकांशहरूले लेख्नका लागि मात्र लेखिरहेका छन् । स्तरियता, काव्यात्मकता, भाव बोधका दृष्टिले कमजोर देखिएका छन् । यसको अर्को महत्त्वपूर्ण पक्ष हो– अध्ययनको कमी ।

प्रजातन्त्रको पुनर्बहालीपछि नेपाली समाजमा नेपाल बाहिर गई पठन पाठन गर्ने र जीविकोपार्जनका लागि बाह्य देशहरूको बाटो खुल्ला भएसँगै नेपाली भाषा र साहित्यले नेपाल बाहिर पनि तीव्र रूपमा फैलने सुअवसर प्राप्त गर्‍यो । हुन त जहानियाँ राणा शासनदेखि नै नेपालमा बस्न नसकेर वा राणाहरूको कोपभाजनमा परी देश छाडेर वा लखेटिएर भारतका विभिन्न सहरहरू विशेषतः बनारस, पटना र कलकत्ता जस्ता ठुला सहरहरूमा गई जीविकोपार्जनका लागि ब्राह्मण वर्गले कर्मकाण्डीय परम्परालाई स्थापित गरेसँगै धार्मिक सनातनी विषयवस्तुका विभिन्न ग्रन्थ, काव्य, पुस्तक, पत्रपत्रिका अध्ययन, अनुसन्धान र प्रकाशन गर्न थालियो । त्यस्तै धार्मिक आस्थाले ओतप्रोत स्थानहरू वा संस्थाहरू र अन्यत्र पनि व्यापार–व्यवसाय र अध्ययन गर्ने क्रमसँगै धार्मिक विषयवस्तु बाहेकका अन्य विषय वस्तुहरूमा पनि कविता, काव्य लगायतका साहित्य लेखिन थालियो । त्यही क्रममा भारतीय स्वतन्त्रता सङ्ग्राम र नेपालको जहानियाँ राणा शासन विरुद्धको आन्दोलनताका भारतीय भूमिमा नेपाली चेतनशील युवाहरूले पत्रपत्रिकाहरू प्रकाशन गर्ने कार्यको सुरुवात गरे र उनीहरूले तिनै पत्रपत्रिकामा जागरण र विद्रोह सहितका विषयवस्तु भएका नेपाली साहित्यलाई विशिष्ट स्थान दिए ।

नेपाली कविता क्षेत्रको विस्तारका लागि पहिलो र दोस्रो विश्वयुद्धबाट फैलिएको नेपाली भाषा र संस्कृतिलाई पनि भुल्नु हुँदैन । पहिलो र दोस्रो विश्वयुद्धमा विशेषतः नेपाली भाषा र संस्कृति नेपालबाट पूर्वतिर दार्जिलिङ, सिक्किम, आसाम, लगायत बर्मासम्म पनि फैलन पायो । पछिल्लो समय नेपाली भाषाको पनि अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरण भएसँगै नेपालभन्दा बाहिर बसेर पनि नेपाली समुदायले नेपाली परम्परालाई स्थानीय क्षेत्रहरूमा स्थापित गर्ने क्रम सुरुवात गर्न थालेका छन् । यही क्रममा नेपाली साहित्य पनि लेखिने, पढिने र त्यसको विषयमा छलफल, अन्तरक्रिया, समीक्षा हुने क्रम बढ्दो छ, नेपालीभाषिका विभिन्न सङ्घ–संस्थाहरू विदेशमा पनि खुलेका छन् । त्यति मात्र नभई नेपालीहरूको बाहुल्यता नभएका क्षेत्रका नेपालीले लेखेका रचना पनि सामाजिक सञ्जाल मार्फत पोस्ट गरी त्यसको चर्चा एकै समय विश्वभर गरिने र सल्लाह सुझाव पनि तुरुन्तै गर्ने क्रम बढ्दो छ । यस्ता क्रियाकलापले नेपाली साहित्यको भण्डार समृद्ध हुँदै छ । त्यस्ता सङ्घ–संस्थाहरूले नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरणमा विशेष योगदान दिएका छन् । यही क्रममा सुन्दर भविष्यको खोजीमा विदेशी भूमिमा पुगेका र नेपाली परिवेश र संस्कृति भुल्न नसकी नेपाली भाषा संस्कृतिलाई अझ बढी विस्तारित गर्ने मनसायका साथ लागेका मध्य राम लामा अविनाशी पनि एक हुन् । उनी पनि आफ्नो कविता सङ्ग्रहका माध्यमबाट नेपाली साहित्यमा आफ्नो उपस्थिति जनाउन पुगेका हुन् ।

