अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

राष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व

सूर्य चन्द २०७७ असार २३ गते १७:४२ मा प्रकाशित

राष्ट्र र राष्ट्रियताको सवालमा हामी नेपालीहरूले कहिले कसैसँग सम्झौता गरेको छैनौँ र कदापि गर्ने पनि छैनौँ नेपाली जनताहरू आफ्नो राष्ट्र, राष्ट्रियता र आफ्नो सार्वभौम अधिकारको निर्णय गर्न सक्षम छौ भनेर विश्व सामु प्रस्तुत भइसकेको पनि छौँ।

अहिले सम्मको इतिहासमा नेपाली जनताहरू आफ्नो राष्ट्रियताको सवालमा कहीँ कतै झुकेको पनि छैनौँ विश्व इतिहासमा हामी नेपालीहरू कहिले पनि कसैको उपनिवेश भएर बस्नु पनि परेन र बस्दैनौ पनि । नेपाल हाम्रो आमा हुन् र आमालाई हामी दुःख दिन पनि सक्दैनौ र अरूले दिएको पनि सहन सक्दैनौ ।

जब हाम्रो स्वाधीनता माथि हाम्रो राष्ट्रियता माथि कसैले औँला उठाउँछ भने हामी सबै नेपाली एकजुट भएर सामना गर्न तयार हुनु पर्छ । भारतको हेपाहा प्रवृत्ति, सीमा अतिक्रमण तथा राजनीतिक हस्तक्षेपले हामी नेपाली जनता वाक्क दिक्क भइसकेको छौँ। सयौँ वर्ष पछिको मेहनत अनि पर्खाइमा नेपाली जनताले लोकतन्त्र पाएको सर्वविदितै छ।

जुन हाम्रो राष्ट्र हामी नेपाली जनताको खुसीको विषय हो र यसलाई हामी नेपालीले संस्थागत गर्न पनि जरुरत छ। बेला बेलामा छिमेकी मुलुक भारतले आफ्नो स्वार्थको लागि नेपाललाई आफ्नो अधीनतामा राख्नको लागि अघोषित नाकाबन्दी गरी नेपाली जनतालाई दुःख दिने काम गरेको छ भने हाम्रो हरेक गतिविधिमा प्रत्यक्ष हस्तक्षेप गरी नेपाली जनताहरूको स्वतन्त्र जिउने अधिकार माथि धावा बोल्दै आएको छ। नेपाल प्रति भारतको मोदी सरकारले जुन व्यवहार प्रदर्शन गरिरहेको छ यो अन्तर्राष्ट्रिय कानुन विपरीत छ र अमानिबिय पनि छ जसले गर्दा भारतको मोदी सरकारले नेपालीहरूबाट विश्वास पनि गुमाएको छ ।

स्मरण रहोस् अहिले सम्म पनि भारतमा हजारौँको सङ्ख्यामा गोर्खाली सैनिकहरू छन् भोलि त्यही सैनिकहरू नेपाली राष्ट्रियताको सवालमा एकजुट भएर भारत बिरुद्द लड्न तयार हुन सक्ने छन् र भारतले यो पनि बुझ्न जरुरत छ कि छिमेकी मुलुकसँग आफ्नो रवाफ देखाएर भारतलाई पनि कुनै किसिमको फाइदा हुने छैन बरु उल्टै घाटा हुनेछ ।

हुन त हाम्रा सीमित नालायक राजनीतिक नेताहरूको भारत प्रतिको मोह सीमित स्वार्थ र सत्ता लिप्त भएर हर कुरामा भारतमुखी भएर उनीहरूको दर्शन गर्न अनेक बहानामा दिल्ली दरबार पुग्नु नै अहिले आएर सबै भन्दा ठुलो अन्तर्घात भएको छ ।

मुलुकको लागि नेपाल आमा लागि यदि समयमानै दूरदर्शी सोच बनाएर नेपाल सरकार तथा राजनीतिक नेताहरूले आफ्नो मुलुक प्रति इमानदार भएर मुलुकको हितमा काम गरी हर कुरामा भारतमुखी नभएर वैकल्पिक सोच बनाइ दिएको भए अहिले आएर नेपाली जनताले दुःख पिडा भोग्नु पर्ने स्थिति आउने थिएन ।

