अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा सम्पन्न

सूर्य चन्द २०७६ मंसिर १८ गते ११:५८ मा प्रकाशित

अमेरिका, चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा भव्यताका सम्पन्न भएको छ ।

नेपाली चलचित्र जगतमा ख्याति आर्जन गरेका सुप्रसिद्ध कलाकार र सर्जकहरूको सम्मानमा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढी कलाकार र १००० को हाराहारीमा दर्शकहरूको सहभागीताले हल भरिएको थियो । आफ्नै नाम, शान र पहिचान बोकेर नेपाली सिनेमा गाउँ देखी विश्वसम्म भन्ने नाराका साथ गरिएको कार्यक्रममा चलचित्रकर्मिहरु, गायक, गायिका तथा सङ्गीतकारको योगदानलाई विशिष्ट व्यक्तित्वहरू माझमा सम्मान गरिएको थियो ।

कार्यक्रममा चलचित्र शिरोमनी लाइफ टाइम अवार्डको सम्मानबाट वरिष्ठ अभिनेता निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरिएको थियो । त्यसै गरी लोक नायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मान भुवन केसी, दशकका माहानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थिए । सङ्गीत महारथी सम्मानबाट शम्भुजित बास्कोटा सम्मानित भएका थिए ।

श्री गेहेन्द्र धिमाल स्मृति सम्मानबाट निर्देशक उज्ज्वल घिमिरे सम्मानित भएका थिए भने श्री राम केशर बोगटी स्मृति सम्मानबाट नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष तथा नायक रबिन्द्र खड्का भएका थिए । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपा श्री निरौला सम्मानित भएकी थिइन् भने फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्रले अवार्ड जित्न सफल भएको थियो ।

स्टार अफ दि इएर मेल आवर्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भएका छन् त्यसै गरी स्टार अफ दि इएर फिमेल अवार्ड सम्मानबाट नायिका नम्रता श्रेष्ठ पर्न सफल भइन । सपोर्टिङ एक्टर अफ दि यिएर आवर्ड विक्रान्त बस्नेत बस्नेतले पाए । गायिका अन्जु पन्तलाई वर्षकै उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको थियो ।

ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्डबाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरेले अवार्ड जित्न सफल भए । जुरी अवार्डबाट नायिका वर्षा राउत र दीपिका प्रसाईँ सम्मानित भए भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्ड प्राप्त गर्न सफल भए । समाजका विभिन्न विधा र क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मानार्थ दिइने अभियान श्री अवार्ड कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामे विजेता बन्न सफल भएका थिए । स्मरण रहोस् नेपाली चलचित्र इतिहासमा पहिलो पटक नायकहरू शिव श्रेष्ठ, भुवन के सी र राजेश हमाल सम्मान तथा आवर्ड समारोहमा एकै स्टेजमा देखिदा दर्शकहरू निक्कै नै उत्साहित भएका थिए ।

कार्यक्रममा नायक सुशील क्षेत्री, नायिकाहरू श्वेता खड्का, पूजा चन्द, वर्षा राउत, केकी अधिकारी, दीपिका प्रसाईँ र स्थानीय कलाकारहरूको नृत्य तथा हास्य व्यङ्ग्यकार शैलेन्द्र सिम्खडाको प्रस्तुतिले कार्यक्रम झनै मनोरञ्जनले भरिपूर्ण भएको थियो।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पार्दै अवार्ड कार्यक्रम भव्यताको सम्पन्न भएकोमा सम्पूर्ण सहयोगी सङ्घ संस्था तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन दिएका थिए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले निर्देशक तथा निर्माता निर शाहको नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनु भएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी वर्षहरूमा निरन्तर भव्य अवार्ड कार्यक्रम गर्दै लैजाने बताए ।

अवार्ड कार्यक्रमका नेपाल संयोजक, नेपाल फिल्म सोसाइटीका सदस्य तथा नायक निर्माता मदु कुमार श्रेष्ठले चौथो ग्लोबल नेपाली फिल्म अवार्ड -२०१९ सफलता पूर्वक सम्पन्न भएकोमा सम्पूर्ण सह-आयोजक, कलाकार तथा अवार्डको गरिमा बढाउन आएका सम्पूर्ण दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।