२०२३ चैत १० गते काठमाडौँमा जन्मिएका ‘अविनाशी’ अमेरिकामा बसी जीवन यापनका लागि व्यापार व्यवसायमा संलग्न छन् । समाजसेवा र साहित्यिक सङ्घ–संस्थामा आबद्ध लामा सिर्जनाका क्षेत्रमा पनि परिचित छन् । साहित्यका विविध विधा कथा, कविता गीत र नियात्रामा फुटकर रूपमा विभिन्न पत्रिका र विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन गराउँदै हालै २०७६ मा आफ्नो पहिलो कविता कृति पिल्सिएको परदेशी मन कविता सङ्ग्रहका माध्यमले पुस्तककारका रूपमा उभिएका छन् । २६ वटा कविता सङ्ग्रहीत यस सङ्ग्रहलाई अङ्ग्रेजीमा कवि तथा समालोचक महेश पौडेलद्वारा अनुवाद गरिएको छ । अङ्ग्रेजी भाषामा समेत अनुवादित हुँदा यो कृतिले विश्वभरका अङ्ग्रेजी भाषी साहित्य प्रेमीसम्म पुग्ने अवसर प्राप्त गरेको छ ।

यस सङ्ग्रहको पहिलो कविता पिल्सिएको परदेशी मनमा सुखद भविष्यको खोजीमा अरबको तातो उखर्माउलो गर्मी, युरोप–अमेरिकाको मुटु कमाउने चिसो खाँदै सन्तानको भविष्य र सम्पन्नताको सपनाको लागि कडा परिश्रमबाट आर्जित सम्पत्ति परिवारको खुसीका लागि नेपाल पठाउँदा नेपालमा रहेकी भर्खरै जवानीका दिनहरू काट्दै गरेकी आफ्नी श्रीमतीले परदेसिएको श्रीमानले पठाएको धन सम्पत्तिमा मोज मस्ती गरी त्यसलाई समेत लिएर आफ्नो जवानीको पूर्ण सन्तुष्टिका लागि अन्यत्रै पोइल गइसकेको, छोराले उच्च शिक्षा आर्जन गरेपछि बुढेसकाल बिताइरहेको बुबालाई बेवास्ता गर्दा बुढेसकाल आधारहीन बन्दै गएको बडो उदेकलाग्दो परिवेशलाई मूल विषयवस्तु बनाइएको छ । तथापि बुढो बाउ आफ्नो सन्तानको सुखद भविष्यको बारेमा शुभेच्छा राखिरहन्छन् र कुनै गुनासो गर्दैनन् । साथै, कवितामा भरपुर आप्रवासी चेतको प्रयोग गरिएको छ । उनी त्यस चेतलाई यसरी पोख्दछन्:
“तिम्रो पढाइको हरेक सर्टिफिकेटहरू
मेरो पसिनाका थोपा थोपाले लेखिएका छन्
कुनै अक्षर अरबमा चर्को घाममा निस्किएका पसिनाले लेखिए
कुनै अक्षर कोरियामा पग्लेका
हिउँका थोपा थोपाले लेखिए ।”
र, अझै उनी आफ्नो बिरक्तिएको विगतलाई यसरी सम्झन पुग्छन्:

“तिम्रो पालनपोषण गरी बचेको
सारा सम्पत्ति कुम्ल्याएर अर्कैसँग भागेकी
तिम्री आमाको सम्झनाको
घुट्की लगाइरहेको छु
चरित्रहीन भन्दिनँ,
बैँसको कदर गर्न सकेकोमा
बधाई छ उनलाई ।”

