अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

सरकार श्रमजीवी पत्रकारलाई पनि राहत देऊ

सूर्य चन्द २०७६ चैत २७ गते २१:५५ मा प्रकाशित

संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस(को भिड-१९) ले गर्दा मानव जीवन अस्त व्यस्त बनेको छ । अर्थतन्त्रलाई धराशायी बनाएको छ । विश्वभर दैनिक हजारौँ मानिसहरूको मृत्यु भइरहेको छ । मानिसहरू घर भित्र लुकेर बस्न बाध्य भएका छन् । यस्तो विषम परिस्थितिमा हाम्रो जस्तो गरिब मुलुकले झनै समस्या भोग्नु परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न मुलुक लकडाउनको अवस्थामा छ । दैनिक ज्यालादारी गर्ने मजदुर, सामान्य पेसा गर्ने पेशाकर्मी देखि श्रमजीवी पत्रकार समेतले अहिले समस्या झेल्दै आउनु परेको छ । सरकारले यस लकडाउनको अवस्थामा राहत प्याकेज समेत घोषणा गरेको छ तर उक्त राहत पीडित समक्ष पुगेको छ त ? यसको अनुगमन कसरी भइरहेको छ भन्ने समेत प्रश्न खडा भएको छ ।

कोरोना भाइरस (को भिड-१९) विरुद्धको लडाइमा अहोरात्र खटिने सुरक्षाकर्मि, जनप्रतिनिधि लगायत सरकारका संयन्त्रहरुले त, सरकारी तलब भत्ता पाएका होलान् तर उनीहरू जस्तै अहोरात्र खटिएर सम्पूर्ण जनता सामु सूचना पुर्‍याउने श्रमजीवी पत्रकारहरूको लागि सोच्नु पर्ने सरकारको दायित्व हो कि होइन ? लामो समयको लकडाउनका कारण श्रमजीवी सञ्‍चारकर्मीको जीवनयापनमा समस्या परेको हुन सक्छ तसर्थ त्यस्ता पत्रकारहरूलाई पहिचान गरी राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान जानु पर्ने देखिन्छ । त्यस्तै सरकारले वितरण गर्ने राहतलाई व्यवस्थित बनाउँदै जनप्रतिनिधिले आफ्नालाई होइन समस्यामा परेका पीडितलाई राहत वितरण गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।

जनतालाई दिनरात नभनी सत्य तथ्य समाचार सम्प्रेषण गरी सुसूचित बनाउने तथा सेलिब्रेटी, राजनीति कर्मी, व्यवसायी, समाजसेवी लगायत अन्यलाई रातारात चर्चित बनाउने श्रमजीवी पत्रकारहरूको बारेमा यस सङ्कटको घडीमा सम्बन्धित निकाय किन मौन छ ? पीडित श्रमजीवी पत्रकारहरूलाई राहत वितरण गर्ने राज्यको दायित्व होइन र ? सबै सञ्चार कर्मी हुने खाने छैनन्, सबैले पैसा कमाएर ब्यालेन्स गरेका पनि छैनन् त्यस कारण सरोकार पक्षले यस सङ्कटको घडीमा यथाशीघ्र पीडित पत्रकारको बारेमा समेत सोच्नु पर्ने देखिन्छ । फिल्म क्षेत्रका केही कलाकारहरूले छायाङ्कनको बेला खटिने चलचित्र प्राबिधिकहरुलाई राहत वितरण गरेको छ तर त्यस्तै उनीहरूलाई समाचार, मिडिया मार्फत चर्चाको शिखरमा पुर्‍याउने पत्रकारहरूलाई किन यस्तो बेला राहत वितरण गरेन र मौन रह्यो ।

समाचार चाहिदा लेखिदिनु भनेर बारम्बार कल, म्यासेज गर्नेहरू अहिले किन तिनै पीडित पत्रकारहरूलाई सम्झिदैनन ? त्यसैले पीडितहरूको पहिचान गरेर उनीहरूलाई न्यायोचित व्यवहार गर्न सम्बन्धित पक्षको चाँडो भन्दा चाँडो ध्यान पुग्न जरुरी देखिन्छ ।

दैनिक जीवीकोपार्जन प्रभावित भएका अप्ठ्यारोमा परेका सञ्‍चारकर्मीलाई राहतका उपलब्ध गराउनु पर्ने सरकार लगायत नागरिक समाजको समेत भूमिका देखिन्छ । साथै सञ्चार कर्मी अग्रपङ्क्तिमा खटिएर काम गर्नुपर्ने भएको हुँदा सुरक्षित विधि अपनाएर मात्रै काम गर्न आग्रह समेत आग्रह गर्दछु ।

(सञ्चार कर्मी सूर्य चन्द विगत डेढ दशक देखि पत्रकारिता तथा कलाकारितामा आबद्ध छन्)

प्रतिक्रिया