हाम्रो राष्ट्र सङ्कटमा परेको बेला को हिमाली, को पहाडी, को मधेसी, को बाहुन, को क्षेत्री, को जनजाति, को दलित, को मधेसी सबै मिलेर एकजुट भई राष्ट्रियताको सवालमा कसैसँग नझुक्ने र आफ्नो स्वाधीनता प्रति नडगमगाउने प्रतिबद्धता जाहेर गरी एक साथ हातेमालो गरी समस्याको समाधान तर्फ उन्मुख हुन जरुरत छ ।

चाँडो भन्दा चाँडो वैकल्पिक मार्ग खोजी समस्यालाई समाधान गर्न जरुरत छ र यसको लागि सरकारले तुरुन्त कूटनीतिक पहल गरी मुलुकको हितको लागि निर्णय गर्न जरुरत छ भने सीमा विवादलाई टुङ्ग्याउनु पर्छ र भविष्यमा आइ पर्ने यस्तै समस्याहरूलाई मध्यनजर गरी दूरदर्शी निर्णय गर्न पनि आजको आवश्यकता भएको छ।

संविधान प्रति असमझदारी जनाई आन्दोलनरत पक्षले पनि यो समयमा के बुझ्न जरुरत छ भने नेपाल भनेको हाम्रो मातृभूमि हो र मातृभूमि सङ्कटमा परेको बेला मुलुकलाई निकासा दिनुपर्छ । दुःख पाउँदा गरिब जनताले पाउने हुन् भनेर त्यही भएर सबै पक्षले मुलुकलाई आर्थिक, बौद्धिक उन्नतिमा विकसित मुलुक सरह पुर्‍याउन यो समयमा सहयोग गर्नु पर्छ ।

कोभिड-१९ तथा लकडाउनले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बनेको अवस्था छ। जनताहरू भोक भोकै मर्ने स्थितिमा छन्। यस विषम परिस्थितिमा राजनीतिक दल भनौँ अझ सरकार चलाएर बसेको दलले राजनीतिक खिचलो निकालेर कुर्सीको खेलमा लिप्त हुनु हामी नेपालीको लागि दुर्भाग्य भएको छ ।

यही भएर सम्पूर्ण नेपाली जनता, बुद्दिजिबि पङ्क्ति, नागरिक समाजका अगुवाइहरू, राजनीतिक नेता, नेतृत्व वर्ग र नेपाल सरकार एक भएर राष्ट्र र राष्ट्रियताको सवालमा खुट्टा नकमाई समस्या सँग जुध्न तथा समस्यालाई चाँडो समाधान गर्न तयार हुनु पर्छ ।

एकाध स्वार्थी, लालची नेताहरूले गरेको अव्यवहारिक निर्णय, मुलुक प्रतिको अजिम्मेवारीपनले गर्दा नेपाली जनताको शत्रुलाई अझ बढावा भई रहेको अवस्थामा राष्ट्र भक्त नेपालीहरू एक भई सामना गर्न तयार हुनु पर्छ त्यस्ता कुलनघार राष्ट्र द्रोही नेताहरूलाई इतिहासले नेपाली जनताले एक दिन अवश्य सजाय दिने नै छन् ।

अहिलेको परिस्थितिबाट हामी सबैले नयाँ पाठ सिक्दै आफूमा आत्मा निर्भर हुनु पर्छ अनि राष्ट्र र राष्ट्रियताको पक्षमा अडिक भई मुलुक र हाम्रो सार्वभौम स्वाधीनता अधिकारको पक्षमा एकै आवाज गरी व्यक्तिगत स्वार्थ भन्दा माथि उठी राष्ट्र र नेपाली जनतालाई एक ढिक्का बनाइ अगाडी बढ्न जरुरत छ ।

सरकार र नेतृत्व पक्षले पनि नेपाली जनता र मुलुकको हितमा निर्णय गर्न आजको आवश्यकता रहेको छ र यो समयमा सबै पक्षलाई मिलाएर लानु पर्ने पनि आवश्यकता रहेको छ। आशा गरौँ नेपाल आमाले चाडै नै परिवर्तनका नयाँ किरणहरू देख्न पाउनेछिन्, मुलुकले नयाँ दिशा लिनेछ र अहिलेको परिस्थितिबाट निकास पाउनेछ ।

प्रतिक्रिया