सुखद भविष्यको कल्पना र रोजीरोटीको व्यवस्थापनको दोसाँधका बिच बिदेसिएका लाखौँ युवाहरूको प्रतिनिधित्व उनका हरेक जसो कविताले गरेका छन् । लत्रिएको आडम्बरले स्वार्थै स्वार्थमा अल्झिएको र आडम्बरयुक्त मान्छेलाई बाँससँग तुलना गर्दै मानिसको जिन्दगी सदा एकरूपको नहुने कुराको प्रक्षेपण गराइएको छ । जतिसुकै घमन्ड गरे पनि, जहाँसुकै गएर जस्तोसुकै मेहनत गरी कमाए पनि आखिरी यो संसारबाट एक दिन अस्तित्व विलीन हुने कुराको कटु यथार्थलाई आफ्नो रचना कुशलताको माध्यमबाट प्रस्तुत गरिएको छ:
जिन्दगीमा सधैँ एकनास कहाँ हुन्छ र
समय न हो, बदलिन्छ
धर्तीमा टुसाएको तामा
फुर्ती गरी बाँस बनी आकासिए पनि
एक दिन त्यही टुप्पे धर्तीमा लत्रिएझैँ
मान्छे पनि लत्रिन्छ ।

त्यस्तै “घमन्डको रन्को”मा पनि आफू बाहेक अरू कसैलाई नगन्ने, नटेर्ने र नमान्ने मानिसको प्रवृत्तिलाई उजागर गरिएको छ:
आफू धन दौलतको खोकिलामा गुट्मुटिँदै
भाँडमा गयो दुनियाँदार अनि आफन्त
वास्तविक आफन्तलाई पराई
किनेका पराइलाई आफन्त

अर्को पङ्क्तिमा उनी अझै थप्छन्:
भ्रमको खेतीमा लहलहाउने प्रयास
भाडाका सामान त चढ्नु नै छ एक दिन
समग्र मानव जीवन पनि त
भाडाको जस्तै नै हो
हरेक दिन खर्चिंदै बाँच्नुपर्ने
कहिले श्रम, कहिले पैसा त कहिले इमान सधैँ बाँच्ने तयारी गर्दागर्दै
एकदिन मर्नैपर्छ भन्ने
यथार्थ पनि भुल्छ मान्छे ।

लत्रिएको आडम्बर र घमण्डको रन्को शीर्षकका दुवै कविताका भावपक्ष समान जस्तै देखिए पनि यी दुवैको परिवेश र पात्र अलग जस्ता लाग्दछन् ।

मानिसको जीवन सदासर्वदा पीडादायक बन्दैन । खुसीका विगुलहरू बेला बेलामा बज्नु, जीवनको सुखद् भविष्यको कल्पना हुनु, मन स्वार्थी हुनु, प्रतिस्पर्धी हुनु, सहयोगी बन्नु त मानिस हुनुको यथार्थता हो । उमङ्ग, उत्साह पनि जीवनका सत्य हुन् । यसले मानव जीवनलाई सन्तुलन गर्दछ । जिन्दगीको यात्रामा सवार मानिसले विविध यात्राका गन्तव्यहरू पार लगाउन खोजेका छन् । यस यात्रामा कति घुम्ती र मोडहरू आउँछन्, जान्छन् । सफलता, असफलता देखिन्छन् । जीवन जिउने क्रममा मान्छे पिच्छे नै आ–आफ्नो बाँच्ने आधारको खोजी गरेका हुन्छन् । यसरी मानिसहरू समयसँगै दौडिरहन्छन् तर त्यो समय बितेको पत्तो उसलाई छैन तर विचार र व्यवहारबीचको भिन्नताका सिद्धान्तहरूले मानव जीवनलाई कन्फ्यूज गराउने कुराहरू र धर्म, जात, संस्कृति परिवेश, समाज, राजनीति लगायत सबै क्षेत्रमा भएका अन्तरद्वन्द्वले सिर्जित सबै पक्षलाई ‘कन्फ्युज’ शीर्षकको कवितामा समेटिएको पाइन्छ । त्यस्तै “उत्ताउलो कलम”मा रोपाइँमा रोपारहरूसँग पानी छ्याप्दै, हिलोमा खेल्दै रमाइलो गरेको किशोर अवस्थाका यादगारलाई उतारिएको छ:
“असारको पन्ध्रको रोपाइँमा
साहिँलीसँग हिलो खेल्दा
निथ्रुक्क भिजेको दुवै शरीर
चिप्लिएर एकै ठाउँमा लडेछन् ।”

काम एकातिर, कुरो अर्कातिर । समाजमा देखिएका हरेक अवस्थाहरूको चित्रण उनका ‘विडम्बना’ शीर्षकको कवितामा, मानिसले पहिले सन्तान नपाउँदा सन्तान खोज्ने र त्यही सन्तान पछि ठूलो भएपछि रुनुपर्ने, गरिबहरू छाक टार्नका लागि भौँतारिरहनुपर्ने, धनीहरू दान गर्न दानपत्र खोज्दै हिँड्ने जस्ता सामाजिक प्रवृत्तिहरूले गर्दा कोही कसैले काम गर्दैन । इमान र जमानको कदर हुन छाडेको छ । स्वार्थी र मुर्खहरू चम्किएका छन् । समाज यस्तै छ । यही नै विडम्बनापूर्ण यथार्थताको सटिक अभिव्यक्त भएको छ ‘विडम्बना’ शीर्षकमा ।
पानी र जवानी उस्तैउस्तै हो । एकै ठाउँमा रोकेर र छेकेर कहाँ अडिन्छ र ? उनका मनमा उथलपुथल र उन्मत्त उम्लिएका भावनाहरू कहीँ यसरी पोखिन पुग्छन्:
क्षितिजमा मडारिएको बादलझैं
यौनका कण कण मात्तिएका छन्
कमजोर भई आकाशले छोडिदिन्छ
ममतामय छ धर्ती थापिदिन्छ
पानीजस्तै यौवनझरी बनी बर्सिदिन्छ ।

भूगोलको गर्भमा भन्ने शीर्षकमा मनभित्रको उथलपुथलतालाई उतारेका उनले भूगोल र मानवबीचको अन्तर–सम्बन्धलाई चित्रण गरेका छन् र प्रकृति र मानिसलाई तादत्यीकृत गरेका छन् ।

पढ्दै–बढ्दै, घुम्दै–कमाउँदै, देश–विदेश चहार्दै कमाउने नाममा शरीरमा वर्कत् सकिएर सन्तानका लागि आफ्नो खुसी र रहरहरू सिद्धाएर पछि निराश हुँदै काल पर्खिएर बसेका नेपालीहरूको यथार्थता सजीव रूपमा चित्रण गरिएको छ । मान्छे विविध आवश्यकताहरूले सुखका लागि परदेशका विभिन्न शहरहरूमा चहार्दै, पैसा–पैसा भन्दै केवल पैसाकै लागि मरिमेट्छन् । उमेर ढल्किएपछि पश्चाताप गर्दै केवल निराशा ओकल्दै मृत्यु कुरिरहेको कटु सत्यलाई देखाएका छन् कफनको जोहो कवितामा:
आजकल विना आशाको प्रतीक्षामा छु
विना मायाको सम्झनामा छु
विना गल्तीको पश्चातापमा छु
विना गन्तव्यको यात्रामा छु
हजुर, आजकाल म त
आफ्नो कफनको जोहोमा पो लागेको छ ।

यस्तै जीवनका उकाली ओराली र देउडीहरूमा अनेक घटना–परिघटना खुसी इष्र्या, दुःख, सुख, प्रेम–विछोड, अतित–वर्तमान र भविष्यलाई केलाउँदै, निफन्दै छान्दै अक्षर मिलाउँदै, शब्द उराल्दै वाक्य बनाउँदै कविता सिर्जनामा रमाएका छन्, भेटिएका अक्षरहरूमा ।  मानिस र प्रकृतिको चित्रण नै कविता हो भन्ने कतिपय कविहरूको मत रहेको छ । विश्वका महान् कविदेखि नेपाली साहित्यका महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ, युगकवि सिद्धिचरण र पछिका थुप्रै कविहरूमा पनि प्रकृतिमा खेल्दै, नाच्दै, गाउँदै, आनन्दको अनुभूति गर्दै काव्य सिर्जना गर्ने परम्परा छँदै छ । यसै परम्परालाई अनुसरण गर्दै राम लामा अविनाशी पनि सिमसिमे पानीमा रुझ्दै, घरमा भएका कुलेसामा रमाउँदै कुलो पारिको निउरो, खेतमा लहराएका धान, बारीमा मकैको हरियाली, पाखामा ऐँसेलु चुत्रो, वन–जङ्गल, पाखा पर्वत, गाउँबेँसी, नदीनाला सम्झन्छन् । शरीरले विदेशी भूमिको भोग गरे पनि मनमा भने नेपालमै घुम्छन्, नेपाली माटो र हावापानी र परिवेशमै रमाउँछन् र कविता लेख्छन् । प्रकृतिको काखमा रमेर लेखिएका उनका कविताहरूले नेपालको प्राकृतिक छटाको सुन्दर चित्रण गरेको छ । प्रकृतिको काखमा यही परिवेशमा लेखिएको प्रकृति चित्रणको सुन्दर कविता हो:
रङ्गीविरङ्गी फुरफुर चरा
चिरविर गर्दै खेल्दै बिचरा
डाली–डाली र पात–पातमा
सुन्दर छटा हाम्रो नेपालमा ।

यस्तै बिहानी पख पनि प्राकृतिक दृश्यावलोकनलाई गीति भाकामा टिपिएको अर्को कविता हो:
कलकल गर्दा मस्र्याङ्दी खोला सुख्खा छ बगर
छ्याङछ्याङ गर्दै खहरे खोला सलल नहर ।
सफा भो वस्ती उर्बर भो जमिन सुन्दर भो सहर
रमाउन पाउँदा यो सुन्दर ठाउँमा पूरा भो रहर ।

२०७२ साल वैशाख १२ गते भएको प्रलयकारी अकल्पनीय कहालिलाग्दो विनाशकारी महाभूकम्प र त्यसपछि लगातारका पराकम्पनबाट नेपाल र नेपालीले भोग्नुपरेको दुर्दशामय पीडाप्रति कवि चिन्तित छन्, दुःखीत छन्, पीडित छन् र संवेदनशील छन् । त्यही अनुभूतिलाई महाभूकम्प कविताका माध्यमले प्रस्तुत गरेका छन्:
अचानक पृथ्वीमा कम्पन
चिर्बिर चिर्बिर चराहरू
कुकुरहरू भुक्र्दै
मान्छेहरूको चिच्याहट कोलाहल, भागाभाग
घर्याक घुक्रुक दलिन भुइँमा छानो भुइँमा
विनाशकारी महा भूकम्प ।

‘प्रकृति र ऊ’ कवितामा मान्छे मान्छेबीच भएको विभेद, छुवाछुत प्रथा, तल्लो माथिल्लो जातका विषयहरू उतारेका छन् । उनी यस्ता प्रथाहरूका विरोधी छन् । भगवान् त तल्लो माथिल्लो जुन जात, धर्मको भए पनि एउटै हो । मान्छेको रगत त आखिर रातै हुन्छ । यसप्रति कवि चिन्तित हुन्छन् र भक्कानिन पुग्छन्:
जन्मस्थल पृथ्वी नै हो
बंश तिनै ऋषिमुनि हुन्
रगत पनि मानवकै हो
तर, यो विभेद किन ?

दलित समुदायले झेल्दै गरेका समस्या र भोग्दै आएका पीडा उनी मन्दिरमा र दर्शन गरेर प्रफुल्ल मुद्रामा फर्किरहेकी युवतीलाई पुजारीले गरेको अभद्र र अमानवीय व्यवहारलाई गम्भीरताका साथ लिँदै यस प्रथाका विरुद्धमा आवाज बुलन्द गर्दछन् । जिन्दगीमा सुख खोज्दै धन आर्जनका लागि यो देश–त्यो देश गर्दै परदेसिँदा प्रियतमाको यादगारले पिरोलिएको मन शान्त पार्नका लागि नशाको सहारासम्म लिएको कुरा आज मात्तिन मन लागेको छ कवितामा आएको छ, नशा सेवन गरेपछि मनमा यौन अतृप्ति र असन्तुष्टिले आश्रय पाएको र त्यसलाई मन मर्नेगरी तृप्त हुनको लागि इच्छा जागेकोसम्मका कुरा उनले गरेका छन्:
आज अनायास पिउन मन लागेको छ
यही नशाको सुरमा
उनको त्यो सुन्दर रूपको मात्र होइन
लामो समयदेखि आकर्षित
ती अङ्ग–प्रत्याङ्गको बयान गर्न मन लागेको छ
अनि त्यही जोशमा उनको सुन्दर
जवानीसँग धित मर्ने गरी
मात्तिन मन लागेको छ ।

बगैँचामा फूलहरू रोपेर गोडमेल गर्दै फुलाएका सुन्दर फूलहरू उही र उस्तै हुन्छन् तर पनि ती फूलका विविध प्रयोग हुन्छन् । ती फूलहरू मानिसका गलामा बस्छन्, मन्दिरमा चढिन्छन्, चिहानमा सजिन्छन् तर माली जहाँको त्यहीँ हुन्छ भनेर श्रमको उचित मूल्य नभएका प्रति कविको असहमति रहेको छ र श्रमिकप्रति सहानुभूति रहेको छ, माली कवितामा:
ग्राहकहरूलाई सुन्दर फूलको महत्व
मालिकलाई सुन्दर पैसाको महत्व
महत्वमा पनि विविधता
माली हेरिरहन्छ, सुनिरहन्छ ।

सडकपेटीको होमलेश म कवितामा सामाजिक असमानता र विभेद देखाइएको छ । सडकमा हिँड्नेहरू, गुड्नेहरू र बस्नेहरूको मनोदशा चित्रण गरिएको छ । मान्छेको जीवन र स्वदेशी प्रकृति, भू–धरातल, हावापानी संस्कृति, कला कौशलसँग तादत्म्य राख्दछ । तर विडम्बना त आवश्यकता पूर्तिका लागि देश–विदेश आगमन र प्रस्थान गर्नैपर्ने बाध्यताले निम्त्याउँदछ । जीवनक्रममा भेटिए टाढिए, छोडिए, सहयोग गरे, असहयोग गरे, पथ प्रदर्शन गरे, प्रगतिका बाटाहरू छेकेको र सबै अतितहरू सम्झँदै मृत्युको काखमा गएको कुरा चित्रण गरिएको छ:
थरीथरीका पैदल यात्रुहरू
माया गर्ने हेप्ने गिज्याउने
मेरो स्वादिलो काल पर्खाइलाई
रात बाक्लिँदै जाँदा
मन उत्साहित हुँदै जान्छ ।

उनी सडकपेटीको रात कटाएको पल आफ्नी अस्ताएकी अर्धाङ्गिनीको जन्मदिनको स्मरण गर्न पुग्छन्:
यो औँशीको रात
स्वर्गवासी मेरी लक्ष्मी जन्मेको रात ।

यसरी उनका कविता हेर्दा शीर्षकहरूको चयन उपयुक्त तरिकाबाट भएको देखिन्छ । कृतिको नाम पिल्सिएको परदेशी मन सार्थक छ । यहाँ बिदेसिएकोमा दुःख, पीडा, छटपटी मात्र छ । भौतिक सम्पन्नताले मात्र शान्ति हुँदैन भन्ने कुरा कविताले दर्शाएका छन् । विम्ब र प्रतीकको सार्थक प्रयोग छ । शैली अत्यन्त सरल छ । कृतिमता लेस मात्र पनि कृत्रिमता भेटिँदैन । साधारण बोलचालको भाषामा पनि कविता लेख्न सकिन्छ भन्ने राम्रो उदाहरण प्रस्तुत गरेका छन् उनले । कविता बालकको निष्कपट तोतेबोलीजस्तो मीठो देखिन्छ । कवितामा एउटै स्वर, एउटै भाव र एउटै उदेश्यका थुप्रै शीर्षकहरू छन् । अझ यसभन्दा बृहत्तर विषयवस्तुलाई कविता–सङ्ग्रहमा समेटिएका भए कविता सङ्ग्रह अझ सुन्दर बन्न सक्ने देखिन्छ । प्रथम कृतिमै यस प्रकारका कविता आउनु उनी भित्रको कविको सुन्दर सम्भावनाको सङ्केत हो ।

अन्त्यमा,
यस कविता सङ्ग्रहमा मुख्यतः मनभित्र हुने असन्तोषका छालहरू र परदेसिँदाको पीडाबोध, बाल्यकालसुलभ रमाइलो, साथीसँगीसँग धुलिमाटी खेलेका सपना र यादगारहरू, नातागोता र आफन्तसँग बिताएका स्वर्गीय आनन्दमयी घटनाक्रम र स्कूल अनि कलेजका स्वर्णिम दिनहरूको ताजा स्मरण कहिल्यै नमेटिने गरी मनभित्र गुम्सिनुजस्ता पीडाजन्य मानसिक अवस्थाको चित्रण र त्यसको भावबोध पनि छ कवि राम लामा अविनाशीको मनभित्र । यसै सङ्ग्रहमा कहिले उनी सगरमाथाजस्तो अग्लिएको कल्पना गर्दछन् भने कहिले जात्राका रमाइला पलहरूको याद गर्दछन् । कहिले पहाडका अप्ठ्यारा उकाली–ओराली हिँडेका बाटोको कल्पना गर्दासम्म पनि मन बिझाउँछ भने कहिले नदीका जँघार तर्दाका रमाइला सम्झनाहरूले आनन्द हुन पुग्छन् ।

“बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै” भनेझैं बिदेसिएकाहरूमा पनि वास्तविक शान्ति छैन । जहाँ–जहाँ गए पनि जहाँ–जहाँ रहे पनि जति सुकै कमाए पनि वा भनौँ भौतिकतामा जतिसुकै रमे पनि भौतिकताले मात्र आनन्द प्राप्त हुँदैन । मान्छे आफन्तको सामीप्यतामा बस्न चाहन्छ । आफ्नै घर आँगनमा रम्न चाहन्छ । बिदेसिनु उसको बाध्यता हो । यही बाध्यताका कारण बिदेसिएकाहरू भित्रभित्रै चिन्तित छन्, पीडित छन् । आँखाले रमिता हेर्छ । मनले वेदना बोक्छ । त्यही वेदना सबैको मनमा हुन्छ । कविले त्यसलाई आफ्ना सिर्जनमा उतार्छन् । रहरले वा बाध्यताले विदेश गएका लाखौँ युवाहरूको प्रतिनिधित्व गर्ने विषयवस्तुलाई कवि राम लामाले समेटेर वास्तविक अर्थमा आफैले जे भोगेको हो त्यही भोगाइलाई जस्ताको तस्तै सजीव चित्र कोरेका छन् आफ्ना कवितामा ।

आखिरी जे जसरी विदेशीन पुगे पनि उमेर घर्किंदै गएपछि आउने ठाउँ स्वदेश नै हो । यदि विभिन्न बाध्यताले भौतिक शरीर स्वदेश नफर्के पनि मानवभित्रको तत्व त स्वदेश फर्केरै छाड्छ । आखिर “यो मन त मेरो नेपाली हो” भन्ने अनुभूति जो जसरी र जहाँबाट विदेश गए पनि सदा नेपाल नै सम्झिरहन्छ र सपनामा पनि नेपाल देखिरहन्छ । यही गम्भीर यथार्थले भरिपूर्ण भाव उनका प्रायः सबैजसो कवितामा पाइन्छ ।

कृतिका सम्बन्धमा वरिष्ठ समालोचक, प्रध्यापक डा. खगेन्दपसाद्र लुइटेलको भनाइ रहेको छ: “यस सङ्ग्रहमा सङ्कलित अधिकांश कविताका शीर्षक सार्थक र सामन्जस्यमूलक रहेका छन् । यस सङ्ग्रहको मूल शीर्षक पिल्सिएको मन यस सङ्ग्रहमा सङ्कलित अधिकांश कविताको मूल मर्मलाई समेट्ने खालको भएकाले यो शीर्षक पनि सार्थक र सामन्जस्यपूर्ण रहेको छ ।” विशेषतः पूरै कवितासङ्ग्रहको सार यही भनाइमा आधारित रहेको छ । हो उनका कविता यस्तै नै छन् ।